site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
जेन–जी : परम्परा र प्रविधिको घानमा 

काठमाडौं । अप्ठ्यारोमा फलेको फर्सीभन्दा खासै फरक नपर्ला, ‘जेन–जी’ पुस्तालाई । जेन–जी – जसमा सन् १९९७ देखि २०१२ सम्म जन्मेका व्यक्तिहरू पर्छन् । उनीहरू परम्परागत सोच र आधुनिक प्रविधिको दोसाँधमा हुर्केका हुन् ।

माथिबाट ‘जेन अल्फा’ कराउँदै छन्, ‘बोल्न डराउँछस् ?’ ‘यति पनि गर्न सक्दैनस् ?’ तलबाट ‘मिलेनियल्स’को जराले दबाब दिइरहेको छ, ‘एड्जस्ट गर् । हामीले पनि त सहेरै आएका हौँ ।’

बीचमा परेको जेन–जी पुस्ता न पूरै रुख चढ्न सक्छ न त माटोमै झर्न । अलमलमा फर्सीजस्तै झुन्डिएको छ । न त जेन–जी पुरानो पुस्ताको अनुशासनमा अडिएका छन् न त नयाँ पुस्ताको स्वतन्त्रता सहजै अपनाउन सकिरहेका छन् ।

Dabur Nepal
NIC Asia

यो पुस्ता परिवर्तन चाहन्छ । पुरानो सोचले पनि यो पुस्तालाई पछ्याउन छाडेको छैन । पुराना र नयाँ विचारको बीचमा अल्झिरहेको छ, जेन–जी पुस्ता । जेन–जी आधुनिक प्रविधि बुझ्छन् । तर, समाजमा त्यसलाई प्रयोग गर्दा आलोचनाको सिकार बन्न पुग्छन् ।

उदाहरणका लागि, फ्री–लान्सिङ, डिजिटल मार्केटिङ, गेमिङ, इन्फ्लुएन्सरजस्ता नयाँ करियर अपनाउन खोज्छन्, जेन–जी । तर, समाजले उही डाक्टर, इन्जिनियर, सरकारी जागिरे बन्नुपर्ने दबाब दिन्छ ।

यो पुस्ता सबैभन्दा सामाजिक छ, सशक्त छ । अनि, चिन्तित पनि । उनीहरू सामाजिक सञ्जालमा सक्रिय छन् । तर, त्यही प्लेटफर्मले उनीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको छ । समाजको अपेक्षा, आर्थिक दबाबले उनीहरूमा चिन्ता बढाएको छ ।

नेपाली समाजमा अझै पनि विवाहलाई जीवनको अनिवार्य पाटो मानिन्छ । “अब बिहे गर्ने उमेर भइसक्यो,’’ २६ वर्षीया रोजिना शर्मा भन्छिन्, “तर, मलाई आत्मनिर्भर बन्ने चाहना छ । म करियरमा फोकस गर्न चाहन्छु । तर, परिवारले भन्छन्– छिटो बिहे नगरे राम्रो केटा पाइँदैन ।’’

जेन–जी पुस्ता विवाहलाई व्यक्तिगत निर्णयका रूपमा हेर्छ । प्रेम सम्बन्धलाई परम्परागत विवाहको चौघेराभन्दा बाहिर सोच्न चाहन्छ । तर, मिलेनियल्स र पुराना पुस्ताले अझै पनि विवाहलाई अनिवार्य जिम्मेवारी मान्छन् ।

संवाद जेन–जी पुस्ताका

महिनावारीका विषयमा खुलेर बोल्दा पनि जेन–जी पुस्ता आलोचित हुनुपर्छ । “हामीले महिनावारीबारे खुलेर कुरा ग¥यौँ भने कत्तिका परिवार नै रिसाउँछन् त कत्तिका आफन्तहरू भन्न थाल्छन्– किन यति खुलेर बोल्ने ? लुकाउनुपर्ने कुरा किन सार्वजनिक गर्ने ?,” काठमाडौंस्थित एक क्याफेको सोफामा भेटिएकी प्रीति भण्डारीले भनिन्, “हे भगवान् ! आज बिहानैदेखि पेट दुखेर मर्न लागेँ ।”

उक्त क्याफेमा भेटिएको एक हुल जेन–जी पुस्ताका कुरा हामीले पनि सुन्यौँ । तीमध्येकी एक हुन्, अनु झा ।

कफीको घुट्को लिँदै अनुले भनिन्, “तँलाई पनि ? म त अफिसमा बस्नै सकिनँ । फेरि, केटाहरूले के भयो ? भनी सोधे भने के भन्ने ? फेरि उही नाटक ! केही होइन, टाउको दुख्यो ।” अनु काठमाडौं एउटा निजी कलेजमा अध्ययनरत छन् । 

प्रीतिले आँखा ठूलो पार्दै भनिन्, “साँच्चै भन्नुपर्दा हामी जेन–जीले मानसिक स्वास्थ्य, बडी सेमिङ र समानताका बारेमा धेरै कुरा खुलेर गर्न थालेका छौँ । तर, महिनावारीका विषयमा भने अझै कानेखुसी गर्नुपर्ने वातावरण छ ।”

अनुले लामो सास फेरिन् । भनिन्, “त्यसैले त महिनावारी सामान्य हो भन्ने विचार स्थापित गराउनु हाम्रोजस्तो जेनेरेसनको कर्तव्य हो, होइन र ?”

“हुन त हो, तर जब हामी यस विषयमा खुलेर कुरा गर्न चाहन्छौँ, तब हाम्रो मस्तिष्कमा त्यही पुरानो डर र लाज अघि आइहाल्छ, जुन मिलेनियन्सनको प्रभाव हो । वास्तवमा मिलेनियन्सको विचारको असर आजको जेनेरेसनमा पनि परेको छ ।”

यही हो, नेपाली जेन–जी पुस्ताको समस्या । यो पुस्ताका उनीहरू खुलेर बोल्न चाहन्छन्, तर सुन्नेहरू पुरानै सोचका छन् । मिलेनियल्स पुस्ता – जसले परिवर्तन देख्यो, तर परम्परा भत्काउने आँट गरेन ।

अनि अर्कोतर्फ, जेन अल्फा पुस्ता – जसलाई खुला सोचको आशीर्वाद प्राप्त छ, उनीहरू भन्छन्, “तँलाई गाह्रो भयो ? स्कुल बंक गर्, अफिस छाड्, अरूको के मतलब !’’

तर, जेन–जी ? उनीहरू न पूरै परम्परावादी मिलेनियल्स बन्न सक्छन् न त पूरै विद्रोही जेन अल्फाजस्ता । उनीहरू आफ्नै पहिचान खोज्दै छन् । समाजमा अझै पनि महिनावारी, लैंगिक समानता, यौन शिक्षाजस्ता विषयमा बोल्न गाह्रो छ । जेन–जी पुस्ता यो विषयमा खुलेर बहस गर्न चाहन्छ ।

वास्तवमा भन्नुपर्दा जेन–जीहरूको सामाजिक र मानसिक स्वास्थ्यमा गहिरो असर परिरहेको छ । एकातिर जेन–जीहरूले पुराना पुस्ताबाट परम्परागत सामाजिक मूल्य ‘ट्रेडिसनल सोसल भ्यालुज’ सिकेका छन् भने अर्कातिर जेन अल्फाजस्तै पूर्ण डिजिटल युगमा जीवन बिताइरहेका छन् ।

वास्तावमा जेन–जीले हुर्कंदा सिकेका कुरा पालना गर्न सकिरहेका छैनन् । किनकि, जेन–जी हुर्कंदाको संसार र वर्तमान समयमा आकाश पातलको फरक छ ।

त्यहीकारण जेन–जीहरूको मनोवैज्ञानिक (साइकोलोजिकल) र सामाजिक (सोसल) अवस्था अरू पुस्ताभन्दा अलि बढी जटिल छ ।

पहिचानको संकट !

जेन–जी सामाजिक सञ्जालको प्रभावमा हुर्किएका छन् । उनीहरूले लामो समय अनलाइनमा बिताउँछन्, जसले व्यक्तिगत पहिचान निर्माणमा असर गर्छ ।

एकातिर पुराना पुस्ताबाट परम्परागत सामाजिक मूल्य सिकेका छन्, अर्कोतिर जेन अल्फाजस्तै पूर्ण डिजिटल युगमा रमाइरहेका छन् । यसले उनीहरूलाई आफैँलाई चिन्न गाह्रो बनाउँछ । उनीहरू ‘म को हुँ ?’ भन्ने प्रश्नसँग संघर्ष गरिरहेका छन् ।

मानसिक स्वास्थ्य समस्या

सामाजिक सञ्जाल र डिजिटल संसारको प्रभावका कारण जेन–जी मानसिक स्वास्थ्य समस्याबाट बढी प्रभावित भएका छन् । एक्लोपन, धेरैजसो समय अनलाइनमा बिताउँदा वास्तविक जीवनमा सम्बन्ध कमजोर हुने समस्या देखिन्छ ।

यिनमा आत्मसम्मानको समस्या छ । सामाजिक सञ्जालमा देखिने ‘सफलता’ वा ‘पर्फेक्ट जीवनशैली’सँग तुलना गर्दा उनीहरूलाई आफ्नो जीवन कम महत्त्वपूर्ण लाग्न सक्छ । तनाव र बेचैनीबीच करियर, भविष्य, र सामाजिक अपेक्षाको दबाब अत्यधिक हुन्छ ।

अन्तर संवादको अभाव

मिलेनियल्सजस्तै परम्परागत मूल्यमा हुर्किएका तर जेन अल्फाजस्तै डिजिटल रूपमा जोडिएका हुनाले जेन–जीलाई पुरानो पुस्तासँग संवाद गर्न गाह्रो छ । परिवार वा पुरानो पुस्तासँगको सोच मिल्दैन, किनभने उनीहरू पारम्परिक जीवनशैलीमा विश्वास गर्छन् ।

