site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विद्या भण्डारी अर्थपूर्ण भेटघाटमा, पाँच दिनदेखि पोखरामा  कार्यकर्ता भेटघाट र मन्दिर दर्शनमा व्यस्त !
फाइल तस्बिर

काठमाडौं । पछिल्ला दिनमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियता बढेको छ । नेकपा (एमाले)को सक्रिय राजनीतिमा फर्कने चर्चाकाबीच पछिल्ला भ्रमण र भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

उनी पाँच दिनयता पोखरामा छिन् । धार्मिक भ्रमणसँगै स्थानीयस्तरका नेता/कार्यकर्ता भेटलाई तीव्रता दिइरहेकी छन् । भण्डारी पुस २ गते पोखरा पुगेकी हुन् । त्रिभुवन विश्वविद्यालय र चिनियाँ युनिभर्सिटीको आयोजनामा पुस ४ गते पोखरामा भएको ‘फेवा डाइलग’मा सहभागी हुन् उनी दुई दिनअघि नै पुगेकी थिइन् ।

भण्डारी सोमबार काठमाडौं फर्कर्ने उनका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए । होटल ग्रान्डमा रहेर भण्डारीले एमाले नेता कार्यकर्ता, संघसंस्थाहरूका प्रतिनिधिसँग भेटघाट गरेको एमाले कास्की इन्चार्ज कृष्ण थापाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

“भेटका लागि समय मिलाएर आएकाहरूसँग भेटघाट भएको हो । नेता, कार्यकर्ता, सामाजिक संघसंस्थाका व्यक्ति, महिला समूहसँग आवद्धहरूसँग भेटघाट भएको हो,” थापाले बताए । 

भण्डारीले एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारी, प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसी, सांसद, पार्टीका केन्द्रीय सदस्य, नेता कार्यकर्तालगायतसँग भेट गरेकी छन् ।

भण्डारीले भेटघाटसँगै मन्दिरहरूको भ्रमण पनि गरिन् । उनी पुस २ गते कास्कीको नवनिर्मित शिव मन्दिरको भ्रमण गरेकी थिइन् । पुस ३ गते भेटघाटमा व्यस्त रहिन् । पुस ४ फेवा डाइलगमा सहभागी बनिन् । 

पुस ५ गते (शुक्रबार) पोखराबाट स्याङ्जा पुगेकी थिइन् ।  कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकन गर्न सडकमार्ग हुँदै त्यहाँ पुगेकी थिइन् । भण्डारीलाई स्याङ्जा र कास्कीको सीमाना फेदीखोलादेखि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीय, कार्यकर्ताहरूले स्वागत गरेका थिए । 

उनलाई जिल्लाका विभिन्न ठाउँमा फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरिएको एमालेका एक नेता बताउँछन् । मन्दिर दर्शनमा पुगेकी भण्डारीलाई कालीगण्डकी गाउँपालिकाले पनि स्वागत गरेको थियो । 

पालिका अध्यक्ष खिमबहादुर थापाले उनी राष्ट्रपति हुँदा आउने अवसर नजुरेकाले पोखरा आउँदा स्वागत गर्न पाइएको सुनाए ।  “राष्ट्रपति हुँदै दर्शन गर्न खोज्नुभएको थियो । त्यतिबेला अनुकूल समय भएन ।  पोखरामा कार्यक्रम भएको मौकामा यहाँ आउनुभएको हो,” उनले भने, “त्यही दिन पुजा गरेर एक घण्टाजति बसेर पोखरा फर्कनुभयो ।”

उनले ६ गते (हिजो) स्याङजाको सालमे डाँडामा गोर्खा स्मारकको भ्रमणमा पुगिन् । आज बिहान सारङकोट पुगेकी थिइन् । त्यहाँ पनि भेटघाट कार्यक्रम थियो ।  आज साँझ गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा महानगर प्रज्ञा प्रतिष्ठानको सांस्कृतिक कार्यक्रममा सहभागी हुने तय भएको छ ।

नेकपा एमालेभित्र ‘सुशुप्त’ ढंगले सक्रिय भएकी भण्डारीको यो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

नेता कार्यकर्ताको मनोभावना बुझ्दैछिन् भण्डारी ? 

एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले शीतल निवासबाट बाहिँरिदा सरकारी सुविधा लिइनन् । उनी एमालेको राजनीतिमा सक्रिय हुने उद्देश्यले सुविधा नलिइ चपलीमा निजी निवासमा सरेको एमाले नेताहरू बताउँछन् ।  शीतल निवासबाट बाहिरिएको केही समयपछि उनी सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् । एमालेले गएको वैशाख १० गते भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मानित ग¥यो ।

कम्युनिस्ट पार्टी स्थापना भएको ७५औं वर्ष पूरा भएको अवसरमा गोदावरीमा आयोजित विशेष कार्यक्रममा उनलाई सम्मान गरिएको थियो । २५औं स्मृति दिवसका अवसरमा  मनमोहन स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको कार्यक्रममा भण्डारी प्रमुख अतिथि थिइन् ।

जेठ १६ र १७ गते ३२ जनसंगठनका महिलाहरूको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेकी थिइन् । त्यसयता कार्यक्रमहरूमा सहभागी हुँदै आएकी छन् । पार्टीमा भण्डारीको आगामन–बहस अनेक कोणबाट चलिरहँदा उनको राजनीतिक भेटघाटले त्यही ढंगले हेरिँदैछ । 

उता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकट पोखराका एक नेताले पार्टी कार्यकर्ताको मन बुझ्ने मनसाय भण्डारीमा देखिएको सुनाए । 

“पार्टीभित्र वस्तुस्थिति कस्तो छ भनी बुझ्न खोजेको देखिन्छ,” ती नेता भन्छन्, “सबै तहका नेताहरूले भेट्नुभएको छ । यहाँ मात्रै होइन, पछिल्ला उहाँको भेटघाटले हैसियत परीक्षण गरेको बुझिन्छ ।”

तर, इन्चार्ज थापाले भने भण्डारीले राजनीतिमा फर्कने तयारी स्वरूप भेटघाट नगरेको दाबी गरे । 

“उहाँले राजनीतिमा आउने गरी भेट भएको भन्ने हामीलाई लागेको छैन । यहाँ व्यक्तिगत र पारिवारिक भेटघाट गरिरहनुभएको छ,” उनले भने । 

थापाले पारिवारिक भेटवार्ता पनि रहेको आफूले पाएको बताए ।  पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ भण्डारीकी मितिनी हुन् । उनीहरूबीच भेट भएको थियो ।  भण्डारीका स्वकीय राईले निवासमा पनि भेटघाट हुने गरेर र अहिलेको भेट पनि सोही प्रकारको भएको बताए । 

“यहाँ पनि भेटघाटमा आउनेहरूसँग भेट गरिरहुनुभएकै छ । त्यहाँ भेटघाट भएको हो । उहाँले राजनीतिका विषयमा केही भन्नुभएको छैन,” उनले भने । 

ओलीले दिएको चेतावनी 

एमाले अध्यक्ष ओलीले भण्डारीलाई पार्टीमा सक्रिय बनाउने विषयमा नलाग्न नेता कार्यकर्तालाई चेतावनी दिइसकेका छन् ।  मंसिर ३० गते स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा ओलीले भण्डारीलाई ‘गल’ नलगाउन चेतावनी दिएका थिए । 

“पूर्वराष्ट्रपति कहाँ गएर (पार्टीमा) आइदिनुप¥यो भनेर गल नलआउनुस्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बाह्रखरीसित भने, “उहाँ (विद्या भण्डारी) सर्वोच्च भइसकेको व्यक्ति हो, आवश्यकता पर्दा हाम्रै सल्लाहमा आउनुहुन्छ ।”

पार्टीमा भण्डारी आउनुपर्ने पक्षमा नेताहरूले लबिङ गरिरहेका छन् । लबिङ नगर्न ओलीले चेतावनी समेत दिइसकेका छन् ।  कार्यशालामा ओलीले पार्टीमा कुनै गुट नरहेको दाबी गरेका थिए ।  उनले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट नरहेको भन्दै गुटगत गतिविधि नगर्न चेतावनी पनि दिएका थिए ।

पार्टीभित्र गुटगत राजनीति हाबी भएपछि ओलीले चेतावनी दिएको नेताहरू बताउँछन् । ओलीले कार्यशालामार्फत् भण्डारीलाई तयारी नगर्न चेतावनी दिएको एक नेता बताउँछन् । 

“स्वास्थ्यले साथ दिँदासम्म उहाँ नै अध्यक्ष बन्ने हो । पार्टीमा विद्या भण्डारी आउनुपर्छ भन्नेहरूलाई ११औं महाधिवेशनबाट आफैँ अध्यक्ष हुने सन्देशसहित तयारी नगर्न चेतावनी दिनुभएको हो,” ती नेता भन्छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro