site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काम गर्नेलाई चलचित्र विकास बोर्ड पूर्ण स्वायत्त छ
तस्बिर : दिनेश डिसीको फेसबुकबाट ।

(चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएको एक सय दिन नाघिसकेको छ । उनले सय दिनका उपलब्धि पनि सार्वजनिक गरेका छन् । चलचित्र ऐन, चलचित्र छायांकन स्टुडियो र रियलटाइम बक्सअफिसको काम सुरु गरिसकेको उनले बताएका छन् । यी तीन कामलाई केन्द्रमा राखेर आफू क्रियाशील रहेको उनले बताएका छन् । डेढ वर्षमा छायांकन स्टुडियो बनाइसक्ने, वैशाख १ गतेसम्म रियलटाइम बक्सअफिस लागु गर्ने, संसद्को आउँदो अधिवेशनबाट चलचित्र ऐन पास हुने दाबी उनले गरेका छन् । बोर्डमा आएपछि हालसम्मका उपलब्धि र चुनौती, बोर्डको स्वायत्तता, मन्त्रालय मातहत रहेको सेन्स रबोर्ड, स्टुडियो निर्माणको निश्चितता, बक्सअफिसको पारदर्शितालगायत विषयमा अध्यक्ष डिसीसँग बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानीको सम्पादित अंश :)

विकास बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको सय दिन नाघ्योे, केके भए उपलब्धि ?
म अहिले चलचित्र ऐनलाई सकेसम्म चाँडो बनाउनुपर्छ भनेर लागेको छु । अवार्ड, महोत्सवजस्ता काम म नभए पनि हुन्छ, कर्मचारी मात्रै भए पनि दैनिक प्रशासनिक काम आफैँ चल्छ ।

म आएपछि यसअघिका साथी (चलचित्र विकास बोर्डका पूर्वअध्यक्षहरू)ले नगरेको, नभ्याएको अथवा नसकेको काम गर्नुपर्छ भनेर ऐनलाई अन्तिम रूप दिन लागेँ । बोर्डबाट सकेर विभागीय मन्त्रालय (सञ्चार)मा, त्यहाँबाट अर्थ मन्त्रालयमा, त्यहाँबाट सकिएर ऐन फेरि कानुन पुगेर सञ्चार मन्त्रालयमा आइसकेको छ । अन्तिम ड्राफ्ट भएर अब क्याबिनेटमा जानेछ । त्यहाँबाट संसद्मा जानेछ । सम्भवतः संसद्को आउँदो अधिवेशनबाट पास भएर राष्ट्रपतिबाट लालमोहर लाग्छ भन्ने अपेक्षा छ ।

Dabur Nepal
NIC Asia

दोस्रो काम, बक्सअफिसलाई रियलटाइममा लैजाने काम गरिरहेका छौँ । अहिले ट्रायलमा काम भइरहेको छ, त्यसको रिजल्ट आउनेछ । तीनवटा बेग्लाबेग्लै रिसर्च गराएर त्यसको फाइन्डिङका आधारमा काम भइरहेको छ । रियलटाइम बक्सअफिस वैशाख १ गतेबाट लागु गर्ने तयारी छ । वैशाख १ मा नभए केही दिन ढिलो होला, तर कम्तीमा यही आर्थिक वर्षभित्र हुन्छ नै ।

तेस्रो, बनेपास्थित सुटिङ स्टुडियो हो । हामीसँग एउटा पनि सुटिङ स्टुटियो छैन । त्यसैले यो प्राथमिकतामा पारेको छु । अर्थ मन्त्रालयबाट सम्भवतः सहमति आउँछ । टेन्डरको प्रक्रिया सबै तयार भइसकेको छ । टेन्डर प्रक्रिया आउट भएको १०–१५ दिनमा शिलान्यास हुन्छ ।

यी तीनवटा मेरो मुख्य काम हो । यसका लागि म विदेश पनि नगई नेपाल र काठमाडौंलाई वर्किङ स्टेसन बनाएर काम गरिरहेको छु । कतिखेर मन्त्रालयमा दौडिनुपर्छ । कतिखेर सरोकारवाला व्यक्तिलाई भेट्नुपर्छ थाहा हुँदैन । मेरो कारणले सात दिन पर धकेलियो भने समयमा काम हुँदैन । हाम्रो कामका लागि हामीलाई कुरेर अरू बस्दैनन् भनेर म यो पहिलो ६ महिना कतै नगई मुख्य कामलाई अगाडि बढाउन केन्द्रित हुनेछु ।

