भौतिक विकासलाई सहजरूपमा स्वागत गर्न पनि जनसमुदाय हच्किने र यदाकदा बिच्किने गरेको उदाहरण थुप्रै देखिएका छन् । विकास कार्यमा प्रत्यक्ष सरोकार भएकाहरूबीच संवाद र समझदारी नहुँदा स्थिति अप्रिय पनि हुनसक्छ । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माण परयोजनाको विवाद यस्तै असमझदारीको उदाहरण बन्न पुगेको देखिन्छ ।
ताप्लेजुङ जिल्लामा पर्ने पाथीभरासम्म पुग्ने केबलकार निर्माण गर्ने परियोजना अगाडि बढेपछि पवित्र धार्मिक स्थल ‘मुक्कुम्लुङ’को गरिमा जोगाउन भन्दै स्थानीय जनताले ‘नो केबलकार’ आन्दोलन सुरु गरेका थिए । बिस्तारै, आन्दोलनबाट अराजक हुँदैजाँदा प्रहरीले गोली चलाउनु परेको थियो ।
यही क्रममा शनिवार राति केबलकार निर्माण विरोधीसमूह र प्रहरीबीच झडप भएपछि ताप्लेजुङ जिल्ला प्रासनले फुङलिङ क्षेत्रमा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले जुलुस निस्कन र त्यसपछि शान्ति भङ्ग हुनसक्ने परिस्थिति भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाएको छ ।
केबलकार निर्माण भएपछि पाथीभरा ९मुक्कुम्लुङ’को पहिचान मेटिने भन्दै पहिचानका पक्षधरहरू विरोधमा उत्रेको बताइएको छ । अर्कातिर, स्थानीय नगरपालिकाका प्रमुखलगायत भने केबलकार निर्माणबाट पहिचान नमेटिने तर स्थानीय विकास र जनजीविकामा सकारात्मक योगदान हुने भन्दै परियोजनाका पक्षमा देखिएका छन् ।
आफ्नो समुदायको गौरव जोडिएको पवित्र स्थलको पहिचान र स्वच्छतामा आँच आउन नदिने स्थानीयहरूको चाहनालाई अस्वाभाविक वा अनुचित भन्नु अन्याय हुन्छ । अर्कातिर, केबलकार निर्माण गरिएका धार्मिक स्थलको महिमा बढेको र स्थानीय क्षेत्रको आर्थिक विकासमा योगदान पुग्नेगरेको यथार्थ पनि बिर्सनु हुँदैन ।
पहिचानका पक्षधरहरू पनि पाथीभरा मुक्कुम्लुङ क्षेत्रको भौतिक र आर्थिक विकास नहोस् भन्ने त पक्कै चाहदैनन् होला । यस्तै, केबलकार निर्माणमा अर्बौं लगानी गर्ने निजी क्षेत्रका लागि त झन् यस क्षेत्रको पवित्रता र विशिष्ट पहिचानमा आँच पुग्नु आत्मघाती हुने देखिन्छ । यसैले समुदाय र स्थानको विशिष्ट पहिचान जोगाउन परियोजना निर्माताहरूले पनि प्राथमिकता दिनुपर्छ ।
अर्थात्, गहिरिएर विचार गर्ने हो भने केबलकार निर्माण गर्न र मुक्कुम्लुङको पहिचान तथा पवित्रता जोगाउन चाहनेहरू पक्षविपक्ष भन्दा एकअर्काका परिपूरक हुन् । आन्दोलनरत समुदाय र परियोजना प्रबर्धकहरूका बीचमा सार्थक संवाद भएमा यो विवाद सहजै समाधान हुसक्ने देखिन्छ । यस क्रमममा विगतमा भएको वार्ता किन परिणामविहीन भयो भन्ने पनि मनन गरिनुपर्छ ।
केबलकार निर्माण गरिएका नेपालकै अरू धार्मिक क्षेत्रहरूको महिमा र ख्याति निकै बढेर गएको छ भने धार्मिक वा सांस्कृतिक पहिचान कम भएको छैन । यस्तै, केबलकार निर्माणपछि त्यस भेगका जनजीवनमा सकारात्मक परिवर्तन र भौतिक विकास पनि भएको देखिन्छ । अर्थात्, केबलकार निर्माणबाट स्थानीय समुदायलाई लाभ नै भएको छ ।
केबलकारले धार्मिक स्थलहरूको आकर्षण बढाउने पनि गरेको छ । हिँडेर जानु परेमा कहिल्यै नजानेहरूसमेत केबलकार बनेपछि धार्मिक स्थानहरूमा पुग्ने गरेका छन् । केबलकार धार्मिक आस्थाका केन्द्र र सांस्कृतिक धरोहरप्रति नयाँ पुस्तालाई आकर्षित गर्ने उपाय पनि बनेको देखिएको छ ।
हुनत, जनतामा असन्तोष बढाएर राजनीतिक वा अन्य लाभ लिने तत्त्व पनि आन्दोलनमा घुसेको हुनसक्ला । तर, मूलतः सही सूचना र जानकारी नहुँदा अहिलेको ‘नो केबलकार’ आन्दोलन चर्केको हुनुपर्छ । त्यसैले परियोजना निर्माता र सरकार पक्षले सही सूचना उपलब्ध गराउन प्राथमिकता दिनुपर्छ ।
सधैँ कर्फ्यु लगाएर आन्दलन वा असन्तोष साम्य पार्न सकिँदैन । यस्तै, सधैँ सरकारको बलमा परियोजना अगाडि बढाउन सम्भव पनि हुँदैन । यसैले सरकारले तत्काल दुवै पक्षलाई वार्तामा बसेर निकास निकाल्न मध्यस्थता गरोस् ।आवश्यक भए वार्ताका लागि उच्चस्तरको समिति बनाइयोस् ।