काठमाडौं । नबिल बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले सिद्धान्तमा आधारित भएर बैंकहरूले उत्पादन क्षेत्रमा दिने कर्जाको ब्याजदर र व्यापार क्षेत्रमा दिने ब्याजदर छुट्टाछुट्टै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेसले केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन’को प्यानल डिस्कसनमा उनले यस्तो बताएका हुन् ।
प्यानलिस्टमा सहभागी गोल्डस्टार सुजकी कार्यकारी निर्देशक विदुषी राणाले व्यापार क्षेत्र र उत्पादन क्षेत्रलाई बैंकहरूले फरक ब्याजदर तोक्नुपर्ने बताएकी थिइन् । राणाको कुरामा सहमति जनाउँदै बैंकर ज्ञवालीले सिद्धान्ततः यी दुई क्षेत्रलाई फरक–फरक ब्याजदर हुनुपर्ने बताएका हुन् ।
“उत्पादन गर्ने कम्पनीलाई बैंकले कम ब्याजदरमा कर्जा दिनुपर्ने भन्ने विदुषीजीको कुरामा म प्रिन्सिपल्ली एग्री (सैद्धान्तिक सहमति) गर्छु,” ज्ञवालीले भने ।
तर, हिजो सहज भएको अवस्थामा बैंकर र व्यवसायीले बदमासी गरेको उनले स्वीकार गरे । “हिजो १०–१२ वर्षमा हामी बैंकर र व्यवसायीले यति बदमासी गर्यौं कि त्यसको मनिटर गरेनौँ,” उनले भने, “हिजो बैंकहरूले बदमासी गरेकै हो । म बदमासी बैंकले गरेको हैन भन्दै भन्दिनँ । वास्तवमा तीन–चार वर्षपहिले बैंकरले गल्ती गरेकै हो, जथाभावी ब्याज बढाएकै हो । ब्याजदर बढाएको एसएमएस पठाएर पनि बदमासी गरेकै हो ।”
तर, राष्ट्र बैंकले धेरै बैंकबाट जथाभावी बढाएको ब्याज फिर्ता गराएको उनको भनाइ छ । अहिले भने त्यो अवस्था दोहोरिने अवस्था नरहेको उनी बताउँछन् । अहिलेको अवस्था हेरेर बैंकहरूले अब त्यस्तो गर्न हुँदैन भन्ने कुरा बुझेको उनले बताए ।
बैंकहरूले जथाभावी सेयर, गाडी, ट्रेडिङ तथा अनुत्पादन क्षेत्रमा कर्जा दिँदा पनि समस्या उत्पन्न भएको उनी बताउँछन् । “जथाभावी कर्जा दिएकै कारण क्रेडिट टु जीडीपी रेसियो ४६ प्रतिशतबाट ९६ प्रतिशत पुग्यो । त्यसले रोजगारी पनि सिर्जना गरेन,” ज्ञवालीले भने, “त्यसले आयातलाई पनि विस्थापन गरेन, त्यसले निर्यातलाई पनि बढावा गरेन । त्यो कुराबाट सिकेर बैंकर र व्यवसायी अब एक ठाउँमा आउनुपर्छ । पोलिटिक्सले पनि त्यसलाई सपोर्ट गरेर गयो भने धेरै आत्तिनुपर्ने अवस्था छैन ।”
बैंकको ब्याजदर घट्दा तथा बढ्दा धेरै व्यवसायीलाई ठूलो असर पर्ने पनि उनले बताए । तर, अहिले ब्याजदर एकल अंकमा आउँदा पनि डिमान्ड नभएको उनी बताउँछन् । अहिले नबिल बैंकमा कर्जा माग गर्न आउनेलाई साढे ७ प्रतिशतमा कर्जा दिने उनले बताए । “मैले त्यहीबेलामा पनि भनेको थिएँ– इकोनोमीमा डिमान्ड घटिसकेको छ । अहिले मोटर साइकल र स्कुटरको सेल्स ४५ प्रतिशतले यर टु यर घटिरहेको छ,” उनले भने, “यसको मतलब हाम्रो युथ पपुलेसन माइग्रेसन भएर गइरहेको छ । पोलिटिक्सले पनि मान्छेमा आशा जगाउनुपर्यो । त्यो नभएको कारणले गर्दा डिमान्ड साइट स्विङ भएका कारणले व्यवसायी समस्यामा छन् ।”
ब्याजदर भनेको घटबढ हुने भन्दै अहिलेका उद्यमी व्यवसायीलाई ८ प्रतिशतको हाराहारीमा सबै बैंकले ब्याजदरमा कर्जा दिने उनले बताए । तर, यही दर न्यूनतम हो भनेर आकलन गरेर व्यवसायी आए बैंकले दुईटै विकल्प दिने उनले बताए । “एउटा फ्ल्क्चुएटिङ इन्ट्रेस्ट्रेट (चालु) र अर्काे फिक्स (स्थिर) इन्ट्रेस्ट्रेट बैंकले अप्सन दिन्छ । मलाई ब्याजदर घटबढसँग मतलब छैन, म ८ प्रतिशत नै जिन्दगीभरि तिर्छु भन्नुहुन्छ, फिक्स इन्ट्रेस्ट चाहियो भन्नुभयो भने बैंकले दिनुपर्छ,” ज्ञवालीले भने, “बैंकले साढे ७ देखि ८ प्रतिशतको फिक्स रेटमा ब्याज आज पनि दिन्छ । ब्याजदर अझै घट्छ भन्ने लाग्छ भने फेग्जिबल रेट हुन्छ, त्यसमा बेसरेट भन्छ बैंकले वेबसाइटमा पब्लिस गरेको हुन्छ, त्यसमा १, २ प्रतिशत प्रिमियम जति हो, त्यो प्रिमियम यथास्थितिमै रहन्छ ।” आधार दर (बेसरेट) घट्दै गयो भने ब्याजदर घट्दै जाने र बढ्दै गयो भने बढ्दै जाने उनले बताए ।
राणाले व्यापार गर्ने र उत्पादन गर्ने कम्पनीलाई फरक ब्याजदर नहुँदा पनि समस्या परेको बताएकी थिइन् । “बैंकको इन्ट्रेस्ट रेट ट्रेडिङ र मेनुफ्याक्चरिङलाईको बैंक ब्याजदर फरक हुनुपर्यो । किन भने ट्रेडिङ भनेको बाहिरबाट सामान ल्यायो । एक महिनामा एलसी खोलेर सामान बेचेर त्यो पैसा तिर्दा हुन्छ,” उनले भनिन्, “मेनुफ्याक्चरिङ भनेको सामान ल्याएर विभिन्न चरण पार गरेर तयार गर्नुपर्छ । उत्पादनमा वर्किङ क्यापिटलको साइकल नै ६ महिनाको हुन्छ । हामीलाई ट्रेडिङजस्तै गरेर इन्ट्रेस्ट दिन भएन ।”
जुत्ताको केसमा उत्पादन गरेर बजार पठाउन तीन महिना लाग्ने राणा बताउँछिन् । त्यो जुत्ता बजारमा गएर त्यसको पैसा बैंकलाई दिँदा ६ महिना लाग्ने उनले बताइन् । उत्पादनमूलक उद्योगले रोजगारी सिर्जना गरेको भन्दै यस्ता उद्योगलाई बैंकहरूले सहुलियत दिनुपर्ने उनको भनाइ छ ।