site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नाबालिकालाई झुक्याएर विवाह गर्दा...

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुईजनालाई पक्राउ गरेको छ । 

आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाको आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो ।  

यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन् । 

उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसुर अन्तर्गतको मुद्दा चलाइएको छ । 

बालविवाहसम्बन्धी घटना भएको जानकारी पाएपछि फरक–फरक समय तथा ठाउँबाट पक्राउ परेका उनीहरु दुवैजनालाई प्रहरी हिरासतमा राखेर घटनाको विषयमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

अभियुक्त उनीहरु दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।   

कक्षा–८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पुस ८ गते युवकको घर पुर्याइएकी बालिकालाई पुस ९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको प्रहरी प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।  

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसुरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । 

विवाह गर्ने व्यक्तिको उमेर २० वर्षभन्दा कम भएको खण्डमा उक्त विवाह स्वतः रद्ध हुने मुलुकी अपराधसंहिताको बालविवाहसम्बन्धी कसुरमा उल्लेख छ । रासस

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro