site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

पाकाहरूको सदन मानिने राष्ट्रिय सभाका सदस्यहरूप्रति लक्षित सामाजिक सञ्जालमार्फत प्रकट गरिएको अमर्यादित टिप्पणीप्रति बैठकबाटै खेद प्रकट गर्नु झन् अशोभनीय व्यवहार भयो । यसले पाकाहरूको गरिमामय सदन पनि अभद्र सतही टिप्पणी गर्ने व्यक्तिकै स्तरमा ओर्लेको देखिएको छ ।

राष्ट्रिय सभाले एउटा विधेयक पारित गरेको प्रसङ्गमा टिप्पणी गर्दै प्रतिनिधि सभाका सदस्यसमेत रहेका ज्ञानेन्द्रबहादुर शाहीको नामबाट अत्यन्त असहिष्णु तथा अभद्र टिप्पणी सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो । शाहीको त्यस अपमानजनक टिप्पणीबाट आक्रोशित राष्ट्रिय सभा सदस्यहरूले आइतवार सदनको बैठकबाटै खेद प्रकट गरे । 

राष्ट्रिय सभालाई पाकाहरूको सदन भन्ने गरिन्छ । यसैले राष्ट्रिय सभाका सदस्यहरूबाट अपेक्षाकृत परिपक्वता, भद्रता एवं सहिष्णुताको अपेक्षा गरिन्छ । सामान्यतः प्रौढतासँगै व्यवहारमा संयम र विवेक पनि बढ्दै जान्छ । यसैले सामाजिक सञ्जालको कुनै स्तरहीन टिप्पणीप्रति राष्ट्रिय सभाबाट प्रकट रोष सदनको गरिमा सुहाउँदो नमानिएको हो ।

सामाजिक सञ्जालमा कुनै व्यक्तिले गरेको छुचो टिप्पणी राष्ट्रिय सभामा चर्चा योग्य विषय नै नमानिनुपर्ने हो । छुचो टिप्पणी गर्ने व्यक्ति प्रतिनिधि सभाको सदस्य भएकाले राष्ट्रिय सभाका सदस्यको बढी चित्त दुखेको हुनसक्छ । यसमा सदस्यहरूले रोषसम्म प्रकट गर्नु सम्भवतः पर्याप्त हुने थियो ।

हल्लाका भरमा गरिएको टिप्पणीप्रति राष्ट्रिय सभा यसरी असहिष्णु हुँदा प्रतिक्रिया अस्वाभाविक र अशोभनीय देखिन पुगेको छ । सम्भवतः यसपटकको गल्तीबाट राष्ट्रिय सभाका पाका सदस्यहरूले संयम र सहिष्णुता बिर्सन नहुने पाठ सिक्नेछन् ।

टिप्पणीकर्ताले पनि  आफ्नो टिप्पणीबाट पाका सांसदहरूको अपमान भएको देखिएपछि सविनय क्षमायाचना गरेको भए उत्तम हुन्थ्यो । विडम्बना, उनले थप चोट पुग्ने टिप्पणी गरे । दुवै पक्षले नेपाली जनताको इज्जत राख्न सकेनन् । अभद्र एवं असहिष्णु टिप्पणीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि टिप्पणीकर्तालाई सचेत गराउनु उचित हुनेछ । 

सदनको गरिमा राख्नु सदस्यहरूको दायित्व हो र त्यसमा राष्ट्रिय सभाका अध्यक्षले अभिभावकत्व लिनुपर्छ । यस प्रकरणमा मूलतः राष्ट्रिय सभाका अध्यक्ष सदनको गरिमा जोगाउन चुकेको देखियो । आशा गरौँ, यस प्रकरणबाट सदनको गरिमाप्रति थप संवेदनशील हुन सम्बन्धित सबै थप सजग हुनेछन् ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro