site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
त्यो सामन्ती जुत्ता

मलाई बाल्यकालतिर फर्कने मन भयो । उति बेला पञ्चायती राज थियो देशमा । गाउँमा एउटै घर पनि थिएन कंक्रिटले बनेको । बाटाका छेउछाउका घरका भित्ताहरूमा इनामेलले विभिन्न नारा लेखिएका हुन्थे ।

‘सामन्तीको नाइके मुर्दावाद’, ‘सामन्ती व्यवस्था ढाल्छौँ ढाल्छौँ’, ‘वीर शहीद लालसलाम’, ‘पञ्चे चोर देश छोड’, ‘जनताको शासनसत्ता ल्याउँछौँ ल्याउँछौँ’ – यस्तैयस्तैले भित्तो रंगिएको हुन्थ्यो ।

घरअगाडि सानो चौर, चौरको छेउमा वरपिपलका भीमकाय रुख । चौरमा चौपायाहरू निर्बाध चरिरहेका हुन्थे । एक दिन बिहान उठ्नेबित्तिकै अम्खोरा लिएर मुख धुन आँगनीको डिलमा पुगेँ । त्यो वरपिपलको माथि रातो झन्डाजस्तो फरफराइरहेको थियो ।

मलाई अनौठो लाग्यो । त्यहाँ त घरमा कसैले पूजा लगायो भने ध्वजापताका डोरीमा वारपार गर्ने चलन पो थियो । मेरो बालमस्तिष्कमा कौतूहलले घर बनाउन थाल्यो । अझै नियालेर हेरेँ । चारवटा सेता रङका तारा छन् एउटामा, एउटामा हम्मर र खुर्पा जोडिएको देखेँ ।

हजुरबुबा बिहानको सूर्यको आभा ताप्दै पिँढीमा चोया काट्दै हुनुहुन्थ्यो ।

‘हजुर यता आउनु त, त्यो पिपलाबोटमा केके फहरिएको छ ?’ म हजुरबुबालाई हजुर भन्थेँ ।

हँसिया हातमा लिएर हजुर आउनुभयो आँगनको डिलमा । मैले देखाएँ ।

‘यो त सामन्तीहरूको व्यवस्थाविरुद्ध परिवर्तनकारीहरूले विरोध गरेको संकेत हो ।’

मैले केही बुझ्न सकेको भए पो ! फेरि सोधेँ, ‘के व्यवस्था विरोध अनि परिवर्तन हजुर ?’

‘ल सुन्, सबै त तैँले कहाँ बुझ्छस् र अहिले । पछि अलिक पढ्दै गएपछि बुझिन्छ । त्यो चारवटा तारा भएको झन्डा बीपीको पार्टीको हो । अनि, हँसियाहथौडाचाहिँ पुष्पलालको, कमनिस्टहरूको झन्डा । उनीहरू अहिलेका पञ्चायतविरोधी हुन् ।’

मलाई थाहा यति थियो, मेरो पल्लाघरका ठूलाबा प्रधानपञ्च थिए । चुनाउ दुईपटक भएको थियो एक वर्षअगाडि । पञ्चायती घरमा भोट गन्दा आगो लागेर केही घाइते भएपछि लामालामा कटबाँसका भाँटा बोकेका, कम्मरमा पेस्तोल भिरेका र हातमा बन्दुक लिएका धेरै पुलिसहरू तैनाथ गरेर फेरि चुनाउ गराएपछि ठूलाबा प्रधानपञ्च बनेका थिए ।

यतिचाहिँ आँखाले देखेको थिएँ । चुनाउका दिन स्कुल बिदा थियो । ठूलाबाको घडी चिह्न थियो, भित्ताभरि पोतिएको थियो घडी ।

म चिया पिउँदै फलैचामा बसेर गृहकार्य गर्दै थिएँ । मनले त्यो रातो झन्डा, सामन्ती व्यवस्थालगायत अनेकानेक कुरा सोच्दै थियो । हजुर चोया काट्नैमा व्यस्त ।

यस्तैमा गाउँपञ्चायत घरतिर मैले देखेको एक अग्लाअग्ला कदका मान्छे आँगनीमा टुप्लुक्क झुल्किए ।

‘काका, सन्चै !’ हजुरलाई उनले सम्बोधन गरे ।

‘अर्राष्ट्रिय तत्त्वहरूले झन्डा हालेछन्, त्यो निकाल्न सहयोग माग्न आ’को म । खर्च पनि दिऊँला काका ।’

उनका कुरा यति मात्र थिए । अरू धेरै कुरा सुनिनँ । झन् नयाँ कुरा, नयाँ शब्द सुनेँ, ‘अराष्ट्रिय तत्त्व’ । पैसाको आस देखाए पनि हजुरले इन्कार गरिदिनुभयो ।

यसले त मलाई झन् त्यो झन्डाप्रति माया लाग्न थाल्यो । कांग्रेस, कमनिस्ट, अर्राष्ट्रिय तत्त्व यी कुरा मनमा गढेरै बसे ।

हजुरबासँग निराश भएर ऊ फर्कियो । म फेरि डिलमा पुगेँ । केही मान्छे चौरमा जम्मा भएर त्यो झन्डा हेर्दै थिए । कसैलाई ज्याला दिएर ती पिपलका रुखमा फहरिएका झन्डा झिकिए ।

हजुरबासँग मेरो कलिलो मस्तिष्कले सामन्तीको अर्थ खोजिरह्यो । हजुरबाले हामीजस्तै गरिबका दिन ल्याउन यो व्यवस्थाको विरोधमा लागेका मान्छेहरू राम्रा हुन्छन् भन्दै हुनुहुन्थ्यो ।

खै केके, बुझे पो ! तर, नजानिँदो ढंगले ती व्यवस्थाविरोधी मान्छे नचिने पनि तीप्रति माया उब्जियो !

मेरो घरदेखि अलिक पर श्री रयाले आदर्श गाउँपञ्चायतको घर थियो । त्यहाँ नजिकैको खाली फराक ठाउँमा जनजागरण युवा क्लब, फूलचोकी युवा क्लबको नाउँमा बेलुका नाटक मञ्चन हुन्थे ।

त्यहीँ गीतसंगीत पनि सुनाइन्थ्यो । कोहीकोही मेरै गाउँका दाजुहरू थिए । मेरो नजरमा अरू भने अपरिचित नै थिए ।

उनीहरूले गाएका गीतमा पनि सामन्ती शब्दहरू प्रशस्तै थिए । बिजुली नभएकोले मैन्टोल बालेर कार्यक्रम हुन्थे । कुनै बेला त पुलिस र स्थानीय केही गुन्डाजस्ता मान्छेहरूले अवरोध गरेर भागाभाग पनि भएको देखेको छु ।

भोलिपल्ट गाउँ नै आतंकित हुने गरी राता टोपी लगाएका हातमा काला लौरो लिएका पुलिसहरू आउँथे । पुलिस देख्दा सातो जान्थ्यो मेरो । खाना खाने बेला बा र हजुरबाबीच यही विषयले प्रवेश पाउँथ्यो । तर, यस विषयमा मैले खासै खुट्ट्याउन सक्दिनथेँ ।

मेरा पिताजी शिक्षक हुनुहुन्थ्यो । उहाँ स्वाभिमानका धरोहर लाग्छन् मलाई । विचार र व्यवहारबीच अनौठो तादात्म्य राख्ने पिताजी अत्यन्तै सरल । मध्यमवर्गीय परिवार हाम्रो । त्यतिखेर वास्तवमै दैनिकी चुनातीपूर्ण थियो नै । नयाँ लुगा फेर्न दसैँ कुर्नुपर्थ्यो ।

मेरो स्वभाव भने अलिक जिद्दीवाल थियो । भनेपछि भन्यो भन्यो, माग पूरा भएन भने भोक हड्ताल गरिदिन्थेँ ! जहिले’नि बाले आफैँ गएर किनिदिनुहुन्थ्यो चाहिएको सामान ।

यसपटक मलाई पनि बजार लिएर जानुभयो । करिब एक÷सवा घण्टामा हिँडेर पुगिन्थ्यो पनौती बजार । अहिलेजस्तो बाटो कहाँ थियो र, यातायातको पहुँच त छँदै थिएन ।

बाले जहिल्यै तुयुकाजी सरकोमा हो, हामीलाई कपडा किनिदिने । उहाँ पनि शिक्षक नै हुनुहुन्थ्यो हाइस्कुलमा । यसपटक जुत्ता चाहिएको थियो मलाई । जुत्तामोजा नयाँ पाउने आसमा पुलकित थियो मन ।

खुसीले मनका सपाट फाँटहरूमा एक खालको उत्साह भरिएको थियो । ओठमा मधुर मुस्कान फुलिरहेको थियो ।

आहा, कति राम्राराम्रा जुत्ताहरूले पसलका र्‍याक भरिएका ! सुइटर (स्वेटर), जाकेट, पाइन्ट त्यस्तै । ठिंग उभिएर पसलको सबै कुना आँखा डुलाएँ । बचपन न हो, राम्रो लाउने, मिठो खाने सबैमा रहर हुन्छ नै । अभाव होस् या नहोस्, बोझिलो हुन्न बाल्यकाल ।

बाले ‘ल, यो लगाएर हेर त’ भन्दै मेरो तन्द्रा भंग गरिदिनुभयो । यसो हेरेँ, चाइनिज जुत्ता थियो सायद । एक तारा भएको यो जुत्ता अहिलेको कन्भासजस्तै थियो । त्यो जुत्ता मेरो अगाडि राखिदिनुभयो ।

‘बाबु प्रदीप, टुलमा बसेर लगाइहेर ।’ तुयुकाजी सरले टुल देखाउनुभयो ।

मलाई कस्तोकस्तो भएर आयो । अनायासै मेरा उत्साह लल्याकलुलुक भयो । मेरा हात त्यो जुत्ता टिप्न लम्केनन् ।

‘के भो, मन परेन ? कुन लाउने त ?’ बुबाले मेरो मनोदशा बुझेर सोध्नुभयो ।

मैले आफूलाई मन परेको जुत्ता देखाएँ । हाइटेक भियतनाम लेखिएको थियो । बुबाले झिकेर दिनुभयो ।

मैले सुम्सुम्याएँ । तुयुकाजी सर अरू ग्राहकसँग व्यस्त हुनुभयो ।

मैले तुना खुकुलो पारेँ । खुट्टाको चप्पल खोलेर त्यो जुत्ता उने । यसो पसलभित्रै फर्‍याकफुरुक परेर हिँडेँ । मेरो मुखाकृति उज्यालिएको हुनुपर्छ । मलाई एकदम फिट भएको थियो त्यो जुत्ता ।

तर, बुबाको मुखाकृति अँध्यारो भएको ठम्याएँ । तुयुकाजी सर ग्राहक गइसकेपछि मतिर आउनुभयो । मेरो हातमा त्यो जुत्ता देखेर उहाँले खोस्नुभयो र भन्नुभयो, ‘प्रदीप बाबु, यो सामन्तीले लगाउने जुत्ता हो, मास्टरका छोराछोरीले होइन । मैले पनि यही लगाएको छु ।’

सरको खुट्टामा त्यही तारावाला जुत्ता देखियो । सरको कुराले मन खिस्स भो । मेरो उत्साह पानीपानी भयो । निस्सासिएजस्तो अनुभव गरेँ ।

‘यही जुत्ता चाहिन्छ ।’ मुखै फोरेर भनेँ मैले ।

‘हेर बाबु, हामी गरीखानेसँग यो जुत्ता लगाउने हैसियत हुँदैन । कर्मशीलहरूको निम्ति यो जुत्ता बनेको हुँदै होइन । बुबालाई दुःख नदेऊ प्रदीप ।’

सरले हाइटेक जुत्ता र्‍याकमा राखे र अर्को रङको जुत्ता निकाले ।

‘ल, यो दुईमध्ये एक रोज । यो नै हाम्रो निम्ति राम्रो हो । तिमी अहिले सानै छौ, पछि अलिक ठूलो हुँदै गएपछि, कक्षा चढ्दै गएपछि सबै कुरा बुझ्नेछौ ।’

मैले बुबाको मुखाकृति नियालेँ । गह भरिएको जस्तो, अनुहारमा पसिनाका चिटचिटे बुँद देखेजस्तो लाग्यो । हुन्डरी मच्चियो मेरो मनमा । बुबा चुपचाप हुनुहुन्थ्यो । उहाँको थोरै तलबको रकमले धेरै कुराको व्यवस्थापन गर्नु चुनौती नै थियो ।

सायद यही भएर छोराको रहर पूरा गर्न नसकेकोमा बाको मन अशान्त भएको होला ।

‘हेर छोरा, चित्त बुझाऊ । सामन्ती जुत्ता लाउने हाम्रो औकात होइन । हामी शिक्षक हौँ, आफू बलेर अरूलाई उज्यालो छर्ने असल काम हो हाम्रो । त्यसैले हामी उदाहरणीय हुनुपर्छ । हाम्रो कुरा बुझ । धनीमानीको निम्ति बनेको जुत्ता लगाएर के हुन्छ ?’ तुयुकाजी सरले अझै मलाई सम्झाउँदै थिए ।

‘भाइलाई पनि त लानुपर्छ । त्यसैले तिमी जिद्दी नगर । सरले भनेको मान ।’ बा पनि लाचारीभाव प्रकट गर्दै मलाई सम्झाइरहनुभएको थियो ।

त्यो जुत्ताले मलाई लट्ठै पारेको थियो । जुत्तासँग जोडिएर आएको सामन्ती शब्दले मलाई अझै तानेको थियो । मेरो मनले जिज्ञासाको समाधान खोजिरहेको थियो । तथापि, कानमा सामन्ती शब्द गुन्जिरहेको थियो ।

त्यही आवाजले झस्किएँ । बाको मुखाकृति र तुयुकाजी सरको जोडदार सम्झाइले सामन्ती जुत्ता लगाउन लालायित भएको म पछि हटेँ । मानसपटलमा त्यही शब्द घुमिरह्यो ।

अनि, भाइ र मलाई तुयुकाजी सरको सिफारिसमै जुत्ता र मोजा किनेर घर फर्कियौँ । मेरा स्थिर आँखाहरूले भने सामन्ती जुत्ताको फोटो खिच्यो ।

केही वर्षपछि बुझेँ, ती अनेकानेक शब्दहरूको अर्थ । तुयुकाजी सरको भनाइको अन्तर्य । त्यसले आर्थिक रूपमा कमजोरहरूको मनोदशा बोलिरहेको रहेछ ।

अनि यो पनि थाहा पाएँ, त्यो ‘सामन्ती जुत्ता’ एकजोरको पैसाले मैले लिएको जुत्ता झन्डै आधा दर्जनजोर आउने रहेछ !
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro