
पानीको रङ
(कवितासंग्रह : ऋषि बस्ताकोटी)
कवि ऋषि बस्ताकोटीको केही समयअघि प्रकाशित कविताकृति हो, ‘पानीको रङ’ । कवितासँगै गजल र मुक्तक विधामाथि काव्यकारिता गर्दै आएका उनका केही कृति प्रकाशित भइसकेका छन् ।
५० को दशकदेखि हालसम्म लेखेर छनोटमा परेका कविताहरूलाई ‘पानीको रङ’मा समावेश गरिएको कृतिमा उल्लेख छ ।
लेखकीयमा कवि बस्ताकोटीले लेखेका छन्, “कविताको सन्दर्भमा मैले यस्ता अनेक अनुभूतिहरू सँगालेको छु । तिनले मभित्रको कविलाई जगाइराखेको छ । कविता लेख्नु जोखिम मोल्नु पनि हो ।...।”
कृतिभित्र भूमिकामा साहित्यकार समालोचक डा. गीता त्रिपाठीले लेखेकी छन्, “अधिकांश कवितामा संस्कृत आर्ष महाकाव्यका मिथकीय पात्रहरूको प्रतिनिधित्व छ । समाज, संस्कृति र राजनीतिका त्रिआयामिकताभित्र आममानिसको परिवर्तनभेदी आवाज शून्यमा बिलाइरहेछ ।...।”
कृतिको ब्लर्बमा साहित्यकार अभय श्रेष्ठले लेखेका छन्, “ऋषि प्रकृति संरक्षणका एक अभियन्ता हुन् । कवितामार्फत त्यही कुरा उनी सानदार ढंगले उठाइरहेका छन् ।...।”
यो कृतिभित्र कविले ४० कविता पाठकलाई सुम्पिएका छन् ।
शिखा बुक्सद्वारा प्रकाशित १२० पृष्ठको यो कविताकृतिको मूल्य ३२५/– रुपैयाँ राखिएको छ ।
०००
नेपालका निधि
(जीवनवृत्त : किशोर नेपाल)
नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि एक त्यागी एवम् सन्तनेताका रूपमा परिचित रहेको अधिकांशलाई थाहै छ । तर, निधिको राजनीतिक क्रियाशीलताका अनेक आयामबारे धेरैलाई थाहा नहुन सक्छ । प्रसिद्ध पत्रकार किशोर नेपालले उनै राजनीतिज्ञ निधिको जीवनवृत्तलाई शब्दका माध्यमबाट उजागर गरेका छन्, ‘नेपालका निधि’ पुस्तकमार्फत । केही समयअघि किशोर नेपालको यो पुस्तक सार्वजनिक भएको हो ।
पुस्तकको आरम्भमा कृतिकार किशोर नेपालले लेखेका छन्, “युवावस्थामा प्रवेश गरेदेखि नै निधिसँग निकट रहने अवसर पाएकोले उहाँको बारेमा पुस्तक लेख्ने हुटहुटी जागेको थियो मभित्र । यसको एउटा कारण यो पनि थियो, मधेशका मूर्धन्य व्यक्तित्वहरूका बारे धेरै कम लेखिएको छ । मधेशका महारथीहरूले नेपाली जनजीवनको विकासक्रममा हरेक क्षेत्रमा योगदान दिएका छन् । तर, देशले न त ती महारथीहरूको समुचित मूल्यांकन गरेको छ न त सम्मान नै गर्न सकेको छ ।...।”
‘नेपालका निधि’भित्र लेखक नेपालले ‘सम्झनामा एउटा रोल मोडल’, ‘नगराइनका समाजसेवी’, ‘जनसरकारका प्रधानमन्त्री’, ‘बीपीको छायामा निधि’, ‘राजाको विश्वास विपरीत’, ‘सशस्त्र आन्दोलनसँग विमति’लगायत २० शीर्षकमा महेन्द्रनारायण निधिको जीवनगाथालाई प्रस्तुत गरेका छन् ।
राज्य रूपान्तरण प्रालिका लागि रूचि श्रेष्ठद्वारा प्रकाशित १९२ पृष्ठको यो पुस्तकको मूल्य ५००/– रुपैयाँ राखिएको छ ।
०००
आख्यान विमर्शका आयाम
(समालोचना : दीपकप्रसाद ढकाल)
समालोचना र सिद्धान्तका विभिन्न पुस्तक प्रकाशित गरिसकेका दीपकप्रसाद ढकालको अर्को कृति सार्वजनिक भएको छ, ‘आख्यान विमर्शका आयाम’ ।
यो पुस्तकको लेखकीयमा कृतिकार ढकालले लेखेका छन्, “... समालोचक यस मानेमा अझ जिम्मेवार, गम्भीर र सतत प्रयत्नशील हुनुपर्छ । पाठक र समाजको युगीन मूल्यलाई त उसले सर्वोपरि महत्त्व दिएकै हुनुपर्छ । त्यसैले आजको समालोचकले घरदेश वा परदेशमा जहाँ भए पनि विश्वपरिवेशको समष्टि चेतनालाई यथोचित रूपले पर्गेल्ने सामर्थ्य राख्नुपर्छ भन्ने मेरो बुझाइ छ ।”
कृतिभित्र भूमिकामा प्रा. डा. गोविन्दराज भट्टराईले लेखेका छन्, “श्री दीपकप्रसाद ढकाल नेपाली साहित्यको समकालीन स्थितिबारे समुचित जानकारी राख्ने, विस्तृत अध्ययन र सूक्ष्म चेतना भएका व्यक्ति हुन् । प्रस्तुत कृतिमा उनले सिर्जना मूल्यांकनका पाँचवटा अत्याधुनिक विश्व दृष्टिकोण चयन गरेका छन् ।...।”
अनुसन्धान विमर्शद्वारा प्रकाशित १६८ पृष्ठको यो पुस्तकको मूल्य ४२५/– रुपैयाँ राखिएको छ ।
०००
माटोको दुखाइ
(कवितासंग्रह : रामप्रसाद खनाल)
गीति क्षेत्रमा लामो समयदेखि सक्रिय रामप्रसाद खनालको कविताकृति ‘माटोको दुखाइ’ केहीअघि बजारमा ल्याइएको छ । उनका यसअघि गीत, कविता गरेर १७ कृति प्रकाशित भइसकेको छ ।
कृतिभित्र आफ्नो मन्तव्यमा कवि खनालले लेखेका छन्, “मेरो व्यक्तिगत दुःख, वेदना वा सुख, भोगलाई भन्दा पनि मैले सधैँ जन्म दिने आमा, जन्मभूमि माटोलाई शिरमा राखेर लेख्छु, बोल्छु, गाउँछु, वाचन गर्छु, अभिव्यक्ति सार्वजनिक गर्छु । त्यसैको पछिल्लो कडी हो, ‘माटोको दुखाइ’ ।’
यो कवितासंग्रहभित्र खनालका ७६ कविता समावेश छ ।
ऐरावती प्रकाशन प्रालिद्वारा प्रकाशित १४४ पृष्ठको यो संग्रहको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।
०००
अर्हत्
(उपन्यास : शैलेन्द्र अधिकारी)
साहित्यकार शैलेन्द्र अधिकारीको अर्को उपन्यास ‘अर्हत्’ केही समयअघि सार्वजनिक गरिएको छ । उनका यसअघि ‘निर्वेद’ उपन्यास र ‘ब्रह्मास्त्र’ कथाकृति प्रकाशित भइसकेको छ ।
उपन्यासकार अधिकारीले शब्दपुष्पार्पणम्मा लेखेका छन्, ‘‘अर्हत’ उपन्यासमा बुद्धगाथा र बुद्धको धर्मोपदेशलाई आख्यानीकरण गरिएको छ । मैले यस पुस्तकमा मूलभूत कुराहरूलाई परम्परासित नबाझिने गरी प्रस्तुत गर्ने कोसिस गरेको छु ।” (पृष्ठ–३०७)
कृतिको ब्लर्बमा सङ्घनायक भिक्षु बोधिसेन महास्थविर लेखेका छन्, “शैलेन्द्र अधिकारीले आफ्नो चाहनाअनुरूप भगवान बुद्धको जीवनीसँग सम्बन्धित विषय लिएर अर्हत् उपन्यास लेख्नुभएको छ ।...।”
शिखा बुक्सद्वारा प्रकाशित ३१६ पृष्ठको यो उपन्यासको मूल्य ६२५/– रुपैयाँ राखिएको छ ।