काठमाडौं । सन् २०२४ विश्वको लगभग आधा जनसंख्याले मतदान गर्यो, विश्वभरका ८० देशमा चुनाव भयो । कयौँ चुनावमा हिंसा भयो, कयौँ चुनावले राजनीतिक उथलपुथल निम्त्याए ।
सन् २०२४ लाई चुनावको 'सुपर वर्ष' भनिएको थियो । किनभने विश्वभरको आधाभन्दा बढी जनसंख्याले यस वर्ष मतदान गर्यो । अमेरिकादेखि भारतसम्मका देशमा चुनाव भयो ।
चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि हमला भयो । चुनावका दौरान मेक्सिकोमा इतिहासकै सबैभन्दा ठूलो हिंसा भयो । ३७ जना उमेदवारको हत्या भयो, यसका बाबजुद मेक्सिकोले पहिलो महिला राष्ट्रपति क्लाउडिया सिनबाम पायो ।
सन् २०२४ मा चार महाद्वीपमा सत्ता परिवर्तन भयो । यो परिवर्तन कयौँ ठाउँमा भने हिंस्रक थियो । तर, अन्तत लोकतन्त्रको मूल मर्म ‘जनताको चाहना अनुसार’ सत्ता हस्तान्तरण भयो ।
२०२० र २०२४ को बीचमा भएका चुनाव र तिनको परिणामाले चुनौती सामना गर्नुपर्यो । विभिन्न अध्ययनहरूले देखाए अनुसार, हारेका पाँचमध्ये एक उमेदवारले चुनावी नतिजा अस्वीकार गरे । यस्ता गतिविधिले मतदातको विश्वासमाथि आघात पुर्याए । यस्ता गतिविधिले निर्वाचनको प्रक्रियाको वैधता र नागरिकको सहभागिता घटाए ।
फ्रिडम हाउसको रिपोर्टअनुसार, लोकतन्त्र कमजोर हुँदै छ, तानाशाह बढी दमनकारी हुँदै छन् । रिर्पोट अनुसार, सन् २०२४ मा भएका ६२ वटा चुनावमा २५ प्रतिशत मतदातासँग सही विकल्प नै थिएन ।
भारत र दक्षिण अफ्रिकाजस्ता देशमा लामो समयदेखि शासन गरिरहेका पार्टीले आफ्नो सत्ता जोगाए तर बहुमत गुमाए । दक्षिण कोरियामा हालै देखिएको राजनीतिक संकटले लोकतन्त्र स्वस्थ हुनुपर्ने महत्त्व फेरि देखाएको छ ।
सन् २०२४ मा युरोपमा दक्षिणपन्थीको उदय भयो । २०२४ मा युरोपका कयौँ स्थानमा दक्षिणपन्थी पार्टीले जित हासिल गरे । जर्मनी, फ्रान्स, अस्ट्रिया र युरोपियन संसद्, रोमानियामा दक्षिणपन्थी शक्ति बलिया भए । रोमानियामा राष्ट्रपति चुनाव फेरि हुँदै छ । यसअघिको चुनावमा रुस र टिकटकले चुनावमा हस्तक्षेप गरेको आरोप छ । यी घटनापछि के युरो फेरि १९३० को दशकको अवस्थातर्फ फर्किंदै छ भन्ने प्रश्न उब्जाएको छ । ३० को दशकमा युरोपमा फासीवाद आफ्नो चरम समयमा थियो ।
सन् २०२४ को बेलायती चुनावमा लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्यो । त्यहाँ असन्तुष्टि कतिसम्म थियो भने चुनावमा आधाभन्दा कम वयष्क मतदाता सहभागी भए ।
तर, विश्वभरि भएका चुनावको विश्लेषण गर्दा, बेलायतलाई एउटा अपवाद मान्न सकिन्छ । विश्वभर भएको चुनावी तथ्यांक अनुसार पछिल्ला २० वर्षमा पहिलोपटक औसत मतदान अनुपात बढेको छ ।
तर, वर्षभरि लोकतन्त्रका केही आधारभूत तत्त्वहरू; अभिव्यक्ति स्वतन्त्रता, समानता असाधारण खतरामा परे । यी खतरामा पर्नु भनेको लोकतन्त्र खतरामा पर्नु हो ।
सन् २०२४ मा लोकतन्त्र, चुनाव ब्यालेट बक्समात्र होइन, सडकमा पनि देखियो । श्रीलंका, बंगलादेश यसका उदाहरण हुन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । “लोकतन्त्रलाई चुनौती दिनेहरूका लागि सबैभन्दा राम्रो जवाफ अझ बढी लोकतन्त्र हो,” कर्नेल विश्वविद्यालयको २०२४ को ग्लोबल डेमोक्रेसी रिपोर्टमा लेखिएको छ ।
यदि २०२४ को वर्षको प्रमुख विशेषता भनेको लोकतन्त्रको विरोध हो । यस वर्ष मान्छेहरूमा लोकतन्त्रका लागि उत्साह र विश्वासको कमी देखियो । अमेरिकामा लगभग आधा मतदाताले लोकतन्त्रले साधारण मानिसहरूको प्रतिनिधित्व राम्रोसँग नगरेको बताए । त्यस्तै, ३० भन्दा बढी अफ्रिकी देशहरूको सर्वेक्षणमा लोकतन्त्रप्रति समर्थन घटेको देखियो ।
“मान्छेहरूले लोकतन्त्र मान्न छोडिसकेको भन्ने भन्नु जोखिमपूर्ण छ । तर, लोकतन्त्रबाट प्राप्त हुने अपेक्षा भने घटेका छन्,” मेलबर्न विश्वविद्यालयका एसिया इन्स्टिच्युटका निर्देशक वेदी हदिज भन्छन् ।
उनी अगाडि भन्छन्, “पश्चिमका सबै प्रमुख लोकतान्त्रिक राष्ट्रहरूले राइटविङ जनताको भावना देखेर लोकतन्त्रको पछाडि फर्काएका छन् ।”
लोकतन्त्रलाई पछाडि फर्काउने प्रक्रिया धनी राष्ट्रमा देखिन थालेको छ । सन् २०२४ मा संसारकै धनी व्यक्ति एलन मस्कले डोनाल्ड ट्रम्पको अभियानमा २०० मिलियन डलरको योगदान मात्र गरेनन् । उनले ट्रम्पको चुनावी र्यालीलाई प्रत्यक्षरूपमा सघाए । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्स पनि ट्रम्पको पक्षमा प्रयोग गरे । धनाढ्यहरूको सरकार र चुनावमा बढ्दो प्रभावले लोकतन्त्रलाई आम मान्छेको हातबाट खोस्ने खतरा छ ।
विगतका वर्षहरूको तुलनामा, सन् २०२४ मा चुनावमा बढी मानिसहरूले मतदान गरे । तथापि, राजनीतिक दलहरूले महिलाहरूलाई नेतृत्वमा ल्याउने धेरै प्रयास गरेनन् । इन्डोनेसिया, भारत, बेलायत, पाकिस्तान र दक्षिण अफ्रिकामा मुख्य पदका लागि कुनै महिला उमेदवार थिएन ।
नोभेम्बर २०२४ मा, संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरूमा महिला सरकार प्रमुखहरूको संख्या १७ पुगेको थियो । जबकि, सन् २०२३ मा १९ वटा राष्ट्रमा सरकार प्रमुख महिला थिए । यद्यपि, मेक्सिकोमा क्लाउडिया शेइनबामले राष्ट्रपति पद जितिन् । मेक्सिकोको संसद्मा महिला सहभागिता विश्वभरका सबै देशको तुलनामा धेरै छ ।
यी अनेक अड्चनका बाबजुद २०२४ को मुख्य विशेषता ८० देशका अर्बौं नागरिकले मतदान गरे । लोकतन्त्रको प्राण नै नागरिकले नेता छान्न पाउनु हो ।