यसबाहेक अरू थुप्रै काम भएका छन् । सय दिनमा के भयो भनेर हामीले बुँदागत रूपमै निकालेका छौँ, त्यो सबैले अध्ययन गर्न सक्नुहुनेछ ।

यो अवधिमा तपाईंले देख्नुभएको बोर्डका चुनौती केके रहेछन् ?
चुनौती नै चलचित्र ऐन हो । ऐन बनेर रियलटाइम बक्सअफिसमा आइसकेपछि जति पनि मनका शंका छन्, ती शंका सबै निराकरण हुनेछन् । धेरै हदसम्म सकिनेछ । ऐन बनेपछि दण्डसजाय निर्धारण हुनेछ । अहिले कतिपय अवस्थामा यस्तो गर्न नपाइने भन्ने छ । तर, गर्‍यो भने के गर्ने भन्ने छैन ।

अहिले दुई पक्षको सम्झौतामा नेपाली चलचित्र उद्योग चलिरहेको छ । कहिले चलचित्र संघलाई त कहिले निर्मातालाई रिक्वेस्ट गरेर चलिरहेको छ । ऐन आएपछि धेरै कुरा नियमबद्ध रूपमा चल्नेछ ।

रियलटाइम बक्सफिस लागु भएपछि, निर्माता, वितरक र प्रदर्शकका साथीहरूबीच कतिपय सन्दर्भमा प्रश्नहरू छन्, ती निराकरण हुनेछन् । पहिला हलवालालाई मात्रै समस्याका रूपमा हेरिन्थ्यो, त्यो मात्रै पनि होइन रहेछ । समस्या सबै ठाउँमा छ । हलका मालिक जो आफैँ बस्दैनन् त्यहाँ म्यानेजर र वितरक मिलेर खत्तम पारेको पनि देखिन्छ । निर्मातालाई थाहा नदिई वितरक र हलवाला मिलेर पनि बदमासी गरेको देखिन्छ ।

सबै होइन, १६६ मा करिब ३० वटा स्क्रिन त्यस्ता रहेछन् । त्यसमा हामीले डन्डा लगायौँ, ताल्चा लगायौँ । ताल्चा लगाएपछि सबै कानुनी दायरामा आए । माघ मसान्तसम्म ती सबै हाम्रो नियमभित्र आउनेछन् ।

यसअघिका अध्यक्षहरूमा काम गर्ने इच्छाशक्ति नभएर काम भएन भन्ने टिप्पणी हुँदै आएको थियो, त्यस्तै रहेछ ?
पहिलाका साथीहरूले के गर्नुभयो त्यो त मलाई थाहा भएन, तर म पनि निर्देशक समाजमा हुँदा बोर्ड स्वायत्त भएन भन्थेँ । चलचित्र विकास बोर्डको ऐनकानुनमा के लेखिएको छ भनेर मैले अध्ययन गरेका छैन । तर, काम गर्नलाई कुनै अवरोध छैन । पूर्ण स्वायत्त छ । हाम्रो घर चलाएजस्तो त सरकारी कार्यालय चलाउन पाइँदैन, तर सञ्चार मन्त्रालयका अन्य ठूलठूला निकायभन्दा बोर्ड स्वायत्त छ ।

बजेट पठाउँदा कमा पनि परिवर्तन नभई पारित भएर आउँछ । माथिसम्मै सिग्नेचर गर्न सकिन्छ, जुन अन्य निकायले गर्न सक्दैनन् । कर्मचारीदेखि सबै पूर्ण बेनिफिटेड छन् । काम गर्नलाई बजेट पास भइसकेपछि कसैलाई सोध्नु पर्दैन । जानकारी मात्रै दिए पुग्छ । अहिलेको सचिव र मन्त्रीज्यू २४ घण्टा नै पहुँचमा हुनुहुन्छ ।

