काठमाडौं । युक्रेनी सेनामा भर्ती भएका २० अमेरिकी बेपत्ता भएका छन् । युक्रेनी सेनामा भर्ती भएका अमेरिकी नागरिकको मृत्यु हुने संख्या पनि निरन्तर बढिरहेको छ ।
विगत ६ महिनामा रूस–युक्रेन युद्धमा युक्रेनका तर्फबाट लडिरहेका पाँच अमेरिकी नागरिकको शव अझै पनि युद्ध मैदानमै रहेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।
बेपत्ता अमेरिकीहरूका आफन्तहरूले शव गाड्न नपाउँदा आधिकारिक रूपमा मृत घोषणा गर्न कानुनी अड्चन भएको गुनासो गरिरहेका छन् ।
सन् २०२४ को सेप्टेम्बर महिनाको अन्तमा पूर्वी युक्रेनको पोक्रोभस्कमा दुईजना अमेरिकीको मृत्यु भएको थियो । उनीहरूका आफन्तका अनुसार हालसम्म दुवैजनाको शव फेला परेको छैन ।
मृत्यु हुनेमा पूर्वअमेरिकी सैनिक जाचरी फोर्ड र ‘गुन्थर’ नाम गरेका व्यक्ति थिए । उनीहरूको साथमा रहेकाहरूले बताएअनुसार उनीहरू रुसी ड्रोन आक्रमणमा मारिएका थिए । यसैगरी पूर्वअमेरिकी जलसेना कोरी नारोकिको पनि अक्टोबर महिनामा मृत्यु भएको थियो ।
युद्ध मोर्चामा मारिएकाहरूको शव फिर्ता ल्याउन मुस्किल हुने युक्रेनी भनाइ छ । कतिपय अवस्थामा मृतक युक्रेनी सैनिकको शव पनि रूसी नियन्त्रणमा हुन्छ । यस्तो अवस्थामा शव फिर्ता ल्याउन झन् मुस्किल हुन्छ ।
युक्रेनको राजधानी किभमा बसेर युक्रेनी सेनाका तर्फबाट लडेर मृत्यु हुनेहरूको पहिचान गर्ने कार्यक्रमा सामले लरेन गुईलाउमेका अनुसार हालम्म रुसी आक्रमणमा कतिजना अमेरिकाको मृत्यु भयो भन्ने एकिन तथ्यांक छैन । विदेशी सैनिकहरूलाई युद्धको अग्रपंक्तिमा खटाउँदा मृत्यु हुने संख्या बढिरहेको लरेनको भनाइ छ ।