
काठमाडौं । पश्चिम नेपालमा आज वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना रहेको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिममा वर्षाको सम्भावना रहेको छ । यो प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए ।
“पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ,” उनले भने, “गण्डकी र कोसी प्रदेशका पनि उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपातको सम्भावना छ ।”
बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ । बिहान तराई र उपत्यकामा हुस्सु र कुहिरो लागेको छ ।
“पश्चिम नेपालमा हिजो साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको असर परेको थियो । त्यसैले सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा भयो,” मौसमविद् अधिकारीले भने, “यो प्रणालीको असर आजसम्म मात्रै पर्ने हो । भोलि बिहानबाट मौसम सफा हुनेछ ।”
यसैबीच, काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्नेछ ।
बुधबार बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो भने मंगलबार सोही समय ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।