![ट्रम्प शैलीलाई नेपालको आँखाबाट हेरौं त के देखिन्छ ?](https://12khari.top/uploads/posts/harisharma-1739089617.jpg)
अमेरिकामा राष्ट्रपतिको निर्वाचनपछि डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको दुई साता भयो । उनी निर्वाचित भएको चार महिना भए पनि सत्ता सम्हालेको धेरै दिन भएको छैन । डोनाल्ड ट्रम्प पहिलोपल्ट राष्ट्रपति भएका होइनन् । जो बाइडेनभन्दा पनि पहिला ट्रम्पले एक कार्यकाल राष्ट्रपतिको कार्यभार सम्हालिसकेका हुन् ।
तर यसपालि उनको कार्यकाल धेरैले ‘अनपेक्षित’ भन्छन् । तर म अपेक्षित रुपमा, अझ संठगितरूपमा भएको देख्छु । उनको शैली र निर्णयले तत्कालको समय देखाइरहेको छ । हामी कस्तो किसिमको समयमा बाँचिरहेका छौँ भने तत्कालको समयमा बाँचिरहेका छौँ । तत्कालको समय भनेको के हो भने हालको समय गुजार्नु वा बाँच्नु हो ।
ट्रम्पलाई यतिखेरसम्म हेर्दा ‘ट्रान्जेसनल’ देखिन्छ । त्यो भनेको के हो भने कुनै पनि कुरा वा विषयलाई आफू अनुकूल बनाउन खोज्ने भन्ने बुझिन्छ ।
यसमा आफूलाई कति फाइदा हुन्छ भनी पनि हेरिन्छ । राजनीतिको दीर्घकालीन फाइदाहरु नहेरी तत्कालको फाइदा हेरिन्छ । यतिखेर ‘ट्रम्प शैली’को त्यही हो ।
डोनाल्ड ट्रम्पले क्यानडाको विषयमा जुन किसिमको अभिव्यक्ति दिए, अनि त्यसलाई पुनः पुष्टि गर्ने जुन काम गरे त्यसले विश्वका ठूला राष्ट्रसँगै रहेका साना राष्ट्रहरूलाई झस्काउने काम गरेको देखिन्छ ।
‘क्यानडालाई हामीले किन ‘सब्सिडाइज’ गर्नुपर्यो ?’ भन्ने प्रश्नसहित उनको अभिव्यक्ति आयो, ‘त्यसरी सँधै गरिराख्नुभन्दा क्यानडा हाम्रै मुलुकमा गाभिनु वा अमेरिकाको कुनै राज्य हुँदा अमेरिका र क्यानडा दुवैलाई फाइदा हुन्छ ।’
यसो भन्नुको मतलब अमेरिकासँग जसरी क्यानडा निर्भर थियो, अर्थात् अमेरिकासँग क्यानडाको जुन प्रकारको व्यापार घाटा थियो, त्यसलाई इंगित गर्दै भनेको देखिन्छ । त्यो ‘ट्रान्जेसनल’ अवस्था थियो । यदि क्यानडा अमेरिकाकै भरमा बस्ने हो भने त्यसलाई हामीले ‘एड’मा किन राखिराख्नुपर्ने ? भन्ने ट्रम्पको भनाइ देखिन्छ ।
त्यसलाई हामीले नेपालको आँखाबाट हेरौँ त । हाम्रो चीन र भारतसँग धेरै व्यापार–घाटा छ । विकास आयोजनामा उनीहरुका लगानी छन्, यहाँसम्म छ कि वैदेशिक अनुदानमा सरकारी कर्मचारीले तलब लिनुपर्ने अवस्था छ ।
अरु देशले पनि हामीले नेपाललाई किन सहयोग गर्ने ? नेपालबाट हामी के पाउछौँ भन्ने प्रश्न उठाउन थाले भने दोस्रो विश्वयुद्धपछि बनेको संरचना खल्बलिने देखिन्छ । हुन त, ९० को दशकदेखि नै आर्थिक अनुदान होइन व्यापार महत्वपूर्ण हो भन्ने धार त बढेकै हो ।
नेपालमा पनि हामीले प्रधानमन्त्री या अर्थमन्त्री पहिला–पहिला विदेश जाँदा कति अनुदान आयो भनेर हेर्थ्यौँ, तर अब अवस्था फेरिएको छ । हामीले कति लगानी आयो ? भनेर हेर्छौँ ।
ट्रम्पको उदय बुझ्न अबको संसारमा व्यापारिक लगानी महत्वपूर्ण हुनेछ, न कि अनुदान । नेपालजस्तो मुलुकले बुझ्नुपर्ने के हो भने अब विश्वको ‘डिस्कोर्स’ परिवर्तन हुँदै गइरहेको छ । यूएसएड पनि बन्द भएको छ ।
यूएसएडले हामीलाई अनुदानका रुपमा सहयोग दिन्थ्यो, त्यो पनि विस्तारै कम हुँदै थियो । अब हामीले लगानी कति आउँछ भनी हेर्न थालेका छौँ । एउटा व्यापारी राष्ट्रपति हुनुको अर्थ के हो भने वैदेशिक सहायता वा अनुदान होइन लगानी र व्यापार महत्वपूर्ण छ भन्ने इंगित गर्छ ।
ट्रम्पको यो विचार नयाँ हो कि के हो त ? भन्ने प्रश्न पनि उठ्छ । यो पुरानै विचार र सम्बन्ध हो । जब ब्रिटिश भारतमा आयो, तिनीहरु त्यतिबेला व्यापार गर्नकै लागि आएका थिए ।
मैले भनेको जति सामान किनबेच नगरे कर लगाउँछु, कर तिर्न नसके जग्गा लिन्छु भन्ने शैली नै त अपनाएको हो । ट्रम्पले १९औँ शताब्दी या १८औँ शताब्दीको अन्त्यतिरको इस्ट इन्डिया कम्पनीको ‘टेम्परामेन्ट’मा काम गर्न खोज्दै छन् ।
अमेरिकामा ‘ह्यामिल्टन भन्ने अर्थमन्त्री थिए उनको पनि त्यही ‘टेम्परामेन्ट’ थियो । हरेक सम्बन्ध व्यापारको हुन्छ भन्ने थियो ।
इस्ट इन्डिया कम्पनी पनि भारतमा विकास गर्छु र समृद्धिमा सहयोग गर्छु भनी आएकै होइन व्यापार गर्न आएको हो । व्यापारमा कुरा नमिलेपछि त्यहाँका राजा रजौटा सबैलाई किन्दै किन्दै अघि बढेको हो ।
नेपालीहरूले शासकीय वृत्तले मानेनन् । किनभने हाम्रो व्यापार उनीहरुसँग थिएन । त्यसकारण हामी ऊसँग युद्ध लड्नुपर्यो । हाम्रो ऊसँग व्यापार भएको भए त्यसैबाट हामीलाई कस्दै लैजान सक्थे । उनीहरु त्यसपछि यहाँभित्र पस्ने वातावरण बनाउँथे ।
त्यसैले ट्रम्प १९औँ शताब्दीका विश्व व्यापारीजस्ता देखिन्छन् । यदि तिमीहरुसँग व्यापार हुँदैन भने त्यहाँ अमेरिकाले आँखा लगाउँछ भन्ने स्वभाव पनि देखिन्छ, जस्तो– ग्रीनल्यान्डलाई लिन सकिन्छ ।
गएको ७० वर्षदेखि अर्थात् यूएन सिस्टम आएपछि कसैले पनि ‘तेरो देशको उपादेयता छैन, मैले लिन्छु’ भनेको सुनेकै थिएनौँ ।
अर्को उदाहरण हो– पनामा नहर । अमेरिकनहरुले बनाएका हुन् । पनामाले त्यो स्वतन्त्र रूपले चलाउन लागेको थियो ।
यसले नेपाललाई पनि ठूला विकास आयोजना कसको सहयोगमा कसरी बनाउने भन्ने पनि निकै सोचेर मात्रै अघि बढ्नुपर्ने अवस्था बनाइदिएको छ ।
केही समय पहिले नेपालको भद्रपुर विमानस्थललाई कुनै प्रकारको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने, भारतले त्यसलाई कुनै रुपमा प्रयोगमा ल्याउने भन्ने ‘उडन्ते’ भए पनि खबर आएको थियो ।
त्यो ठाउँ ‘चिकन नेक’का कारण भारतले आफ्ना लागि निकै महत्वपूर्ण मानेको छ, कालापानीको कुरा पनि त्यही किसिमबाट आएको छ ।
जमिनप्रतिको कब्जा, व्यापार र वर्चश्व नयाँ विषय होइन । बलशाली राष्ट्रहरूले त्यस्तो गर्न सक्छन् । हाम्रा लागि बडो चुनौतीको विषय त्यो पनि छ ।
अर्को कुरा नेपाल जब २००७ सालको परिवर्तनबाट बाहिर निस्कँदै थियो । भारत पनि इस्ट इन्डिया कम्पनीबाट बाहिर निस्किँदै थियो, त्यो बेलाको सबैभन्दा शक्तिशाली राष्ट्रको हैसियतमा अमेरिका हामीकहाँ आएको हो ।
बेलायतीहरुले छाड्ने बेलामा अमेरिका दक्षिण एसियामा आएको हो । दोस्रो विश्वयुद्धपछि उपनिवेशहरू कम भएको थियो त्यसपछि ऊ आएको थियो ।
हाम्रो विकास, प्रशासन र शिक्षामा ठूलो लगानी र संलग्नता रहँदै आएको छ, अमेरिकीको ।
हुन त, हामीले धेरै दाताका हकमा धेरै विविधीकरण पनि गरिसकेका छौँ । सुरुमा संस्था निर्माण गर्ने बेलामा बनेका अभ्यासहरुको प्रभाव रहिरहन सक्छ । जस्तो नेपालको कृषि क्षेत्रमा अमेरिकनको ठूलो प्रभाव थियो । रामपुर क्याम्पस, वन क्याम्पसलाई लिन सकिन्छ ।
नयाँ शिक्षा योजना भनेर २०२८ सालमा आउँदा पनि अमेरिकनको सहयोग देखिन्छ । मार्टिन चौतारीका प्रत्युस वन्तले निकालेको ‘लङ फिफ्टिज्’ भन्ने पुस्तकमा पनि हेर्ने हो भने विभिन्न कामहरुमा अमेरिकनहरुको प्रभाव देखिन्छ ।
अमेरिकनहरुको प्रभाव दक्षिण एसियमा शीतयुद्धको समयमा पनि बढेर गयो । अब शीतयुद्धको अवस्था छैन । अब चीनको उदयलाई अमेरिकाले कसरी हेर्छ त्यसले पनि हामीप्रति हेर्ने धारणा तय हुन सक्छ ।
कुनै पनि व्यवस्था र भइरहेको परिस्थिति खलबलिँदा नयाँ परिस्थिति बन्न समय लाग्छ । त्यसले अब आउने समय अझै अनिश्चितताको समय हुन्छ भन्ने लाग्छ मलाई ।
चीनको उदयमा अमेरिकाको भूमिका, बंगलादेश त्यसै पनि खलबलिएको अवस्थामा छ । बंगलादेशको अहिलेको अवस्थामा भारतीय मिडियाहरूले नै अमेरिका र युरोपियनको हात छ भनेर लेखेका छन् । पाकिस्तान, श्रीलंकामा त्यसै पनि समस्या छन् ।
अमेरिकाको आत्मकेन्द्रित नीतिले कस्तो प्रकारको प्रभाव हामीकहाँ पार्छ भनेर अनुमानमात्रै गर्न सकिन्छ । नेपालजस्तो सानो मुलुकको धेरै राष्ट्रहरूसँगको सम्बन्धका कारणले पनि सन्तुलन ल्याएको हुन्छ ।
तर अमेरिकाजस्ता विशाल राष्ट्रले यहाँ ‘इन्ट्रेस्ट लुज’ गर्दै गयो भने हामी कसको पोल्टामा जान्छौँ त भन्दा कि उत्तर कि दक्षिण । त्यसैले भारतले अमेरिकातर्फ आफ्ना पाइला अघि बढाउने प्रयास गर्दैछ । त्यसैले हामीले अलिकति बुझेर, सोचेरमात्रै कुनै निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ ।
अमेरिकी प्रभाव दूरगामी छ । यसको प्रभाव कहाँ कति पर्न सक्छ भनेर हेर्नैपर्ने हुन्छ । जस्तो यूएसएड बन्द हुँदा त्यसको प्रभाव कहाँ कसरी पर्यो आउनै बाँकी छ । वस्तुगत रुपमा अझै आउन बाँकी छ ।
(अध्येता शर्मासँग बाह्रखरीले गरेको कुराकानीमा आधारित)