site stats
बाह्रखरी :: Baahrakhari
वार्षिकोत्सव विशेष
Global Ime bankGlobal Ime bank
राजकीय संस्थाको विवेचना कि हतारमा संविधान संशोधन ?

नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पुग्दैछ । आठ महिनाअघि सरकार बनाउँदै गर्दा कांग्रेस र एमालेको गठबन्धन संविधान संशोधन गर्ने निचोडमा पनि पुगेका छन् ।

यो १० वर्षको यात्रामा राजनीतिक र नेपाली समाजको गति कस्तो रह्यो त ? यो संविधानले अपेक्षा पूरा गर्न सक्यो कि सकेन ? यो महत्वपूर्ण विषय हो । संविधानमा बहुभाषी, बहुजाति, संघीयता र धर्मनिरपेक्षता राज्य भनेरै उल्लेख गरिएको छ ।

यो भनेरमात्रै पुग्दैन । गएको १० वर्षमा सैद्धान्तिक मान्यता व्यवहारमा उतार्न सक्यो कि सकेन भन्ने दृष्टिकोणबाट समीक्षा गर्नुपर्ने हुन्छ । अर्को प्रश्न उठ्छ, त्यसो भए संविधानमा लेखिँदैमा समाजमा वा राज्यमा परिवर्तन सम्भव छ कि छैन ? कसले परिवर्तन गर्ने हो ? संविधान आफैँ त बोल्दैन । 

Dabur Nepal
NIC Asia

त्यो परिवर्तन ल्याउन बनेका संस्थाहरूको अवस्था के छ, त्यो हेर्न जरुरी छ ।  त्यो संस्थाका पछि कस्तो किसिमको संरचना छन् र कस्ता किसिमका मानिस आएका छन् । त्यो पनि लामो विवेचना जरुरी छ ।

कस्ता मानिसहरू आए ? प्रधानमन्त्री कस्ता आए ? अर्थमन्त्री कस्ता आए ? सांसदहरू कस्ता रहे भन्यो भने हामी एकैछिनको विश्लेषणमा पुग्छौँ । तर त्यो पनि महत्वपूर्ण विश्लेषण हुन्छ ।

संविधान बनिसकेपछि हाम्रा राजनीतिक संस्थाहरू अपेक्षाअनुसार चले कि चलेनन् ? कस्तो किसिमको दिशा र दशाबाट गुज्रिरहेका छन् । त्यो किसिमबाट हेर्न बढी जरुरी छ जस्तो लाग्छ ।

संविधानले दिएका महत्वपूर्ण पक्ष भनेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समावेशिता हुन् । संविधानको मूल आधार हुन्, यी । 

२०६२–६३ को जनआन्दोलनले सिंचित गरेको भावहरूबाट यी परिवर्तन र मूल आधार बनेका हुन् । यी चार बुँदा संविधानमा लिपिवद्ध छन् । राजनीतिक इतिहास हेर्ने हो भने यो सात सालदेखिकै चाहना हो ।

गणतन्त्रबाहेकका सबै विषयहरू सात सालदेखिकै चाहना हुन् । गणतन्त्रका विषयमा लामो बहस भएको हो । सार्वभौमसत्ता र राजनीतिक सत्ता कसमा हुने भन्ने बहस लामो समयदेखि नै भइरह्यो । बीपी कोइरालाले पनि समय–समयमा आफ्नो लेखमा राजासँगको विषय उल्लेख गर्नुभएको छ ।

राजा कसका लागि ? किन ? भन्ने प्रश्न उठाउनुभएको हो । एउटा व्यवहारिक राजतन्त्रको मात्रै वकालत थियो न कि सैद्धान्तिक कुरा थियो ।

बालुवा निचोरेर पानी आउँदैन भनेजस्तै राजतन्त्रबाट अधिकार आउँदैन भनी उहाँले पनि भन्नुभएको थियो ।

कांग्रेसले २००७ सालमा राजतन्त्र दिल्लीबाट काँधमा बोकेर फर्काउनेदेखि २०१८ सालमा जनकपुरमा राजामाथि आक्रमण गर्नेसम्मका काम भएको पाउछौं । त्यसैले राजतन्त्र सधैं विवादको विषय रह्यो । 

सार्वभौमसत्ता कसमा रहने, राजकीय सत्ता कसमा निहीत हुने ? भन्ने विषयमै विभाजित रह्यो ।

नेपालको विशिष्ट राजनीतिक परिवेश, भूपरिवेष्ठित, नेपालको विविधताका कारणले र राजतन्त्र कहीँ लोकतन्त्रका सहयोगी हुन सक्छ कि भन्ने आकांक्षा र इच्छा चाहिँ कांग्रेस नेतृत्व र बीपी कोइरालामा थियो ।

हरेकपल्ट लोकतन्त्रमाथिका प्रहार राजतन्त्रबाटै भएको हो । जब २०६२–६३ को जनआन्दोलन हेर्दा ‘टर्निङ प्वाइन्ट’ भनेको नेपाली कांग्रेसले अब हामी राजतन्त्रको पक्षमा छैनौं भन्नेमा निस्कर्षमा पुगेपछि आन्दोलनले धार समातेको हो भन्न ‘बायस’ हुनै पर्दैन । यो यथार्थ कुरा हो । त्यसपछि गणतन्त्रमा जान सहज भएको हो । 

गणतन्त्रको अभ्यास हामीकहाँ कस्तो रह्यो त ? यो महत्वपूर्ण विषय हो । 

हामीले दुईजना राष्ट्रपतिको कार्यकाल हेरिसक्यौं । विडम्बना के सुनिँदैछ भने राष्ट्रपतिको जुन मर्यादा हो त्यो मर्यादाले काम गर्न सक्यो कि सकेन ? यो १० वर्षको कार्यकालमा यो पनि विवादरहित रहन सकेन ।

तर पनि केही आधारभूत सिद्धान्त स्थापित भएको छ । तर, बजारमा पूर्वराष्ट्रपति फेरि राजनीतिमा फर्किने भन्ने कुरा भइरहेको छ । यसमा धेरै प्रश्न उठेको छ । उहाँहरू राजनीतिक प्राणी त हो, तर उहाँहरू आफैँ सोच्नुपर्ने पनि हो । हामी कहाँ बस्ने हो ? नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने संवैधानिक परिधिभित्र राख्न अभिभावकीय रूपमा काम गर्ने हो कि होइन ? भन्ने हेर्नुपर्छ ।

गणतन्त्रको सन्दर्भमा हामी सही दिशामै छौं भन्ने मलाई लाग्छ ।

पहिलो राष्ट्रपतिसँग सल्लाहकारको रूपमा काम गर्दाको मेरो अनुभवले पनि के देखायो भने केही आधारभूत मान्यता स्थापित गर्न हामी सफल भएका छौं । तर एकपल्टको कार्यकालले हुँदैन, दुईपल्टको कार्यकालले पनि हुँदैन । 
संस्था निर्माण गरेरमात्रै पुग्दैन । त्यसभित्र बस्ने र काम गर्ने मानिसको भावना, विचार कस्तो छ ? आफ्नो भूमिकालाई कसरी हेर्छन् भन्ने महत्वपूर्ण कुरा हो ।

अर्को कुरा के हो भने राजतन्त्रबारेमा सात सालदेखि नै विवादित विषय थियो । 

२०६२–६३ को आन्दोलनले एक प्रकारको निरूपण गरेको हो । तथापि राजा चाहिन्छ, भन्ने विषयमा मानिसहरू छन् । तर, त्यसको राजनीतिक परिचालन गर्न सक्ने शक्तिको रूपमा देखिँदैन । 

यदाकदा सांस्कृतिक शक्तिको रूपमा असन्तुष्टहरूको धारको रूपमा राजतन्त्र देखिन्छ । तर पनि सक्रिय राजतन्त्र फर्किन सक्ने यो संविधानको कार्यकाल र त्यसअघिका वर्षलाई समीक्षा गर्दा पनि सम्भावना देखिँदैन ।

गणतन्त्रको अभ्यासले पनि देखाइसकेको छ । गणतन्त्रसँग आएको अर्को महत्वपूर्ण पक्ष भनेको संघीयता हो । संघीयता पनि विशेष परिवेशमा आएको थियो । 

जातजातिको आन्दोलन, क्षेत्रीयताको आन्दोलनलाई निरूपण गर्ने सन्दर्भमा आएको थियो । धेरैले यसलाई के भने यति सानो मुलुकमा संघीयता काम गर्छ कि गर्दैन ? के गर्छ ? टिक्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाए ।

यसमा स्थानीय सरकारका विषयमा कसैले प्रश्न उठाएका छैनन् । स्थानीय सरकार पनि संघीय ढाँचाकै हो ।

बीचमा कतै कतै प्रश्न उठाइए, प्रादेशिक सरकारका सन्दर्भमा । प्रादेशिक सरकारको कामकारबाही हेर्दा र संघीय सरकारसँगको सम्बन्ध हेर्दा के देखिन्छ भने नेपाली राजनीतिज्ञहरूको अन्यमनस्क स्थितिमा कहीँबाट प्रश्न उठेको भए त्यहीँबाट उठेको छ ।

सुरुमा संघीयता आउनासाथ संघीयतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नेपाली राजनीतिक नेतृत्वको बुझाइमा ठूलो संकट देखियो । किनभने हामी प्राकृतिकरूपमै संघीय भएका थिएनौँ । 

नेपालको शान्ति प्रक्रियाका कारणले, जातजातिका आवाजका कारणले क्षेत्रीय सन्तुलनका नीतिले हामी संघीयतामा गएका हौं ।

संघीयताले आफैँ काम गर्ने होइन, काम गराउनुपर्ने हो । हाम्रो इमान्दारिता रह्यो कि रहेन ? दुई कार्यकालले के देखियो भने संघीयता आफैँ फल्ने र फुल्ने हुँदैन । किनभने केन्द्रीय मानसिकता भएको नेतृत्व देखियो । संघीय शासन व्यवस्था चल्न जुन किसिमका ऊर्जा दिनुपर्ने थियो, त्यो दियो कि दिएन ? प्रश्न निरन्तर छ । 

संघीयता महत्वपूर्ण परिवर्तनको एजेन्डा भएको भए राजनीतिक नेतृत्वले त्यही किसिमले कामको बाँडफाँट गर्नुपर्ने थियो ।

केन्द्रमा सिट नपाएका, हारेका मानिसलाई क्षेत्रमा राख्दै जुन काम कारबाही गर्यो त्यसका कारण प्रश्न उठेको हो । संघीयताका सन्दर्भमा वर्तमान नेतृत्व नै जिम्मेबार छ । उसले संघीयताले काम गरेन भन्न पाउँदैन । संविधान संशोधन गरेर मिलाऊँ भन्न पाउँदैन ।

किनकि जनताको रूपमा के देखिरहेको छु भने जुन किसिमले इमान्दारिताका साथ काम गर्नुपर्ने हो गरेको देखिँदैन । 

एउटा संरचना बनाइदिए, त्यहाँ राखिदिए । 

जनताले चाहेको भनेर आउने उनीहरू नै हुन् । स्थानीय सरकारका विषयमा किन प्रश्न उठेन भन्दा जुनसुकै व्यवस्था भए पनि गाउँमा प्रतिनिधि चाहिन्थ्यो । कठिन परिस्थितिमा पनि त्यो संस्थालाई देखेका छौं । २०६२ मा राजाले पनि जबर्जस्ती भए पनि स्थानीय निर्वाचन गराउन खोजेकै थिए । तर त्यसलाई जनताले बहिस्कार गरे ।

स्थानीय सरकारमा अपनत्व आउँदा प्रदेश सरकारमा नआउनुको कारण के हो भने कुनै पनि नेता र राजनीतिक दलले संघीयतामा प्रादेशिक सरकारको आवश्यकता यसकारण छ भनेर जनतालाई ‘क्याम्पियन’को रूपमा बुझाउनै सकेनन् ।

आफूले काम नगर्ने अनि संविधानलाई दोष दिन मिल्दैन । संविधान संशोधनमा जानुअघि हामीले यस्तो खोजेका थियौं, त्यो पाएनौं भन्न सक्नुपर्‍यो ।

आफूले नगर्ने अनि संस्थालाई दोष लगाउने जुन अवस्था देखिँदैछ यसले संघीयतामा प्रश्न उठाएको हो । हामीले एउटा पनि संरचना चलायौं भने नयाँ संरचना बनाउन सक्ने हुति हालका राजनीतिक नेतृत्वमा म देख्दिनँ ।

काठमाडौंका सडक वा गाउँमा एउटा बाटो र ढल समयमा बनाउन नसक्ने प्रवृत्ति भएका हामी छौं भने भइरहेको संरचना भत्काएर नयाँ बनाउछौं भन्ने कुरा जनताले ‘खुट्टी देखेर पत्याएँ !’ भनेजस्तै गरी लिनेछन् ।

बिगार्नु या खलबल्याउनुभन्दा पहिला हामीलाई चाहियो विश्लेषण । दश वर्षसम्मको संवैधानिक संरचनाका प्रयोगका सन्दर्भमा हामी यहाँनेर चुक्यौं भन्नुपर्‍यो । 

यहाँनेर बल नपुगेको रहेछ, यहाँनेर डिजाइनमै या प्रक्रियागत संरचनामै त्रुटि रहेछ भन्न सक्नुपर्छ । यो समय भनेको राजकीय संस्था–संरचनाको विवेचना गर्ने समय हो, हतारमा संविधान संशोधन गर्ने समय होइन ।

विवेचना गर्ने भनेको निर्वाचन आयोगले कस्तो काम गर्‍यो ? हरेक राज्यका संस्थाहरू जसका कारणले यो संविधान चलायमान हुन्छन् तिनको समीक्षा गर्नुपर्छ । निर्वाचन आयोग, सर्वोच्च अदालत, विभिन्न आयोगहरू, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतको विवेचना गर्नुपर्छ ।

उनीहरूको काम कारबाही हेर्नुपर्‍यो । संविधानले समावेशी हुनेछ भनेर भनेको कुरा पूरा भयो ? त्यहाँ साधन–स्रोत छ कि छैन ? कस्ता मान्छे हामीले राख्यौं ? कसरी राख्यौं ? त्यहाँ विवेचना चाहिँदैन ? संविधानको रिभ्यू भन्दा पनि संस्थाहरूका रिभ्यू गर्नुपर्ने हो ।

हरेक वर्ष महालेखाको रिपोर्ट राष्ट्रपतिकहाँ जान्छ, निर्वाचन आयोगको जान्छ, अख्तियारको जान्छ । यी संस्थाका विषयमा संसद्मा कति बहस भयो ? सुधार गरौं भनेर कति बहस भए ?

मान्छे बिरामी भयो भने सिध्याइदिने हो ? कि उपचार गर्ने हो ? संविधान बिरामी भयो भनेर मानौँ पहिला उसका संस्थाको पुनरवलोकन जरुरी छ । त्यहाँबाट हेर्नुपर्ने होइन ?

संविधान संशोधन होइन, राजकीय संस्थाहरू जसमार्फत् संविधान चलायमान हुन्छ त्यसको विवेचना जरुरी छ । संसदले त्रुटि केलाउन सक्छ, बहस गर्न सक्छ । संसद्ले आफूमातहत हुने संस्थाको विवेचना गरेर यहाँनेर संविधानले भनेको काम भएन । यहाँनेर संविधान बाधक छ भन्न सक्नुपर्‍यो ।

यो कुनै दुईवटा दलले गरेर हुँदैन । यो संसद्ले नै गर्नुपर्छ । त्यहाँ प्रतिनिधित्व गर्ने दलको अपनत्व हुनुपर्छ । संविधान संशोधनको एजेन्डा फेरि पनि सडकमा लैजान मिल्छ ? जनताले चुनाव गरेर जनप्रतिनिधि पठाएको होइन ? संस्था चलाउने जिम्मा दिएको होइन ?

तपाईं (राजनीतिकर्मी) हरू होइन, पाइलट ? पाइलटले भन्नुपर्‍यो जहाजमा कहाँनेर समस्या छ भनेर, सवार यात्रुलाई पहिले नै डुब्दैछ भनी डर देखाउनु भएन । 

त्यसकारण जनतालाई दिनानुदिनको रोजगारी गर्न, बाँच्न दिन र आफ्नो काम गर्न राज्यले स्वतन्त्र छाड्नुपर्दैन ? हामीलाई घरीघरी राजनीतिक विवाद र राजनीतिक परिवर्तनको आगोमा झोस्न पाउँदैनौं ।

हामीले आवधिक निर्वाचन गरेर पठाएका हौं, त्यसैले जनतालाई पटक–पटक दुःख दिन पाइँदैन बहस संसद्मा हुनुपर्छ ।

अख्तियार, निर्वाचन आयोग, सर्वोच्च अदालतका सन्दर्भमा या संविधान कार्यान्वयनमा यी ठाउँमा समस्या छन् कि ! निर्वाचन आयोगले आफूले चाहे बन्दसूची, आफूले चाहे खुलासूची गर्न मिल्छ ? समावेशितामा कसको के कमजोरी छ ? 

गएको १० वर्षको संवैधानिक अभ्यासको सन्दर्भमा राजनीतिक दलहरू आफैंले गर्नुपर्ने जिम्मेवारी राम्रोसँग नगर्ने र जनताको आक्रोशलाई संविधानमा थोपर्नु राजनीतिक बेइमानी हो ।

आफ्नो जिम्मेबारी पूरा गर्नुपर्दैन ? संविधानको कार्यान्वयन भनेको जवाफदेहीता हो । जवाफदेहिताविनाको लोकतन्त्र र शासन व्यवस्था काम गर्न सक्दैन ।

अर्को ठूलो समस्या र तनाव के छ भने नेताले जनतालाई हामीले दिएको ठूलो गिफ्ट संविधान हो भन्छन् । यो संविधानले सबैलाई बाँध्छ, हामीलाई बाँध्दैन भन्ने मनस्थिति छ । राजा रजौटाको मनस्थिति छ, राजनीतिक नेतृत्वमा ।
जनताको संविधान र जनताको नासो हो भने संविधान खलबल्याउन पाउँदैनन् ।

त्यसो हो भने एउटा मियो हामीले निर्वाचन गरेको संसद् हो त्यहाँभित्र बहस हुनुपर्छ । त्यहाँ दफाबार छलफल गरे पनि जनतालाई आपत्ति छैन ।

संसद्भन्दा बाहिर जाँदा जसले जे कुरा पनि गर्न पाउँछ । राजा आऊ देश बचाऊ भन्न पायो, समाज भाँड्ने कुरा गर्न पायो, संविधान पुनर्लेखन, पुनःनिर्वाचनलगायतका जे जे कुराहरू पनि सडकमै निस्किने भए । यसले गर्दा समाजले गति लिनुको साटो छरपस्ट हुन सक्छ ।

कहिलेकाहीँ म आफैँलाई लाग्छ– बढी यथास्थितिवादी भएँ कि !

होइन ।

म कुनै पनि राजनीतिक प्रक्रिया आफ्नो गतिमा विकसित हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले कुनै पनि किसिमको क्रान्तिकारी पक्षमा छैन ।

राष्ट्रपति डा. रामवरण यादव मधेसको हुनुहुन्थ्यो । संविधान जारी गर्ने बेला मधेस असन्तुष्ट थियो । विरोध गरेको बेला थियो, अन्तर्राष्ट्रियरूपमा पनि भारतले विरोध गरेको बेला थियो । तर उहाँ संविधान घोषणा गर्न जानुभयो ।

त्यसबेला हाम्रो तर्क के थियो भने, एकपल्टको संविधानले देशका यावत् समस्या समाधान हुँदैन । संविधान जिवित दस्तावेज हो । यो जहिले पनि प्रयोग र विश्वासबाट बढ्दै जान्छ ।

हामीले राम्रोसँग प्रयोग गर्नुपर्‍यो । यसमा विश्वास गर्नुपर्‍यो । यसमा हुनसक्ने परिवर्तनबारे सचेत हुनुपर्‍यो । प्रश्न उठ्छ, तर काम गर्न नदिइ चलाउने कि नचलाउने ? हामीले संविधानको सही रूपले प्रयोग गरेका छौं ? भन्ने कुरा महत्वपूर्ण छ ।

अब रह्यो धर्मनिरपेक्षता ।

धर्म निरपेक्षताबारे चर्चा परिचर्चा छद्म गोली चलाउने उपायमात्र हो ।

कता कता नेतृत्व पनि एमाले होस् कि कांग्रेस या अरु पार्टीमा पनि । बहुसंख्यक नेपाली धर्म मान्छन्, हामी हिन्दू राष्ट्र हुँदा के फरक पर्छ भनी हल्का टिप्पणी गरेको देख्छु ।

धर्मका लागि मियो चाहिन्छ । धर्मका लागि धर्माधिकारी चाहिन्छ । हाम्रो नेपालको हिन्दू धर्म भनिए पनि यो सनातनि धर्म हो । हरेक मानिसमा आ–आफ्नै किसिमका विश्वास र आस्था छ । कसैले ढुंगामा पूजा गर्छ, कसैले रुखमा पूजा गर्छ । कसैले रातो टीका लगाउँछ, कसैले पहेँलो त कसैले सेतो टीका पनि लगाउँछ । चाडपर्व पनि अनेककन् छन् ।

हाम्रोमा एउटा धर्माधिकारी छैन, जसले हामीलाई यसैगरी तिमीले धर्मको पालन गर्नुपर्छ भन्ने ।

न त हामीकहाँ एकाधिकार भएको चर्च छ, न मुल्लाहले बताउन सक्छन् । 

कसले गर्छ त ?

मेरो बाले जे गर्नुभयो, म त्यही गरी चलाउँछु । हामीकहाँ पुरोहित पनि दश थरिका छन् । यो बहुलताले भरिएको र धर्मले स्वतन्त्र भएको ठाउँ हो । त्यहाँ यदि हामीले नेपाली हामी हिन्दू हौं, सांस्कृतिकरूपमा एक छौँ भन्यो भने भोलि हामीले मियो खोज्ने नाममा राजाको ‘बुँख्याचा’ खडा गर्नेछौं । त्यसकारण धर्म निरपेक्षताको विरोध गर्नेले भोलि धर्माधिकारी खोज्ने ठाउँमा राज्याधिकारी खोज्ने अवस्था आउन सक्छ । यो भनेको पर्दा पछाडिबाट लुकेर हानिएको बन्दुक हो भन्ने लाग्छ । म पनि हिन्दू हुँ, मेरो पनि जनै छ । म पनि पूजा गर्छु । तर मलाई नेपाल राज्य हिन्दू नहुँदा मलाई कुनै समस्या छैन । किनकि मैले धर्मको काम गरिरहेको छु । 

तर भोलि मेरो नाममा, ममाथि नियन्त्रण गर्न डर देखाइन्छ ।

यहाँ हिन्दू भनिने बलियो नहुने अनि बाहिरबाट आएर धर्मान्तरण गराए भनेर हुन्छ ? आफ्नो चालचलन सजिलै गुमाउँदै जाने अनि अर्कोले पैसाको भरमा ग¥यो भन्ने ? आफू कमजोर भएको नठान्ने । बलियो हुन के गर्नुपर्छ त्यो चाहिँ नगर्ने । यहाँ धर्मभिरुको कुरा गर्न खोजेको होइन । आस्थाको कुरा हुन्छ । आस्थामा कति बलियो र कति व्यवहारिक छौं भन्ने कुरा हेर्नुपर्छ । आस्था र धर्मलाई व्यक्तिगत चयनमा छाड्नुपर्छ । यसमा राज्यको चयन हुनुहुँदैन भन्ने मान्यता मेरो हो ।

हामीकहाँ मालिकभन्दा बढी बफादार हुने परिपाटी छ । दक्षिणमा जुन किसिमको शक्ति उदय भएको छ, त्यसलाई देखाउन र खुसी बनाउन हामीहरू उद्दत भएको देख्छु । काठमाडौंका मठ मन्दिरमा जुन किसिमको ‘स्याफ्रोनाइजेसन’ भएको देख्छु त्यो बडा डरलाग्दो छ ।

जस्तो बूढानीलकण्ठको मन्दिर हेरौँ, त्यहाँ दक्षिणको वैष्णवजस्तो भयो । बूढानिलकण्ठ वैष्णबजस्तो कहिले पनि देखिएन । काठमाडौंका मठ–मन्दिरलाई दक्षिणको जस्तो बनाउने प्रयास हुँदैछ । जनकपुरलाई सबै पहेँलो रंग किन लगाउनुपरेको ? जबकि राम–जानकी मन्दिर सेतो रंगमा छ । पहेँलो रंग लगाउनुपर्ने के आवश्यकता पर्‍यो ? केही उदाहरण छन् ? कसैलाई खुसी पार्न काम गरिँदैछ कि ! पहिला त त्यहाँ हेर्नुपर्छ ।

साना–तिना मठ–मन्दिरमा पनि धार्मिक पर्यटनको नाममा जुन किसिमको ‘स्याफ्रोनाइजेसन’ भएको छ त्यो पो डरलाग्दो विषय हो ।

राज्यको धर्म के हो ? 

राज्यको धर्म ‘न्याय’ हो । भोका नांगालाई हेर्नु राज्यको धर्म हो । घण्टी बजाउने काम राज्यको होइन । म पनि घरमा पूजापाठ गर्छु । तर राज्यले आफ्नो न्यायको सन्दर्भमा नेपाली राज्यको विवेचना गर्न जरुरी छ ।

यो कुन धर्मको हो भनी राज्यले हेर्ने होइन । राज्यले गर्नुपर्ने न्यायोचित धर्म गर्न सक्यो कि सकेन । आँखा त्यहाँ पुग्यो कि पुगेन त्यो हो राज्यको काम ।

सेवा सुविधाका सन्दर्भमा स्थानीय सरकारले गरेको कामलाई हामीले नजिकबाट हेर्नुपर्छ ।

मलाई कतिले मतदान गर्ने हो र ? भनेर पनि प्रश्न गरे । तर मैले भने, म स्थानीय निकायमा मतदान गर्छु । म त्यहाँ हरेक कुरामा जानुपर्छ । म मेरो सरकारसँग विच्छेद हुन चाहन्न । निर्वाचन यस्तो विषय हो, जहाँ नागरिक राज्यसँग जोडिन्छ । तर आफू नजोडिइकन उसले जवाफदेहिता माग्न सक्छ कि सक्दैन ? 

नागरिकको कर्तव्य के हो भने राजकीय व्यवस्थामा भाग लिनुपर्छ । विरोध पनि गर्नुपर्छ । तब लोकतन्त्र बाँच्छ । नागरिकका सन्दर्भमा हामी कस्ता भयौं भने गुनासो गर्छौं प्रश्न गर्दैनौं ।

त्यसकारण नेपालको राजनीतिको महत्वपूर्ण पक्ष– हामी धेरै गनगने भएछौं गुनासो गरिरहेका छौं, प्रश्न गरिरहेका छैनौं । प्रश्नले नै लोकतन्त्रलाई जोगाउँछ र जवाफदेही बनाउँछ । खडेरी भनेकै जवाफदेहिताको खडेरी हो । 

दल र राजनीतिक नेतालाई के लागेको छ भने लोकतन्त्र जनताका लागि हाम्रो उपहार हो । यो कुनै पनि बेला हामीले खेलौनाजस्तै प्रयोग गर्न पाउछौं । जनता हाम्रै पछि छन् जनतासँग विकल्प छैन भन्ने सोचेका छन् ।

यो बीचमा केही नयाँ दल पनि उदाए । तर उनीहरूको अवस्था पनि राम्रो देखिएन । त्यसकारण हामी फर्किएर पुरानै दललाई सचेत र सतर्क बनाउनुबाहेक अर्को विकल्प मैले देखेको छैन ।

(अध्येता शर्मासँग बाह्रखरीले गरेको कुराकानीका आधारित)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 Kamana Sewa Bikash Bank9 Kamana Sewa Bikash Bank
9 Yasoda Foods9 Yasoda Foods
9 Vatshalya9 Vatshalya
9 Varnavas Hotel9 Varnavas Hotel
9 Valley Cold Store9 Valley Cold Store
9 Udhyog Byapar Mahasang Morang9 Udhyog Byapar Mahasang Morang
9 Tesla9 Tesla
9 Surya jyoti life Insurance9 Surya jyoti life Insurance
9 Summit Air9 Summit Air
9 Subisu9 Subisu
9 Sipradi9 Sipradi
9 Shanker Group9 Shanker Group
9 Salesberry9 Salesberry
9 RMC Group9 RMC Group
9 Gandaki Noodles9 Gandaki Noodles
9 Prime CA9 Prime CA
9 Prabhu Bank9 Prabhu Bank
9 SPG OMODA9 SPG OMODA
9 NMB Bank9 NMB Bank
9 Nepal Mountaineering Association9 Nepal Mountaineering Association
9 NIMB9 NIMB
9 Neco Insurance9 Neco Insurance
9 Ncell9 Ncell
9 National Life Insurance9 National Life Insurance
9 Nabil Bank9 Nabil Bank
9 Mountain Hardwear9 Mountain Hardwear
9 MM Group9 MM Group
9 MG Motors9 MG Motors
9 Marigold9 Marigold
9 Manakamana Cable Car9 Manakamana Cable Car
9 Mahalaxmi Bikash Bank9 Mahalaxmi Bikash Bank
9 Kumari Bank9 Kumari Bank
9 Kitchen Concept9 Kitchen Concept
9 KFC9 KFC
9 Kailash Heli9 Kailash Heli
9 IME9 IME
9 Hyundai Laxmi9 Hyundai Laxmi
9 Hotel Mechi Crown9 Hotel Mechi Crown
9 Hilltake9 Hilltake
9 Harvest Moon9 Harvest Moon
9 Hardik IVF9 Hardik IVF
9 Hard Rock Cafe9 Hard Rock Cafe
9 Global IME BAnk9 Global IME BAnk
9 Garud Security9 Garud Security
9 Garima Bikash Bank9 Garima Bikash Bank
9 Gandaki Medical College9 Gandaki Medical College
9 Everest Bank9 Everest Bank
9 Esewa9 Esewa
9 Continental Trading9 Continental Trading
9 BYD9 BYD
9 Bhatbhateni9 Bhatbhateni
9 Ansuvara Group9 Ansuvara Group
9 Annapurna Cable Car9 Annapurna Cable Car
9 Air Dynasty9 Air Dynasty
9 CG Motors9 CG Motors
9 City Express9 City Express
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro