site stats
बाह्रखरी :: Baahrakhari
विदेश
यूएसएआईडीमा कार्यरत कर्मचारीलाई अमेरिका फर्किन आदेश, बाँकीलाई शुक्रबारदेखि बिदा

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले विश्वभर रहेका आफ्ना कार्यलयमा कार्यरत अमेरिकी नागरिकलाई अमेरिका फर्किन आदेश दिएको छ ।

यूएसएआईडीले एक सूचना जारी गर्दै आवश्यक थोरै संख्यामा कर्मचारीलाई कार्यालमा राखिने र बाँकीलाई फर्किन आदेश दिएको हो । यस्तै, बाँकी करारका कर्मचारीलाई शुक्रबार रातिबाट विदामा राखिने यूएसएआईडीले जनाएको छ ।

“शुक्रबार, फेब्रुअरी ७, २०२५, राति ११ः५९ बजे मिसन–महत्त्वपूर्ण कार्यहरू, कोर नेतृत्व र विशेषरूपमा निर्दिष्ट कार्यक्रमहरूको जिम्मेवारी पाएका निश्चित कर्मचारीबाहेक सबै विश्वमा यूएसएआईडीले प्रत्यक्ष नियुक्त गरेका कर्मचारीहरूलाई प्रशासनिक बिदामा राखिनेछ । काम गरिरहने अपेक्षा गरिएका आवश्यक कर्मचारीहरूलाई एजेन्सी नेतृत्वले बिहीबार, फेब्रुअरी ६, दिउँसो ३ बजे सम्ममा सूचीत गर्नेछ,” यूएसएआईडीद्वारा जारी सूचनामा भनिएको छ । 

Argakhachi Cement Island Ad

अमेरिका बाहिर नियुक्त भएका कर्मचारीहरूका लागि यूएसएआईडीले मिसनहरू र विदेश मन्त्रालयको समन्वयमा आवश्यकता र कानुनअनुसार योजना तयार गरिरहेको सूचनामा उल्लेख छ । 

जसअनुसार, यूएसएआईडीले ३० दिनभित्र अमेरिका फर्किने यात्रा व्यवस्था गर्ने र आवश्यक नभएका पीएससी र आईएससीको करार समाप्त गर्ने जनाइएको छ । 

यूएसएआईडीले व्यक्तिगत वा पारिवारिक कठिनाइ, सुरक्षा चासो वा अन्य कारणहरूको आधारमा फर्कने समयलाई विचार गर्ने जनाइएको छ । उदाहरणका लागि आश्रितहरूको स्कूल अवधि, व्यक्तिगत वा पारिवारिक चिकित्सा आवश्यकताहरू, गर्भावस्थालार्य विचार गरिनेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरवलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी गरिएको हो । 

यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको प्रशासनमा स्थापित भएको थियो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिकरूपमा अर्बौं डलर वितरण गर्छ ।

अमेरिकाबाट प्रकाशित हुने अखबार ‘वासिङ्टन पोस्ट’को एक रिपोर्ट अनुसार, सन् २०२३ मा यूएसएआईडीले विश्वका १०० भन्दा बढी देशमा ४० अर्ब अमेरिकी डलर (करिब ५५ खर्ब ३७ अर्ब रुपैयाँ) खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयहरूमा १० हजारभन्दा बढी मानिस कार्यरत रहेको जनाइएको छ । 

USAID-1738741063.jpg
 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्