नेपाली कांग्रेसको नेतृत्वमा २००७ मा भएको सशस्त्र जनक्रान्ति घोषितरूपमा त एक शताब्दी लामो निरङ्कुश राणा शासनविरुद्ध थियो । यथार्थमा भने मध्ययुगीन अन्धकारमा रुमलिएको नेपाली समाजलाई त्यही क्रान्तिले आधुनिक संसारको उज्यालो देखाएको हो ।
राष्ट्रको इतिहासमा क्रान्ति प्रतिक्रान्तिको आरोहअवरोह हुनु अस्वाभाविक होइन । नेपालीहरूले भने प्रतिक्रान्ति र अवरोहको सामना अपेक्षाकृत धेरै गर्नु परेको छ । यद्यपि, जति नै कठिन परिस्थितमा पनि स्वतन्त्रताको सङ्घर्ष नेपाली जनताले जोगाइरहे ।
राजनीतिक आन्दोलनका विभिन्न चरण पार गर्दै अहिले नेपाल संघीय गणतन्त्रमा आइपुगेको छ । तर, यो यात्राको पहिलो पाइलामात्र होइन मूल बाटो पनि २००७ सालको जनक्रान्तिले नै तय गरेको हो । यसैले पछिल्ला सबै उपलब्धि २००७ सालकै देन हुन् भन्न र मान्न हिचकिचाउनु पर्दैन ।
नेपालमा ‘प्रजातन्त्र’ स्थापनामा जनक्रान्तिको योगदानका सम्बन्धमा त चर्चा हुनेगरेको छ । तर यस जनक्रान्तिले नै सबै नेपालीलाई भावनात्मकरूपमा एउटै राष्ट्रका नागरिक बनाउन गरेको योगदानको भने अपेक्षाकृत चर्चा गरिएको छैन ।
दुई शताब्दीपूर्व पृथ्वीनारायण शाहको नायकत्वमा नेपालको भौगोलिक एकीकरण भएको थियो । त्यसलाई जनतासँग जोडिन नदिएर शाह र राणाहरूको शासनमा नेपाली राष्ट्रियताको विकास हुन सकेन । राजधानी आउनजान ‘राहदानी’ चाहिने रैतीमा राष्ट्रियताको भानवा जागोस् पो कसरीरु
नेपालको तराईदेखि हिमालसम्मका सबै भाषा, धर्म, जाति, सम्प्रदाय र भूगोलका जनता एउटै ध्येय राखेर एउटै मोर्चामा जुटेको पहिलो अवसर यही २००७ को जनक्रान्ति हो । यसैले यथार्थमा नेपालको राष्ट्रियताको निर्माण भएको अवसर पनि यसैलाई मान्न सकिन्छ ।
मध्ययुगीन निरंकुश जहाँनिया शासनको अन्त्य गरेर आधुनिक नेपालको निर्माणका लागि जनक्रान्ति थालिएको त हुँदै हो । नेपालको इतिहासमा मेचीदेखि महाकालीसम्मका मात्र होइन देशबाहिरका नेपालीसमेत एउटै ध्येयमा समर्पित भएको यही २००७ को जनक्रान्तिमा मात्रै हो ।
यसैले अरू सबै दिन र दिवस तपसिलका हुन् भने २००७ को जनक्रान्तिको सफलताको घोषणा भएको फागुन ७ मुख्य स्वतन्त्रता दिवस हो । यसैले शासकहरूलाई लागेको पाद टिप्पणी पढेर मूल पाठ बिर्सने रोग कुनै दिन निको हुने र २००७ सालको जनक्रान्तिको वास्तविक महत्ता गाइने दिनको प्रतीक्षा गरौँ ।
जनक्रान्ति र यसको पृष्ठभूमि निर्माणमा जीवनोत्सर्ग गर्ने सबै श्रद्धेय सहिदहरूप्रति श्रद्धाञ्जलिसहित फागुन ७ लाई सलाम १