जेन अल्फाभन्दा कम डिजिटल हुनुका कारण उनीहरू पूर्ण रूपमा नयाँ पुस्तासँग पनि घुलमिल हुन सक्दैनन् । यस्तो परिस्थितिले सम्बन्धमा समस्या ल्याउँछ, जसले गर्दा सोसल आइसोलेसनको महसुस हुनसक्छ ।

सामाजिक अपेक्षाको दबाब

परिवार, समाज र सामाजिक सञ्जालबाट कसरी सफल बन्ने भन्ने विषयमा ठूलो दबाब आउँछ । ३० वर्ष नपुग्दै घर किन्ने, उच्च सफलता हासिल गर्नेजस्ता अपेक्षाले मानसिक तनाव बढाउँछ । धेरैजसो जेन–जी सफलताको परिभाषा पुनः परिभाषित गर्न खोजिरहेका छन्, किनभने उनीहरू पारम्परिकभन्दा नयाँ बाटा खोज्न चाहन्छन् ।

पुरानो पुस्ताको बोझ

यो पुस्तालाई ‘इन्टरजेनेरेसनल ट्रमा’ अर्थात् पुरानो पुस्ताको बोझ पनि छ । पुरानो पुस्ता (मिलेनियल्स र अझ अगाडिका)ले धेरै संघर्ष गरे ।

आर्थिक अस्थिरता, पारिवारिक जिम्मेवारी, समाजको दबाब र मानसिक स्वास्थ्यलाई बेवास्ता गर्ने संस्कार थियो, पुरानो पुस्ताको । जेन–जीलाई यी सबै कुरा हस्तान्तरण गरियो, जसले गर्दा उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो असर परेको छ ।

सफलताको ‘फोर्स्ड डेफिनेसन’ले जेन–जी पुस्तालाई भित्रभित्रै रित्याउँदै छ ।

पुरानो पुस्ताले ‘मिहेनत गर्, त्याग गर्, अनि सफल हुन्छस्’ भनेर सिकायो । तर, आजको समयमा मिहिनेतले मात्र गरेर सफलता मिल्दैन, किनभने अवसर सीमित छ, महँगी बढेको छ र प्रतिस्पर्धा डरलाग्दो छ ।

‘डिप्रेसन भन्ने केही हुँदैन, काम गर’ भन्ने ‘मेन्टालिटी’मा विश्वास राख्थ्यो, पुरानो पुस्ता । तर, जेन–जी बर्नआउट, एनजाईटी र डिप्रेसनको वास्तविक प्रभाव भोगिरहेका छन् ।

मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ भनेर सोच्दा पनि परिवार र समाजबाट सहयोग पाइँदैन, किनभने पुरानो पुस्ताले भन्ने उही त हो, ‘धेरै कुरा सोचेकोले नै तिम्रो दिमाग खराब भएको हो ।’

यो परिवेशमा जेन–जी ‘फोमो फेयर अफ मिसिङ आउट’मा छ ।

पुरानो पुस्ताले ‘फोन कम चला, बाहिर जा’ भन्छ । तर, आजको संसारमा टेक्नोलोजीबिना केही सम्भव छैन । जेन–जीलाई ‘रियल वर्ल्ड’ र ‘डिजिटल वर्ल्ड’बीच सन्तुलन मिलाउन निकै गाह्रो छ ।

जेन–जीहरू मिलेनियल्सको परम्परागत अपेक्षा र जेन अल्फाको आधुनिक डिजिटल प्रवृत्तिको बीचमा अलमलमा छन् । इन्टरनेटको विकास देखेर चकित परेकाहरू र हातमा मोबाइल खेलाउँदै हुर्केकाबीचमा जेन–जीहरू ‘स्यान्डविच’ बनेका छन् ।

जेन–जी पुस्ता ठ्याक्कै उफ्रिन खोज्दा लड्ने, चुप लाग्दा दबिने, बोल्न खोज्दा गाली खाने, सोच्दा तनाव बढ्ने, अनि बाँच्न खोज्दा खर्चै धान्न नसक्ने अवस्थामा छ । एकातिर मिलेनियल्सको ‘हाम्रो पालामा यस्तो थिएन’ भन्ने प्रवचन, अर्कातिर जेन अल्फाको ‘तँ अझै पनि त्यो गर्दै छस् ?’ भन्ने व्यंग्य । यिनै परिस्थितिबीच अल्झिएको पुस्ता हो, जेन–जी ।

‘झुन्डिरहने कि उड्ने ?’ निर्णय जेन–जीकै हो, किनभने परम्पराका डोरीहरू कमजोर हुँदा हावासँगसँगै उड्ने आँट आफैँले गर्नुपर्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro