site stats
बाह्रखरी :: Baahrakhari
देश
स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरूबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो । 

भेटमा मन्त्री राणाले युरोपियन युनियनका समेत विदेश तथा सहयोगमन्त्रीका रूपमा रहेका म्यानुअलसँग युरोपियन युनियनको एक महत्त्वपूर्ण सदस्यका रूपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गरेकी थिइन् ।

Argakhachi Cement Island Ad

उनले नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई पर्न सक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गरिन् ।

मन्त्री राणाले नेपालले संयुक्त राष्ट्रसंघको सन् २०२७ देखि २०२९ सम्मका लागि मानव अधिकार परिषद्को सदस्यमा उमेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उमेदवारी दिने भएकाले सहयोगका लागि स्पेन सरकारलाई आग्रह पनि गरिन् ।

त्यस अवसरमा मन्त्री राणाले नेपालमा राजदूतावास स्थापना गर्न स्पेनलाई आग्रह गरिन् ।

आजै मन्त्री राणाले स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । त्यस क्रममा उनले नेपाल स्लोभाकियाबीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसंघमा दिएका उमेदवारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुबारे संवाद गरेकी थिइन् ।

त्यसैगरी आजै मन्त्री राणासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकारसम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्