त्यसो भए बोर्ड स्वायत्त हुन आवश्यक देख्नु भएन ?
के स्वायत्त मागेको भन्ने कुरा हो । 

अधिकार होला नि ?
काम गर्नेलाई पूर्ण अधिकार छ ।

एमालेको कोटाबाट आएकाले बोल्न नसक्नुभएको त होइन ?
पहिला पनि कुनै न कुनै पार्टीनिकट भएरै त आएका हुन्थे । स्वायत्त नै छ भने किन चाहियो भन्नु ।

कार्यकाल सकिने बेलामा बोर्ड स्वायत्त नहुँदा काम गर्न सकिनँ भनेर निस्कने प्रचलनजस्तै बनेको छ, त्यही दोहोरिने हो कि ?
गर्न नसक्नेले मलाई यो सचिव र मन्त्रीले काम गर्न दिएन, नियमले गर्न दिएन – १० वर्षदेखि हामीले सुनेको यही विधेयक, बक्सअफिस र स्टुडियोको काम हो । अहिले तीन महिनामै प्रक्रियामा गइसक्यो ।

चाहेको काम गर्न बोर्डलाई पर्याप्त बजेट दिइरहेको छ सरकारले ?
अरूले पास गरेको बजेटमा मैले काम गरिरहेको छु । केही रकमान्तर गरेँ । यति गर्नलाई बजेट पनि पर्याप्त छ ।

बोर्डले काम गरेन, खारेज गरिदिए हुन्छ भन्ने टिप्पणी चलचित्रकर्मीबाटै पटक–पटक आउँथ्यो, किन रहेछ ?
नबुझेर हो । नबुझेर हो अथवा वितृष्णा छ । या योभन्दा ठूलो अर्को संस्था खोल्न पाइयो भने त्यहाँ आफ्नो कुर्सी सुरक्षित गर्न पाइन्छ भनेर हो । काम गर्ने हो भने पूर्ण स्वतन्त्रता छ । पैसा छ । (मैले) काम गरेको मात्रै हो ।

सेन्सर बोर्ड चलचित्र विकास बोर्ड मातहत आए निर्माताले कम दुःख पाउँथे कि ?
त्यसमा छुट्टै छलफल गरौँला । बोर्ड मातहत छैन । त्यसमा यता ल्याउने नीतिगत निर्णय हुनुपर्छ ।

यसमा मेरो आफ्नै धारणा छ । सेन्सर बोर्डमा मेरो पनि त्यस्तै धारणा थियो, जसरी केही साथीहरूले अहिले भनिरहेका छन् । तर, जब मैले सेन्सर बोर्ड र विदेशका सेन्सर बोर्डको पनि अध्ययन गरेँ, हामीले भनेका केही कुरा काट्नुपर्छ । त्यसैले यसबारे म धेरै बोलिनँ । 

बोर्ड मातहत ल्याउन तपाईंबाट पहल हुँदैन ?
मैले मुख्य तीन काम गर्नु छ, त्यता केन्द्रित हुुन्छु । यी काम छाडेर यता लागेँ भने म पनि असफल हुन्छु । समस्या त यहाँ डेढ सयवटा छन् । मेरो पहुँच पनि छ, म गर्न पनि सक्छु भनेर लागेँ भने मेरा प्राथमिकतामा रहेका तीनवटा काम पनि हुँदैनन् । प्राथमिकतामा परेका काम सकेपछि बाँकी काम गर्ने हो । 

स्टुडियो हरेक बजेट वक्तव्यमा नछुट्ने, तर निर्माण पनि नहुने अवस्था छ । अहिलेचाहिँ बन्छ भनेर कसरी विश्वास गर्ने ?
मलाई पूर्वसञ्चारमन्त्रीज्यूले पनि ‘जग्गा दियौँ, पैसा दियौँ, तर किन नबनाएको ?’ भनेर सोध्नुभयो । किन नबनाएको, त्यो त जसले बनाएन उसलाई सोध्ने हो । सरकारी जग्गा भएकाले मुद्दा आउँदै छ । तर, त्यहाँ नभए अर्को ठाउँमा बनाउने हो । बन्छ ।

म सिनेमा मेकर पनि त हो । दुई वर्षपछि त मैले चलचित्र नै बनाउनुपर्छ । सिनेमा नै खेल्न जानुपर्छ । 

सिनेमाको निर्देशन र अभिनय बिट मारिसक्नुभएको छैन ? कति भयो निर्देशन र अभिनय नगरेको ?
बिट मारेको छैन । निर्देशन हरेक वर्ष गर्नैपर्छ भन्ने छैन । निर्देशन पोथीले चल्ला कोरलेजस्तो होइन । २४ वर्षमा नवीन सुब्बाले चलचित्र निर्देशन गर्नुभयो ।

अब बनेपामै स्टुडियो बन्छ ?
बन्छ । बनेपामा बन्छ । त्यहाँ भएन भने धुलिखेलमा बन्छ । त्यहाँ पनि बनेन भने आरुबारीमा १६ रोपनी जग्गा हेरेका छौँ, त्यहाँ बन्छ ।

बजेट कति हो ?
३८ करोड । यो तीनचार वर्षअघिको बजेट हो । यसले पुगेन भने अर्थ मन्त्रालयले दिन्छ । बहुवर्षीय ठेक्का प्रयोजनमा जान्छ ।

दोलखाको फिल्म सिटीचाहिँ नबन्ने नै भयो ?
त्यो बन्दैन । म दोलखाको लागि पहल गर्दिनँ ।

किन ? निर्माताले टाढा हुने भयो भन्ने गुनासो गरेकाले हो ?
बजेट पुग्दैन । नेपाल सरकारले अर्बौँ रुपैयाँ खर्च गर्नै सक्दैन । वर्षको पाँचसात करोड छुट्ट्याएर पैसाको सत्यनाश हो । आठौँ पुस्तामा पनि बन्दैन । अन्तिमको काम बन्दा अगाडिको बिग्रिसक्छ । एकैपटक धेरै पैसा सरकारले हाल्न सक्दैन । चलचित्रमा वैदेशिक लगानी छैन ।

रियलटाइम बक्सअफिस वैशाखबाट लागु हुन्छ भन्नुभएको छ, यो कति पारदर्शी होला ?
पारदर्शी नै छ । पारदर्शी नै हुन्छ । जसले पाएको छैन, उसले पारदर्शी भएन भनिरहेको छ । निर्माता, वितरक र हलवालालाई पारदर्शी छ । मात्रै केही घण्टा ढिलो मात्र हो । रियलटाइम थिएन, अब हामीले त्यही ल्याउने हो । ११ वटा हलमा नभएको अथवा गलत तरिकाले प्रयोग भइरहेको पाइयो । ती पनि सबै रियलटाइम बक्सअफिसमा आउँछन् ।

चलचित्रका केही पूर्वअध्यक्षहरूकै हल विनाइजाजत अथवा नवीकरण नगरी चलिरहेका रहेछन् त ?
मैले यसमा केही भन्नै परेन । उहाँहरूको हल पनि त्यस्ता रहेछन् । कारबाहीमा परे । अब कानुनी दायरामा आएर सञ्चालनमा आउँदै छन् ।

बदमासी टाउकैमा रहेछ भन्न मिल्यो ?
त्यो मैले केही बोल्नै परेन । तपाईंहरू आफैँ बुझ्नुस् ।

वितरक र निर्माताले मिडियालाई दिने डाटा र बोर्डको बक्सअफिस रिपोर्ट कति मिल्छ ?
अहिले नमिल्न सक्छ । किनभने, ११ वटा हलमा बक्सअफिस छैन । त्यसैले मिल्दैन भनेर बक्सअफिस रिपोर्ट नदिएको हो ।

बक्सअफिस रिपोर्ट सूचनाको हकभित्र पर्दैन भन्ने पनि बुझाउनुपर्नेछ । अर्काको व्यापारको सूचना पाउने अधिकार छैन ।

बक्सअफिस रिपोर्ट रोक्नुको कारण पनि दुईवटा डाटा नजाओस् भनेर हो । नत्र मलाई यो रोक्ने कुनै रुचि छैन । जुन दिन रियलटायम डाटा आउँछ, त्यो दिन दिनुपर्ने निकायलाई दिऊँला ।

अब मिडियाले बक्सअफिस रिपोर्ट पाउँछन् ?
पाउँछन्, तर नियमबद्ध तरिकाले । फोन गरेर कति भयो भनेका भरमा पाउँदैनन् ।

हरेक महिना, तीनतीन वा चारचार अथवा वर्ष दिनमा कसरी सार्वजनिक हुन्छ ?
त्यसरी मैले सोचेको छैन । चारजना निर्माता छन् भने एकजनाले, एकजना वितरकले, आन्तरिक राजस्व कार्यालयले, सोध्यो भने मन्त्रालय र एफबीआईले सोझै पाउँछ । अर्को, कसैलाई चाहियो भने कारणसहित निवेदन दिनुपर्छ । अनलाइन निवेदन भए पनि हुन्छ ।

मेरो सोच नेपालको थिएटरबाट अन्तिम शोबाट निस्किएपछि मात्रै दिनुपर्छ भन्ने छ । अहिले टुबोर्ग बियर कति बिक्री भयो भनेर सोध्दा उसले भन्छ र ? तर, आन्तरिक राजस्व कार्यालयबाट डाटा लिन सकिन्छ । सिनेमाको पनि व्यापार हो । समस्या देखियो भने पुलिसले लिएर जान्छ ।

निर्माताले यतिउति कलेक्सन भनेर अरू निर्मातालाई झुक्याउँछ भन्ने कुरा पनि आयो । पूरै देश र संसारकै समस्या रोक्ने, समाधान गर्ने काम बोर्डको होइन । बोर्डले आफ्नो काम जे हो, त्यो मात्रै गर्छ । हरेक कुराको जवाफ बोर्डले दिन सक्दैन ।

मौलिक कथा भन्ने र भनिएका चलचित्रलाई बोर्डले सहयोग गरेन भन्ने गुनासो छ, पछिल्लो समय गरेको व्यवस्था पनि धेरै नै न्यूनतम भयो भन्ने छ नि ?
मिनिमम भए पनि छ । त्यही पनि लिन आउनु हुन्न । दुईवटा प्रस्ताव ड्रप भयो । रुचि रहेनछ, छाड्दिऊँ भनिसकेँ ।

प्रक्रिया झन्झटिलो भयो भन्ने गुनासो आएको छैन ?
सरकारी पैसा लिन सहज त पक्कै छैन, तर यसलाई पनि सहज बनाउने प्रयासमा छौँ ।

स्टोरी बैंकमा सहयोग छ । विशेष चलचित्रलाई सहयोग छ । निर्माण भइसकेका चलचित्रलाई पनि दुईतीन लाख रुपैयाँ सबटाइटल गर्न दिएका छौँ । करोडमा बन्ने सिनेमाका लागि १५ लाख रुपैयाँ ठूलै पैसा हो भन्ने लाग्छ । 

बोर्डले नै चलचित्र बनाउने तयारी कहाँ पुग्यो ?
त्यो काम बोर्डबाट हुँदैन, म आउनेबित्तिकै रोकिदिएँ । बोर्डले सिनेमा बनाउने, भ्यानिटी भ्यान किन्ने, पोस्ट प्रोडक्सन स्टुडियो खोलेर बनाएर चलचित्रको काम लिएर बोर्डले बिजनेस गर्ने होइन । व्यापार गर्न बोर्डको जन्म भएको होइन । स्टेकहोल्डरले गर्न नसक्ने काम मात्रै बोर्डले गर्ने हो । सहजीकरण गर्ने मात्रै हो ।

विकास बोर्डले आफैँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्न सक्दैन ?
गर्छ । तर, एक्लैले गर्दैन । पोखरामा बोर्डले चलचित्र महोत्सव गर्दै छ । त्यो अर्कै हो । तर, हामीले भनेको यस्तो मात्र होइन, अन्तर्राष्ट्रियस्तरको फेस्टिभल गर्नुपर्छ भन्ने हो । भविष्यमा काठमाडौं महानगरपालिका, पर्यटन बोर्ड र चलचित्र विकास बोर्ड मिलेर गर्नेछौँ । सरकार–सरकारका निकायबीचको सहकार्य गर्ने भएकाले यो सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ । निजी क्षेत्रसँग सहकार्य गर्दा उसले आफ्नो नाफा हेर्दा कमजोरी भयो भने सरकारलाई अप्ठ्यारो पर्छ । बोर्डले गरेको लगानीमा प्रश्नचिह्न आयो भने म पनि जवाफदेही हुन्छु । त्यसैले सरकारी निकायले गैरनाफामूलक इन्टरनेसनल फिल्म फेस्टिभल गर्न लागेको हो ।

नेपाली चलचित्रको क्वालिटी इनह्यान्स गर्न बोर्डले केही गर्न सक्दैन ?
हाम्रो कमजोरी प्राविधिक पक्षमा बढी देखिइरहेको छ । हामी हाम्रो स्टुडियोमा साउन्डको ७.१ भर्सनको सेन्टरमा स्क्रिनमा बसेर काम गर्ने तयारीमा छौँ । कलर करेक्सनका लागि पनि काम गर्दै छौँ । ६० फिट स्क्वायरको स्क्रिनमा साउन्ड र कलर करेक्सन हेरेर काम गर्ने अवस्थामा केही न केही प्राविधिक पक्षमा सहयोग पुग्छ । 

सक्ने काम के हो पहिला त्यो गर्छौँ । मलाई प्रधानमन्त्रीले पनि सक्ने कुरा गरिहाल्नू, नसक्ने कामका लागि समय खेर नफाल्नूू, लामो समय लाग्ने र सकिँदैन कि भनेर शंका लाग्ने काममा भने खुट्टै नउठाउनू भन्नुभएको छ । मन्त्रीज्यूले पनि त्यही भन्नुभएको छ ।

त्यही भएर दुई वर्षको काम ६ महिनामा गर्ने योजना बनाएर १० जना इन्टर्नले काम गरिरहेका छन् । तीनजना त यहीँ छन् । उनीहरू यहाँका ‘पेइड’ होइनन्, मेरो लागि काम गरेका हुन् । मेरा केही सपना छन्, त्यसलाई प्रमाणित गर्छु भन्ने छ ।

हल खोल्दा कुर्सीमा अनुदान पाइन्छ भन्ने मोफसलका कति हललाई थाहै छैन । हलको स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ छट्ट्याएका छौँ । अब उहाँहरूले यो अनुदान लिनुहुन्छ होला । यहाँभन्दा पहिला ‘भेस्टेड इन्ट्रेस्ट’ भएकाहरूले यो सहयोग लिन दिएनन् होला, अब त्यस्तो हुने छैन ।

बोर्ड अध्यक्षको कार्यकाल चार वर्ष नबनाएसम्म काम हुँदैन भन्ने धारणा पूर्वअध्यक्षहरूको छ, यसमा तपाईंको धारणा के छ ?
दुई वर्षमै गर्न सकिने काम गर्नुपर्छ भन्ने मरो मान्यता छ । दुई वर्षको अन्तिम दिनसम्म काम गर्नुपर्छ । डेढ वर्ष भएपछि अब ६ महिना त हो भनेर खुट्टा तन्काएर हुँदैन । यो मनस्थितिबाट बाहिर आउने प्रयास हामी आफैँले गर्नुपर्छ ।

लिडर भनेकै नेतृत्व गर्ने क्षमता भएको व्यक्ति हो, जसले छोटो समयमा धेरै काम गर्न सक्छ भनेर हामीलाई अध्यक्ष बनाएर पठाएको हो । दुई वर्षमा गर्ने काम गर्नुपर्‍यो । अहिले हेर्दा ६ महिनामै स्टुडियो शिलान्यास हुने र चलचित्र ऐन आउने देखियो । ६ महिनामै रियलटाइम बक्सअफिस आउने भयो । ढिलै भए पनि एक वर्षमा त हुने रहेछ ।

दोस्रो कुरा, ऐन संसद्बाट पास हुनेबित्तिकै चार वर्ष कार्यकाल हुनेछ ।

अन्तिममा, चलचित्र छायांकन स्टुडियो कति समयमा बनिसक्छ ?
डेढ वर्षमा । म भएकै बेलामा उद्घाटन होस् भन्ने मेरो चाहना छ । शिलान्यास भएको डेढ वर्षमा स्टुडियो बन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १५:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro