site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’
प्रतीकात्मक तस्बिर ।

वीरगन्ज । पर्साको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । 

जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ सुरू गरिएकाे हो । 

डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्न विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए । 

Argakhachi Cement Island Ad

“माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ,” उनले भने, “यसले सामुदायिक वनमा बाघ, चितुवालगायत जंगली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौँ ।” 

राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको उनको भनाइ छ । 

पर्सामा सबैया, बढनिहार र मानवा सवडिभिजन कार्यालय मातहतका क्षेत्रमा तीनतीनवटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गर्न लागिएको हो । 

रङ्गपुर, भतौडामा पनि एकएक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ । 

क्यामेरा ट्रयापिङले २४ सै घण्टा बाघलगायत जंगली जनावरको गतिविधिलाई फोटो खिच्नेछ । सो क्यामेराको दैनिक १६ जीपीको क्षमताको तस्बिर खिच्न सक्ने क्षमता रहेको छ । रंगपुर सबडिभिजन कार्यालयका फरेष्टर पुरूषोत्तमप्रसाद पटेलले क्यामेरा ट्रयापिङले बाघ, चितुवालगायतको गतिविधि विश्लेषण गर्न पनि सहयोग गर्ने विश्वास व्यक्त गरे । 

डब्लूडब्लूएफको सहयोगमा सो क्यामेरा जडान गरिएको हो । रासस

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्