फेसबुकमा बाइस केले लाइक गरेको कुनै पोस्टलाई बेचैनकुमारले पनि लाइक गरे । त्यो पोस्टको विषयवस्तु नै यति दमदार थियो कि जो कोही पनि प्रतिक्रियाविहीन भएर बस्नै सक्दैनथ्यो ।
तर, त्यो पोस्टले शासकको खुब चित्त दुखाएछ । निन्द्रा खलबल्याएछ । फलतः भोलिपल्टै त्यो पोस्टविरुद्ध सूचना जारी भयो । सूचना थियो– समाजको अमनचयन र शान्ति सुव्यवस्थामा खलल पार्ने अराजक पोस्टका सर्जक र पोस्टलाई लाइक, सेयर गर्ने र समर्थन गरी कमेन्ट गर्नेहरू सबैलाई साइबर अपराधको कानुन लगाइनेछ ।
हजारौँ मान्छेलाई कारबाही गरेर कसरी सक्ला र शासकले ! फेरि, त्यहाँ नभएको कुरा त केही पनि लेखेको छैन नि भनेर बेचैनकुमार ढुक्क थिए । सूचना जारी भएको भोलिपल्ट उनले सोही पोस्ट हेरे । पोस्टमा शासकका गलत कर्मको सत्यतथ्य कुराबाहेक केही थिएन । शान्ति सुव्यवस्था र अमनचयनमा खलल पार्नु त परको कुरा !
तर, यतिखेर पोस्टमा उनीसहित जम्मा एक सय बाइसजनाको मात्रै लाइक बाँकी थियो । धेरैले फिर्ता लिइदिएकोले आफ्नो सूचना कार्यान्वयन गर्न शासकलाई पनि सजिलो भयो ।
तर, उनलाई लाइक फिर्ता लिन मन लागेन । आफ्नो अडानमा अडिइरहे । र, गिरफ्तारी दिएर शासकको सूचना कार्यान्वयन गर्ने काममा सहयोग नै गरे ।
सहयोग गरुन्जेल उनले लाइक फिर्ता लिने एक्काइस हजार आठ सय अठहत्तरको प्रवृत्तिको बारेमा राम्ररी बुझ्ने मौका पाए । अनि निष्कर्ष निकाले– यो प्रवृत्ति ज्युँदो रहुन्जेल शासकहरू सुध्रिने कुनै सम्भावना छैन ।