site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
लिक छोडेका चलचित्रका प्रोमोसनल गीतको के काम ?

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रका गीतलाई सिंगल ट्रयाकले चुनौती दिइरहेका छन् । मेकिङमा चलचित्रका गीतमा भन्दा सिंगल ट्रयाकले बढी मिहिनेत गरिरहेका छन् । प्रोमोसनल र ओएसटीले लिक छोडेका छन् । ओएसटी र प्रोमोसनल गीतले चलचित्रको कथाबारे जानकारी दिनुपर्नेमा बहकिरहेका छन् । 

“चलचित्रलाई सिंगल ट्रयाकले चुनौती दिइरहेका छन् । एल्बमका लागि सिंगल ट्रयाकका गीतका भिडियोको मेकिङ हेबी मेकिङ हुन थालिसक्यो,” संगीतकार अर्जुन पोखरेल भन्छन्, “चलचित्रका गीतको मेकिङ अब सामान्य तरिकाले गरेर पुग्दैनन् ।” 

चलचित्रको स्टोरी बोकेका र ब्याकग्राउन्डका निम्ति बनाइएका गीतलाई सिनेमाको फुटेजले काम गरे पनि कोरस राखेर नाच्ने रोमान्टिकमा सम्झौता गरेर नचल्ने उनी बताउँछन् ।

Dabur Nepal
NIC Asia

बजारमा चर्चा र लोकप्रियता तथा भ्युजका हिसाबले पनि चलचित्रका र सिंगल ट्रयाकमा तुलनात्मक रूपमा धेरै फरक नरहेको उनी सुनाउँछन् । टिकटक आएपछि सिंगल ट्रयाक र चलचित्रका गीतमा खासै फरक नरहेको उनको अनुभव छ ।

“टिकटक नआउँदासम्म चलचित्रको हिरोहिरोइनलाई गीतमा नचायो भने गीतको हाइप हुन्थ्यो,” अर्जुन भन्छन्, “अहिले भिडियोमा जसले नाचे पनि, जसले गाए पनि र जोसुकै संगीतकारको संगीत रहे पनि राम्रो छ र टिकटकमा दुई लाइन चल्ने छ भने नयाँको गीत पनि चल्छ ।”

नायिका केकी अधिकारी चलचित्रको प्रचार र इनिसियसल बिजनेसमा गीतले ठूलो भूमिका खेल्ने बताउँछिन् । नेपाली चलचित्रका निम्ति संगीत अभिन्न पाटो भएको उनको भनाइ छ ।

भारत र नेपाललगायत देशमा बनाइने चलचित्रका निम्ति सुरुदेखि नै संगीत अपरिहार्यजस्तै रहेको उनी धारणा व्यक्त गर्छिन् । आर्ट मुभी जहाँ सामान्यतया गीत अटाउँदैनन्, त्यस्ता चलचित्रमा पनि राख्ने गरिएको केकीको भनाइ छ ।

“मास अपिलिङ गीत दर्शकको जिब्रोमै झुन्डिएको हुन्छ, त्यसले कुन सिनेमा हो भन्ने थाहा दिन्छ,” केकी अगाडि थप्छिन्, “चलचित्रको प्रोमोसनको जति पनि क्रियाकलाप हुन्छ, त्यसमा दर्शकलाई इन्गेज गर्न गीतको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

चलचित्रको प्रचारका लागि दर्शकलाई इन्गेज गर्न आफूले पनि ‘बोक्सीको घर’मा ओएसटी भनेर ‘बुझिनँ मैले...’ बोलको गीत राखेको उनी स्मरण गर्छिन् । यो गीतले आफ्नो चलचित्रबारे जानकारी गराउन र सुरुमा दर्शकलाई हलमा ल्याउन सहयोग गरेको उनको बुझाइ छ ।

“यो गीत हाम्रो चलचित्रमा कतै अटाउने थिएन, प्रोमोसनल मात्रै भएकाले ओएसटी भनेर नै राखेका थियौँ,” केकी भन्छिन्, “चलचित्रमा राख्न मिल्दैन थियो, जबरजस्ती राख्यो भने त्यसले कथालाई डिस्टर्ब गर्ने थियो । त्यसैले चलचित्र सकिएपछि मात्र हामीले राखेका थियौँ ।”

ओएसटी र प्रोमोसनल गीतले पनि समग्रतमा चलचित्रको कथा भन्नुपर्ने उनको धारणा छ । प्रोमोसनल गीतले पनि सिनेमाको कथा के हो भनेर दर्शकलाई जानकारी दिनुपर्नेमा उनको जोड छ । 

“गीत हेरेपछि टिजर र ट्रेलरले जस्तै ओएसटीले पनि चलचित्र के विषयमा बनेको हो, के कथा भन्ने हो र किन सिनेमा हेर्ने हो भनेर देखाउन सक्नुपर्छ,” उनी भन्छिन्, “हामीले बोक्सीको घरमा यो प्रयास गरेका थियौँ । अरू कतिले पनि यो प्रयास गरिरहनुभएको छ । तर, धेरैले यसो नगरेको पनि देखिन्छ ।” 

राख्नका निम्ति मात्र राखिने गीतले अन्ततः चलचित्रसँग त्यस्ता ओएसटीले ‘कनेक्ट’ नगर्ने केकीको तर्क छ ।

प्रचारका लागि जति पनि सामग्री बाहिर ल्याइन्छ, त्यसले चलचित्र कुन स्तरको छ भनेर मूल्यांकन गर्ने उनी बताउँछन् । “चलचित्र कस्तो छ, के भन्छ, के भन्दैन – चलचित्रअगाडि आएको सामग्रीले बताउने हो,” केकी अगाडि भन्छिन्, “त्यसैले त्यस्ता सामग्रीको क्वालिटीले चलचित्र कस्तो छ भन्ने जनाउँछ ।”

ओएसटीको शब्द र संगीत, त्यसको भिजुअल कस्तो छ, त्यसकै आधारमा दर्शकले चलचित्र पनि यहीस्तरको हुने मूल्यांकन गर्ने उनी बताउँछिन् ।

ठूलो संख्यामा सिंगल ट्रयाकका गीतको भिडियो निर्देशन गरेका कोरियोग्राफर तथा म्युजिक भिडियो निर्देशक मौसम हिमाली पनि अर्जुनको विचारमा सहमत छन् । मौसम पछिल्लो समय चलचित्रका गीतको भिडियो निर्माणमा लागेका छन् ।

चलचित्र निर्माणपक्षले सधैँ समय नभएको भन्ने गरेको उनी बताउँछन् । चलचित्रको गीतको भिडियो पनि एकैदिनमा सकौँ भन्ने निर्माणपक्षको भनाइ हुने गरेको उनी सुनाउँछन् ।

“सबै उस्तै हुनुहुन्छ भन्ने त होइन, कोही समय लिएर राम्रो काम गरौँ भन्ने पनि हुनुहुन्छ । तर, एकैदिनमा सकौँ भन्नेहरू पनि हुनुहुन्छ,” मौसम भन्छन्, “दुई÷तीन दिनभन्दा धेरै समय दिने गरेको मैले पाएको छैन । जबकि, सिंगल ट्रयाकमा समय दिएर र लिएर काम गर्ने धेरै हुनुहुन्छ ।”

सिंगल ट्रयाकमा लोेकेसन, कस्ट्युम, क्राउड, कोरसमा पनि पछिल्लो समय धेरै ध्यान दिने गरिएको उनी बताउँछन् । “तीन÷चार दिन समय दिएर काठमाडौंबाहिरको लोकेसनमा जानुहुन्छ । कस्ट्युम, कोरस, ड्रेसलगायतमा विशेष ख्याल गर्नुहुन्छ,” मौसम अगाडि थप्छन्, “महँगो पारिश्रमिक लिने कलाकार राख्नुहुन्छ । सिंगल ट्रयाक नै मैले तीन दिनसम्म खिचेको छु ।”

सिंगल ट्रयाकमै १२/१३ लाख रुपैयाँ लगानी गरेर भिडियो बनाउने गरिएको उनी बताउँछन् । विष्णु माझीका गीतका भिडियोमा पनि महँगो खर्च हुने गरेको उनको भनाइ छ । उनी भन्छन्, “उहाँ (विष्णु माझी)को गीतमा कोरस र बजेटमा सम्झौता हुँदैन ।”

सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वरमा रहेको गजलगीत ‘मैसाब’ बनाउन २० लाख रुपैयाँ खर्च गरिएको थियो ।

प्रोमोसनलबाहेक चलचित्रमा थिमअनुसार र आइरहेका सिनेमाका गीतभन्दा फरक काम गर्न समय लाग्ने मौसम बताउँछन् । तर, त्यसकै निम्ति समय कम हुँदा भनेजस्तो काम नहुने उनी गुनासो गर्छन् ।

म्युजिक भिडियो निर्देशक शान थापा सिंगल ट्रयाकभन्दा सिनेमाको गीतको भिडियो मेकिङ स्वभावैले ‘हेवी’ हुनुपर्ने बताउँछन् । तर, कतिपय चलचित्रका गीत निकै कमजोर हुने गरेको उनी टिप्पणी गर्छन् ।

“हुन त बजेटलगायत विभिन्न कारणले कुनै चलचित्रका गीतको भिडियो कमजोर हुन्छन् होला । कुनै म्युजिक भिडियो महँगो बजेटमा बनेका छन् भने सिनेमाको गीतको भिडियोभन्दा राम्रो हुन्छ होला,” शान भन्छन्, “तर, चलचित्रको गीतको भिडियो सिनेमाको कथाको थिमअनुसार पनि हुने भएकाले निश्चय नै राम्रो हुनुपर्छ ।”

पछिल्लो समय म्युजिक भिडियो पनि रेड क्यामेराले नै खिच्न थालिएको छ । त्यसैले राम्रो बजेट भएका म्युजिक भिडियो र चलचित्र गीतको भिडियोमा खासै फरक नदेखिने उनी बताउँछन् ।

“अझ चलचित्रका कलाकारले नै अभिनय गरेको खण्डमा त कुन सिनेमाको गीतको भिडियो हो र कुन सिंगल ट्रयाकको हो भनेर छुट्टयाउनै कठिन हुन्छ,” शान भन्छन् ।

ठूलो पर्दामा सिनेमाको कथा पनि भन्न निर्माण गरिने भएकाले चलचित्रको भिडियो तुलनात्मक रूपमा म्युजिक भिडियोभन्दा उच्च गुणस्तरको हुनुपर्नेमा उनी जोड दिन्छन् ।

पछिल्लो समय एउटै म्युजिक भिडियोमा १० लाख रुपैयाँसम्म खर्च गर्न थालिसकेको उनी सुनाउँछन् । तीन दिनसम्म खिच्न थालेको उनको आफ्नै अनुभव छ । 

कमर्सियल चलचित्र चलाउन गीतको पनि ठूलो भूमिका हुने गरेको उनी बताउँछन् । “कतिपय चलचित्र चलाउन गीतको ठूलो भूमिका हुन्छ । गीतले नै दर्शकलाई हलसम्म डोर्‍याउँछ,” शान भन्छन्, “त्यसैले चलचित्रको गीत पक्कै पनि म्युजिक भिडियोभन्दा राम्रो हुनुपर्छ ।”

पछिल्लो समय चलचित्रका गीत मात्र होइन, कन्टेनबेसका सिनेमाले पनि प्रोमोसनल भन्दै गीत सार्वजनिक गर्दै आएका छन् । चलचित्रको हाइप बढाउन अधिकांश मेकरले गीत र भिडियो सार्वजनिक गर्ने गरेका छन् ।

यही फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले नै दुई प्रोमोसनल सङ सार्वजनिक गरिसकेको छ । एउटा प्रोमोसनल र अर्को ओएसटी भनेर सार्वजनिक गरिएको छ । यसले चलिचित्रको प्रोमोसनका लागि निर्माता र निर्देशक गीतमा पनि भर पर्ने गरेको प्रस्ट हुन्छ ।

बजेट र समयाभावबीच चलचित्रको निर्माण युनिटले प्रोमोसनल सङ बनाउने निमात्री समेत रहेकी केकी बताउँछिन् । त्यसैले सिनेमा रिलिजको केही दिनअगाडि मात्र ओएसटी आउने गरेको उनी सुनाउँछिन् ।

“बजेट पनि करिब–करिब सकिइसकेको, समय पनि नजिक आइसकेको हुन्छ, तर कसरी आमदर्शकसम्म आफ्नो सिनेमाबारे जानकारी दिने भन्ने हुन्छ,” केकी निर्माताको बाध्यता सुनाउँछिन्, “त्यसैले अब कसरी के गर्ने भन्ने अन्तिम अवस्थामा निर्माता रहेका बेला लिमिटेसनमा ओएसटी बन्छन् । यतिभन्दा बढी खर्च गर्न सक्दिनँ भन्ने अवस्थामा प्रोडुसर पुगिसकेका हुन्छन् ।”

बजेटको यकिन योजनाअनुसार काम नहुँदा त्यसको मारमा निर्माता र चपेटामा प्रोमोसनल सङ पर्ने उनको भनाइ छ । “मेरो गीतको ओएसटी हो यो, प्रोमोसनल गीत त यस्तो पो हो हुन्छ भनेर हाई प्रोडक्सन भ्यालुको भिडियो बनाउन सबैलाई मन लाग्छ,” उनी भन्छिन्, “तर, बजेट अभावका कारण खर्च गर्न नसक्ने परिबन्धमा निर्माता परिसकेको हुन्छ ।”

केकी अगाडि थप्छिन्, “यसको मारमा चलचित्रका सबै सदस्य पर्नुहुन्छ । कोरियोग्राफर र निर्देशकलाई पनि हामीले छोटो समय र थोरै बजेटमा राम्रो काम गर्नुस् भन्नुपर्ने हुन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro