site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भीम रावललाई विष्णु रिमालको सन्देश : एमाले अब तिम्रो होइन, नयाँ घर बनाएर देखाऊ

काठमाडौं । नेकपा एमालेका उपमाहासचिव विष्णु रिमालले भर्खरै पार्टीले कारबाही गरेर हटाएका पूर्वउपाध्यक्ष भीम रावलप्रति कटाक्ष गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् । एमले अध्यक्ष केपी शर्मा ओलीसँग निकट रहेका रिमालले कवितात्मक शैलीमा स्टाटस लेख्दै ३९ सालयता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावलले सँधै पार्टीभित्र विवादका लागि मौका खोजीमा रहेको आरोप लगाएका छन् ।
  
‘‘अनवरत ‘किच–किच’ गरेर बसिरहे। प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ,’’ उनले लेखेका छन्, ‘‘उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बीचमै छोडे, अन्तै दौडिए। ‘आदर्श’का गफ र ‘अर्ति–उपदेश’का पोका बोकेर यताउता गरिरहे ।’’

फेरि एक समय ‘जोरीपारी’हरू ‘एमाले विनाको राजनीति’को खेतीमा लागेका बेला उनी ‘ओलीविनाको एमाले’ भन्दै उफ्रिएको रिमालको दाबी छ । 

Argakhachi Cement Island Ad

विभाजनको लागि कसैलाई (माधव नेपाल) उचालेर एकता भन्दै आफू अर्कातिर अल्झिएको रिमालको तर्क छ । फेरि नयाँ चुनौती सामना गर्ने बेलामा पार्टी छोडेर पार्टीकै विरुद्ध खनिएको उनको आरोप छ । उनले लेखेका छन्, ‘‘सानै सही, असहमत ‘अरुहर’ुले दुःखैले बनाएको घरमा लुसुक्क छिरे, ‘वन साङ्लाले घर साङ्लालाई लखेटेझैं उल्टै हाकिम पल्टिए ।’’

अहिले फेरि रावलले कतै ‘टाँड’ पो पर्छ कि ! कतै औँला घुसार्न पो मिल्छ कि भनेर मौका पखेर कुरिरहेको रिमालको आरोप छ । त्यसैले रावलले ‘ओलीले छोड्नुपर्छ, उकुसमुकस भएको छ।’ भन्न थालेको बताएका छन् । 

उनले रावललाई चुनौती दिँदै भनेका छन्, ‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ, गुन्द्रुङ गरिरेहका तिम्रा ‘हाँडा–भाँडाहरू, बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरूले उनीहरूका घरमा, जे गरुन्–बाल मतलव !

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्