![निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब कांग्रेस रहँदैन : महामन्त्री थापा](https://12khari.top/uploads/posts/Gagan-1739205652.jpg)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन् । सोमबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ सम्म राम्रो काम गरेर जनतामाझ जान सक्नुपर्ने बताए ।
उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्नेकुराको आँट गर्न नसक्ने उल्लेख गरे । त्यसो गरेको खण्डमा कांग्रेस नरहने उनको चेतावनी छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उमेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताए । त्यस्तो हुनसके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताए ।
"०८४ को चुनावमा जाने बेलासम्म राम्रो काम गरौँ । त्यो कामको श्रेय पाउने गरीकन जाने हो । ०८४ को चुनाव यति त लेखेर राख्नुहोला । कुनैबेला म एक्लै थिएँ । ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिह्नमा मत हालौँ भन्नेकुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ त्यो कांग्रेस रहँदैन । हिजो यसको लागि लडेका थियौँ, सकेनौँ । नसकेको हो मैले । अब सिंगो पार्टी आयो । चुनाव अगाडि गठबन्धन गर्नु हुँदैन भन्नेमा त पार्टी आयो आयो । त्यसमाथि पनि अहिले त निर्वाचन आयोगले एउटा प्रस्तावमा छलफल गरिरहेको छ । १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने । त्यसो भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै गर्दैन," उनले भने ।
महामन्त्री थापाले निर्वाचनको बेलामा कांग्रेसको विरुद्धमा जो पनि जोसँग पनि मिल्नसक्ने भन्दै संगठन बलियो बनाउनुपर्ने बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै हावा हुण्डरी आउने जाने भएकाले कोही पनि नडराउन आग्रह गरे ।