site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
के होला सशस्त्रका चार डीआईजीको भविष्य ? म्याद थपको प्रस्ताव पुग्यो गृह मन्त्रालय 

काठमाडौं । हरेक महत्वपूर्ण निर्णय लिन साताको दुई दिन मन्त्रिपरिष्दको बैठक हुन्छ, सोमबार र बिहीबार । विशेष कारणबस स्थगन नभए आउँदो मन्त्रिपरिष्द बैठकबाट सशस्त्र प्रहरी बलका चार नायब महानिरीक्षक (डीआईजी) को थप एक वर्षे जागिरको भाग्य तय गर्नेछ ।

उनीहरूमध्ये एक डीआईजीको त तारावाल गाडीसहितको सुविधा एक वर्षमात्रै थपिने छैन, सशस्त्र प्रहरी बलको प्रमुख हुने बाटोसमेत खुल्नेछ । सशस्त्र प्रहरी बलका डीआईजीहरू शम्भु सुवेदी, गणेश ठाडा मगर, कुलबहादुर नेम्बाङ र कमल गिरीको हकमा आउँदो मन्त्रिपरिषद् बैठक विशेष हुने छ । 

उनीहरूले अवकाश पाउन एक सातामात्रै बाँकी रहँदा एक वर्ष पदावधि थपका निम्ति प्रस्ताव सशस्त्र प्रहरी बलले गरेको छ । यदि उनीहरूको म्याद थप नभए यही पुस २३ गते अवकाशमा जानेछन् । सशस्त्र प्रहरी नियमावली अनुसार, डीआईजी, अतिरिक्त महानिरीक्षक (एआईजी) र महानिरीक्षक (आईजीपी) को पदावधि समान चार/चार वर्ष हुनेछ ।

तर, सशस्त्र नियमावली २०७२ को परिच्छेद १० को दफा ६५ मा एआईजी र डीआईजीको पदावधि आईजीपीको सिफारिसमा मन्त्रिपरिषद्ले एक वर्ष थप्न सकिने व्यवस्था गरेको छ । यो बाध्यकारी नहुँदा सरकारी तजबिजीमै एक वर्ष थप हुने वा नहुने निर्णय हुनेछ । नत्र डीआईजी चार वर्षे कार्यकाल पूरा गरी अवकाशमा जानेछन् ।

सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी राजु अर्यालले उनीहरूको पदावधि एक वर्ष थप्न गृह मन्त्रालयमा प्रस्ताव पठाएका छन् । उक्त प्रस्ताव गृह मन्त्रालयले आउँदो मन्त्रिपरिष्द बैठकमा पेश गर्ने तयारी गरेको छ । 

हाल सशस्त्र प्रहरी बलमा सेवा अवधि ३० वर्ष छ । एक वर्ष थपका लागि सिफारिस गरिएकामध्ये शम्भु सुवेदी २०५४ र अन्य तीन जना २०५६ मा नेपाल प्रहरीको निरीक्षकमा भर्ना भएका थिए । 

तिनीहरू सशस्त्र प्रहरी बलको स्थापना हुँदा एक तहमाथिको बढुवा लिँदै प्रवेश गरेका अधिकारी हुन् ।

एक वर्ष थपिएमा आउँदो वैशाखमा उनीहरूमध्ये एकजना एआईजी हुने छन् । किनभने वैशाखमा ३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम अवकाश जाँदैछन् । त्यसपछि ती आईजीपीको रोलक्रममा रहने छन् ।
एआईजी बन्न नसक्नेहरू एक वर्षपछि स्वतः अवकाशमा जानेछन् । त्यसबाहेक अर्को व्यवस्था अनुसार ५६ वर्ष उमेरहदका कारण समेत अवकाश पाउने छन् ।

हाल गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलको हालको व्यवस्था परिवर्तनका लागि ऐन ल्याउने तयारी गरिरहेको छ । उनीहरू पदमै रहँदा ऐन आएमा थप समय सलाम खान पाउने छन् ।

के छ पदावधि थपबारे नजिर ?

हाल सशस्त्र प्रहरी बलको डीआईजीहरूमध्ये सबैभन्दा सिनियर डीआईजी किशोर प्रधान छन् । उनको चार वर्ष पूरा हुँदै गर्दा सरकारले एक वर्ष थपेपछि कार्यकाल लम्बिएको हो । उनको गतवर्ष माघमा एक वर्ष थपिएको हो । एआईजीको पद रिक्त नहुँदा उनी स्वतः डीआईजीबाटै अवकाश पाउने छन् । 

उनीपछिका हाल अवकाशमा जान लागेका डीआईजीहरू सिनियर हुनेछन् । जसकारण उनीहरूमध्येबाटै वैशाखमा एक जना एआईजी बन्नेछन् ।

हालको सशस्त्र प्रहरी बलको आईजीपी राजु अर्यालको कार्यकाल अझै दुईवर्ष बाँकी छ ।  उनी २०८३ वैशाखमा ४ मा आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जानेछन् । उनीपछि हालका सबैभन्दा सिनियर एआईजी नारायणदत्त पौडेल र अर्का वंशी दाहालमध्ये एकजना आईजीपी बन्नेछन् । 

उनीहरू दुवै आईजीपी अर्यालकै ब्याची हुन् । तर, उनीहरूमध्ये जो आईजीपी भए पनि करिब २ वर्ष नेतृत्व गर्नेछन् । २ वर्षपछि भने ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।

यसअघि डीआईजी प्रविण श्रेष्ठको भने सरकारले एकवर्ष पदावधि थप गर्न अस्वीकार गरेको थियो । उनी त्यसविरुद्ध सर्वोच्चसमेत पुगेका थिए । प्रविण श्रेष्ठको पदावधि थपिएको उनी स्वतः आईजीपी बन्ने थिए ।
सर्वोच्चले सुरुमा थमौति गर्न अन्तरिम आदेश गर्यो । तर पछि उनको पक्षमा फैसला नआउँदा अवकाशमा गए । 

श्रेष्ठबाहेक त्यसअघि सरकारले २०७७ माघमा डीआईजीद्वय मन्दिप श्रेष्ठ, खड्ग राई र वैशाखमा एआईजीहरू पुष्पराम केसी र रामशरण पौडेलको कार्यकाल भने एक वर्ष थपेको थियो ।

केसी सशस्त्र प्रहरी बलको एक महिने आईजीपीसमेत बने । तर, यस्तै प्रकृतिका प्रविण श्रेष्ठको सेवा अवधि थप नहुँदा दुर्भाग्यबस अवकाशमा गए । यी चार डीआईजीहरूको भाग्य पनि केसीको जस्तै हुन्छ कि श्रेष्ठको जस्तो दुर्भाग्यपूर्ण, त्यो आउँदा मन्त्रिपरिषद् बैठकबाट तय हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro