काठमाडौं । तपाईंलाई पनि आँखा पोल्ने, चिलाउने, सुन्निने, सुक्खा हुने जस्ता लक्षण देखिइरहेको छ ? सुरक्षाकवच अपनाउँदा पनि यस्ता समस्या बढिरहेका छन् ? यी लक्षण एलर्जिक कन्जन्टीभाइटीस्का हुनसक्छन् । अहिलेको सुक्खा मौसम र वायु प्रदूषणको असरका कारण धेरैमा एलर्जिक कन्जन्टीभाइटीस् देखिइरहेको चिकित्सक बताउँछन् ।
तिलगंगा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ तथा रिफ्राक्टिभ लेजर सर्जन डा. कौशल पोख्रेल भन्छन् “काठमाडौंको वायु प्रदूषणको अवस्थाका कारण काठमाडौंबासीको आँखा सँधै जोखिममा रहन्छ । त्यसमा पनि जाडोमा एसी र हिटरको प्रयोगले आँखालाई थप सुक्खा बनाइरहेको छ ।”
उनका अनुसार आँखामा संक्रमण विशेषगरी हावापानी र हातको माध्यमबाट हुने गर्छ यो जुनसुकै उमेर समूहमा हुनसक्छ ।
डढेलोबाट निस्किएको धुवाँले गराएको प्रदूषण होस् या सवारी साधनबाट निस्कने खराब धुवाँका कारण हुने प्रदूषण दुवै आँखाका निम्ति अति हानीकारक हुन्छन् ।
पीएम (पर्टीकुलेट म्याटर) २.५ जसले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
यस्तै, पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ । वायुमा यी दुईको मात्रा अधिक भएको प्रदूषणले अँखामा पनि एलर्जिक कन्जन्टीभाइटीस निम्त्याउँछ ।
पीएम २.५ को मात्रा पाँच माइक्रोग्राम प्रतिघनमिटर भन्दामाथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।
काठमाडौं उपत्यकामा बुधवार साँझ ५ बजे पछिल्लो चौबीस घण्टाको पीएम २.५ को औसत मात्रा १०० मात्रामाइक्रोग्राम प्रतिघनमिटर भन्दामाथि रहेको वातावरण विभागको तथ्यांक छ ।
डा. पोख्रेलका अनुसार वायु प्रदूषणले सुक्खा र सामान्य दुवै आँखालाई असर पुर्याउँछ । खराब हावामा रहेका तत्वहरू लामो समयसम्म आँखामा रहँदा आँखालाई सफा गर्ने रसायनहरू कम उत्पादन हुन्छन् र विभिन्न समस्याहरू देखिन्छन् । प्रदूषणले आँसु उत्पादन हुन नदिँदा आँखा थप सुक्खा बन्दै जान्छ । त्यति मात्रै नभइ चिलाउने, पाक्ने, रातो हुनेजस्ता समस्याहरू देखिन्छन् ।
आँखाको नानी मात्रै नभइ ढकनी र बाहिरी छालामा समेत सुन्निने, चिलाउनेजस्ता समस्या वायु प्रदूषणबाट नै निम्तिन्छन् । त्यसैगरी एयर कन्डिस्तर (एसी) र हिटरको नियमित प्रयोगले सुक्खा आँखाको समस्या बढाइरहेको हुन्छ ।
यसको चिकित्सकीय तथ्यबारे डा. पोख्रेल भन्छन् “जाडोयाममा प्रयोग गरिने हिटर होस् या जाडो गर्मी दुवैले कोठामा मोइस्चर (आद्रता) घटाइदिन्छन्, जसको असर नाक, आँखा र छालामा सुक्खापन हुनजान्छ ।”
नियमित एसी प्रयोगकर्ताले कुनै ठोस कारण नदेखिने तर भवनभित्र रहँदा अनेक स्वास्थ्य समस्याहरू झेलिरहेको अमेरिकी नेसनल लाइब्रेरी अफ मेडिसिन (एनआईएच)ले पुष्टि गरेको छ ।
एनआईएचले सन् २०२३ मार्चमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एसीमा ६ देखि आठ घण्टा लगातार दुई वर्ष काम गर्ने युवाहरूमा एसबीएस बढी देखिएको थियो ।
सबैभन्दा धेरै ४८ प्रतिशतमा सुक्खा आँखा समस्या पाइएको रिपोर्टमा उल्लेख छ । त्यसबाहेक उनीहरूमा रुघा लागिरहने, घाँटीसम्बन्धी समस्या, टाउको दुखाइ, आलस्यपना र श्वास फेराइमा समस्या देखिएको थियो ।
संक्रमण भएको कसरी थाहा पाउने ?
आँखा पोल्ने, पिरो हुने, चिलाउनेजस्ता संक्रमणका सुरुआती लक्षणहरू हुन् । सामान्यतः बिरामी आँखा रातो भएपछि वा यस्तैका लक्षण देखिएपछि मात्रै चिकित्सकसम्म आइपुग्छन् ।
डा. पोख्रेलका अनुसार आँखा रातो हुनु संक्रमण छिप्पिइसकेको अवस्था हो । त्यसैले आँखालाई संक्रमणबाट जोगाउनु अति आवश्यक हुनछ ।
वायु प्रदूषण उच्च भएको अहिलेजस्तो अवस्थामा सकेसम्म घरमै बसेर काम गर्नुपर्छ । बाहिर निस्कनै परे ठूलो फ्रेम भएको चस्माको प्रयोग गर्नुपर्छ । दुईपांग्रे सवारी चलाउने व्यक्तिहरूलाई हावाको तीव्र वेगले झनै असर पुर्याउँछ ।
यसबाट जोगिन ठूलो फ्रेम भएको चस्मासहित चिउँडो छोप्नेगरी फुल हेल्मेट र भाइजर अनिवार्य लगाउनुपर्दछ । आँखामा समस्या देखिए पानी छ्याप्ने गर्नु हुँदैन, यसरी पानी छ्याप्दा एकछिन् सन्चो भएजस्तो भए पनि यसले आँखाको सुरक्षा गर्ने इन्जाइमहरू हटाउँछ ।
आँखामा पानी छ्याप्नु गलत तरिका हो
सामान्य धुलो परेको वा केही बिझेको भए हल्का ढंगले मुन्टो निहुराएर सफा पानीमा आँखा चोपल्न सकिन्छ तर छ्याप्ने गल्ती गर्नु हुँदैन ।
“केही समस्या देखिए रसायन नभएका सामान्य साबुन, फेस वासले मुख धुुनुपर्छ ताकी साबुनमा भएको रसायनले थप असर नपुर्याओस्,” डा. पोख्रेल सुझाव दिन्छन् ।
चिकित्सकको सल्लाहबिना औषधि प्रयोग गर्नु हुन्छ ?
सामान्यतः सुक्खा आँखा महसुस भएमा कृत्रिम आँसुका लार्गिलुब्रिकेन्ट आइ ड्रप्स’ प्रयोग गर्न सकिन्छ । डा. पोख्रेलका अनुसार यस्तो औषधि दैनिक कम्तीमा चार पटकसम्म र आँखालाई अप्ठ्यारो भएमा त्योभन्दा धेरैपटक पनि प्रयोग गर्न मिल्छ ।
तर, अन्य संक्रमण वा समस्या देखिने बिक्तिकै आफ्नै हिसाबले औषधि किनेर लगाउने अत्यन्तै असुरक्षित बानी हो । चिकित्सकको सल्लाहबिना पनि प्रयोग गर्न मिल्ने औषधिहरू टियर सप्लिमेन्ट मात्रै हुन् ।
यीबाहेक आँखामा के कारणले कस्तो खाले संक्रमण भयो भन्ने थाहा नपाइ औषधि लगाउँदा त्यसले दीर्घकालीन असर पुर्याउनसक्छ । अन्य अवस्थामा चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि प्रयोग गर्न उनको सुझाव छ ।