site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनजीओले ६ महिनामा स्वीकृत गराए १८ अर्बभन्दा बढीका परियोजना 

काठमाडौं । गैरसरकारी संस्था (एनजीओले) पछिल्लो ६ महिनामा नेपालमा १८ अर्ब रुपैयाँभन्दा बढीका परियोजना स्वीकृत गराएका छन् । उनीहरूले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा समाज कल्याण परिषद्‌बाट ती परियोजना स्वीकृत गराएका हुन् ।

“२०८१ साउनदेखि पुस मसान्तसम्ममा एनजीओले एक हजार १६५ परियोजनामा १८ अर्ब ८ करोड रुपैयाँबराबरको बजेट स्वीकृत गराएका छन्,” समाज कल्याण परिषद्को योजना तथा कार्यक्रम विभाग प्रमुख एवं कायममुकायम निर्देशक सञ्जयकुमार मल्लिकले बाह्रखरीसित भने ।

नेपालमा ५८ हजारभन्दा बढी एनजीओ दर्ता छन् । सक्रिय भने १० हजारको हाराहारीमा मात्र रहेका उनले बताए ।

एनजीओहरू स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुन्छन् । वैदेशिक सहायता लिने एनजीओले विदेशबाट ल्याउने रकम र कार्यक्रम परिषद्‌बाट स्वीकृत गराएपछि मात्र सञ्चालन गर्न पाउँछन् ।

परिषद्को तथ्यांकानुसार, पछिल्लो साढे ६ वर्षको अवधिमा नेपालमा विभिन्न परियोजना सञ्चालन गर्न एनजीओहरूले पौने दुई खर्ब रुपैयाँ बजेट स्वीकृत गराएका छन् ।

आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ को पुस मसान्तसम्मको अवधिमा उनीहरूले एक खर्ब ७३ अर्ब ७५ करोड ४७ लाख पाँच हजार ३४२ रुपैयाँबराबरको परियोजना स्वीकृत गराएको परिषद्को तथ्यांक छ ।

नेपालमा एनजीओले आर्थिक वर्ष २०७५/७६ मा १६ अर्ब ६१ करोड ४८ लाख ८५ हजार २२१, २०७६/७७ मा १७ अर्ब ८६ करोड ४३ लाख ८१ हजार ५६२, २०७७/७८ मा १४ अर्ब ६२ करोड ६२ लाख ७१ हजार २६५ रुपैयाँका परियोजना स्वीकृत गराएका थिए ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ३९ अर्ब ८० करोड १९ लाख ३२ हजार २१८, २०७९/८० मा ३१ अर्ब ४९ करोड ८४ लाख २३ हजार ४७९ र २०८०/८१ मा ३५ अर्ब २६ करोड ८८ लाख ११ हजार ५९७ रुपैयाँ एनजीओले नेपालमा खर्च गर्ने गरी परियोजना स्वीकृत गराएका थिए ।

यसै साता गृह मन्त्रालयले एनजीओहरूले नेपालमा गर्दै आएको खर्चको पारदर्शितामाथि प्रश्न उठाउँदै कडाइ गर्ने नीति लिएको छ । गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई त्यहाँ सञ्चालित सबै एनजीओ/आईएनजीओको आर्थिक गतिविधि समेटेर प्रतिवेदन बुझाउन भनेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro