
(अंग्रेजी नयाँ वर्षको सुरुसँगै भारतमा आयोजित खो–खो विश्वकपको पहिलो संस्करणमा नेपालका महिला र पुरुष दुवै टिमले फाइनल यात्रा तय गरे । कुनै पनि खेलकुदमा नेपालले विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको यो पहिलोपल्ट हो । फाइनलमा नेपालका दुवै टिम आयोजक भारतसँग निराश बने । नेपालमा खो–खो त्यसअघिसम्म छायामा थियो । विश्वकपको नतिजापछि भने यो चौतर्फी चर्चाको विषय बनेको छ। नेपाल खो–खो संघका महासचिवशंकर महर्जनसँगविश्वकप र खो–खोका विविध विषयमा केन्द्रित रहेरबाह्रखरीकाआशिष पुडासैनीले गरेको कुराकानीको संवादित अंश ।)
खो–खो विश्वकपमा यो नजिता आशाअनुरूपको थियो कि अनपेक्षित ?
नेपालका दुवै टिमको यो नजिता आशाअनुसारकै हो । हामीले एसियन च्याम्पियनसिप, साफ गेम हुँदै विश्वकप खेलेका हौँ । यसअघि सहभागिता जनाएका प्रतियोगितामा नेपाली टिम दोस्रो–तेस्रोमा आउँथ्यो । १३औँ साग गेम्समा हामीले दोस्रो स्थान हासिल गर्न सक्यौँ । विश्वकपमा पनि त्यही नतिजा दोहोर्याउन सक्यौँ । यो हाम्रो लागि खुसीको कुरा हो ।
नेपालका महिला–पुरुष दुवै टिम फाइनलमा पुग्दा उपाधि जित्न सकिने आत्मविश्वास कति थियो ?
हामीले विश्वकपअघि त्रिदिवसीय टेस्ट म्याच गराएका थियौँ । उक्त खेल आयोजना गर्नुको उद्देश्य भारतसँग हामी कत्तिको प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने हेर्नु थियो । हाम्रा खेलाडीहरूले कठिन मिहिनेत पनि गरेका हुन् । विश्वकपमा गएपछि लक्ष्य भनेको पहिलो हुने नै हुन्छ । हामीले पहिलो हुन मिहिनेत गर्दागर्दै पनि दोस्रो भयौँ । दोस्रो हुनु पनि खराब नतिजा होइन ।
पहिलो संस्करणमै फाइनलसम्मको यात्रा तय गर्नु ठूलो उपलब्धि हो, अबका प्रतियोगितामा उपाधि जित्न संघले कस्तो तयारी गर्नेछ ?
अब खो–खोको आगामी योजना विश्वकप च्याम्पियन कसरी बन्न सकिन्छ भन्ने कुरामा हुन्छ । तर, सबै कुरा आर्थिक पाटोसँग जोडिन्छ । प्रशिक्षण गर्न हामीसँग पर्याप्त स्थान पनि छैन । खो–खोका निम्ति भनेर कीर्तिपुरमा एउटा प्रशिक्षण केन्द्र छ, हामीले विश्वकपअघि त्यहीँ प्रशिक्षण गरेका थियौँ । हामीले मिहिनेत गर्ने हो भने नेपाल प्रथम हुन नसक्ने टिम हैन ।
विश्वकपको नतिजापछि राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
खेलकुद परिषद्सँग हामीले समय–समयमा छलफल गरिराखेका हुन्छौँ । उहाँहरूले खो–खोलाई सहयोग पनि गरिरहनुभएको छ । विश्वकपको नतिजापछि पनि उहाँहरूले केही गर्नुपर्छ भन्ने आश्वासन दिनुभएको छ । मलाई लाग्छ, सबैजना सकारात्मक नै हुनुहुन्छ ।
खो–खो संघ स्थापना भएको तीन दशक पुग्यो, तर यो देशभर व्यावसायिक रूपमा फैलन सकेको छैन । यो खेलपछि पर्नुको कारण के देख्नुहुन्छ ?
खो–खो त्यति धेरै प्रचार भएको खेल होइन । राज्यबाट पनि चासोमा परेको खेल होइन यो । यिनै कारणले गर्दा नेपालमा खो–खो पछि परेको संघको ठम्याइ छ । नत्र खो–खो नेपालमा यति धेरै पछि पर्नुपर्ने खेल थिएन ।
खो–खोलाई लगानीबिनै नतिजा दिने खेल भनेर चर्चा गरिएको छ, यसबारे के भन्नुहुन्छ ?
खो–खो अरू खेलजस्तो धेरै इक्युपमेन्ट आवश्यक पर्ने खेल हैन । दुईवटा पोल र अलिकति चुना भयो भने खेल्न सकिन्छ । अरू खेलको जस्तो धेरै सामग्री नचाहिने हुँदा यसमा केही थोरै लगानी मात्रै पनि पर्याप्त हुनु स्वाभाविक कुरा नै हो ।
विश्वकपअघि नेपाली टिमको प्रशिक्षण समय कस्तो थियो ?
विश्वकपका निम्ति भारत जानुअघि हामीले सबै प्रदेशका खेलाडीहरू बोलाएर राष्ट्रिय टिमको छनोट गरेका थियौँ । खेलाडी छनोटपछि हामीले भारतसँग टेस्ट म्याच खेल्यौँ । त्यसपछि हामी विश्वकपका निम्ति गएका हौँ ।
नेपाली टिम भारत जाँदा तपाईं पनि सँगै हुनुहुन्थ्यो, खेलाडीमा खो–खोमै केही गर्न सक्छौँ भन्ने विश्वास कत्तिको देख्नुभयो ?
खेलाडीमा खो–खोमै केही गर्नुपर्छ भन्ने नभएको भए यसको इतिहास कायम रहँदैन थियो होला । खो–खोबाटै केही गर्न सकिन्छ भन्ने भावना खेलाडीहरूमा भएकै कारण नेपालमा आज खो–खो खेल यहाँसम्म आएको हो । विश्वकपको नतिजा पनि खेलाडीहरूमा भएको त्यही भावनाबाट आएको हो ।
विश्वकपमा सहभागी हुनुअघिसम्म प्रतियोगिताबारे टिममा कस्तो धारणा थियो ?
फाइनल पुग्छौँ भन्नेमा हामी विश्वस्त थियौँ । तर, कसरी पहिलो हुने भन्ने मुख्य चुनौती थियो ।
नेपालले खो–खो विश्वकप आयोजना गर्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
योजनाबद्ध ढंगबाट अघि बढे नेपालमा खो–खो विश्वकप आयोजना गर्न सम्भव छ । हामी अहिले पहिलो संस्करणबाट अघि बढ्दै छौँ । निकट भविष्यमा त्यो दिनसम्म पनि पुग्न सकिन्छ भन्ने मलाई लाग्छ ।
नेपाल विश्वकपको उपविजेता बने पनि आयोजकबाट नगद पुरस्कार पाएको छैन, पाउँछ कि पाउँदैन ?
यो सबै कुरा गुमराहमा राखिरहेका छन् । नगद पुरस्कार छैन पनि भनेका छैनन्, नगद पुरस्कार यति दिन्छौँ पनि भनेका छैनन् । हामीले आयोजकलाई प्रतियोगिता आयोजना गरेपछि खेलाडीहरूलाई प्रोत्साहन गर्न भने पनि नगद पुरस्कार हुनुपर्छ भनेका छौँ । हुन्छ जस्तो कुरा गर्छन् । अब कसरी आउँछ, त्यो हेर्न बाँकी नै छ ।
नेपाली खो–खो समर्थकलाई संघका तर्फबाट तपाईं के भन्न चाहनुहुन्छ ?
उहाँहरू सम्पूर्णलाई धन्यवाद दिनैपर्छ । किनभने, थाहै नभएको खेल विश्वकपमा हामी पुग्दा जुन माहोल आयो, हेर्ने दर्शकहरूले नेपाली खो–खोमा जुन आकर्षण थपे, त्यो हाम्रा लागि गौरवको कुरा हो ।
नेपालमा खो–खोबारे छुटाउनै नहुने केही छ ?
खो–खोलाई बचाउन र त्यसलाई विस्तार गर्ने व्यक्तिहरूको नाम पनि लिनुपर्छ जस्तो लाग्छ मलाई । सर्वप्रथम प्रा. डा. रामकृष्ण महर्जन, दोर्जे शेर्पा, त्यसपछि श्रीप्रसाद साहज्यू हुनुहुन्छ भने हालका अध्यक्ष प्रदीप महर्जनको नाम लिनैपर्छ । उहाँहरूले खो–खोलाई जोगाउन त्यति तदारुकता नदेखाएको भए आज हामी यहाँसम्म आइपुग्ने थिएनौँ । नेपालमा खो–खो खेललाई कीर्तिपुरले बचाएको भन्छु म । किनभने, रामकृष्ण महर्जन कीर्तिपुरकै हुनुहुन्छ । उहाँले २०५२ सालमा संघ दर्ता गराएपछि खेलाडीहरू उत्पादन गरेर यो खेललाई अघि बढाउनुभएको हो । अब हामीले लुम्बिनी र मधेसमा खो–खोको राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै छौँ । देशभर खो–खोको माहोल बनिरहेको छ । यसबाट हामी निकै खुसी छौँ ।