काठमाडौं । नेपाली चलचित्रमा ‘मिसकास्ट’ समस्याकै रूपमा देखिएको छ । चरित्र सुहाउँदो व्यक्तिलाई कास्ट गर्नुभन्दा पनि आफूअनुकूललाई चलचित्रमा लिने गरिएको छ । यो कमजोरी रहेको स्वयं चलचित्रकर्मी बताउँछन् । यो प्रवृत्ति बढ्दै जाँदा मिसकास्टको समस्या पनि चुलिँदै गएको छ ।
निर्माता र निर्देशक मार्केट ओरियन्टेड हुनु नै मिसकास्ट बढ्नुको मुख्य कारण भएको निर्देशक सुजित बिडारीको निष्कर्ष छ । कुन कलाकारको अनुहार बजारमा बिक्छ भनेर कास्ट हुने गरेको उनी बताउँछन् ।
“राइटरले चलचित्रको कथा लेख्दा पात्र सुहाउँदो कलाकारको इमेज दिमागमा आउँछ । कथा जसले लेखेको हो, उसैले निर्देशन गर्यो भने सायद कथा र कलाकारमा अलि बढी सिंक्रोनाइज हुन्छ होला,” सुजित भन्छन्, “कथा एउटाले लेख्ने तर निर्देशन अर्कैले गर्दा पनि कथाको पात्र र निर्देशकले छनोट गरेको कलाकारबीच सिंक्रोनाइज नभएको हुनसक्छ ।”
मिसकास्ट भयो र भइरहेको छ भनेर जाँच गर्ने प्यारामिटर नै त नरहेको तर चलचित्र हेर्दा अनुभूत हुने गरेको उनी बताउँछन् । लगानीकर्ता आफैँ चलचित्रमा अभिनय गर्ने रहरले पनि यो समस्या देखिने गरेको उनी सुनाउँछन् ।
“फाइनान्सरले पनि आफैँ चलचित्र खेल्ने रहर गरेको देखिन्छ । हिरो नै हुने र लवरब्वाई भएर नै खेल्ने रहर गरेको पाइन्छ,” उनी अगाडि थप्छन्, “म कुन भूमिकामा सुहाउँछु भन्ने सामान्य ज्ञान समेत नहुँदा पनि चलचित्रमा मिसकास्ट भइरहेको छ ।”
फाइनान्सरले आफन्तलाई नै चलचित्रमा खेलाउन निर्देशकलाई दबाब दिँदा पनि मिसकास्ट हुने सुजितको भनाइ छ । “आफैँ खेल्नुपर्ने, छोराछोरी वा दाजुभाइ र आफ्ना आफन्तलाई डेब्यु गराउनैपर्ने सोच पनि छ,” उनी भन्छन्, “चलचित्रमा नै करिअर खोज्छु भन्ने रहर गर्ने तर त्यसका लागि तयारी नगर्ने र कुन रोलका लागि उपयुक्त हुन्छ भन्नेमा गम्भीरता नदेखिँदा मिसकास्ट भइरहेको चलचित्र हेर्दा देखिन्छ ।”
अभिनेता प्रदीप खड्का फेस भ्यालु भएको कलाकारमा भर पर्ने प्रवृत्ति हाबी हुँदा धेरै समस्या हुने गरेको बताउँछन् । पात्र कस्तो छ र त्यसले कसलाई डिमान्ड गर्छ भन्नेभन्दा पनि कसको फेस बिकाउने भन्नेमा मेकर केन्द्रित हुँदा समस्या भइरहेको उनको बुझाइ छ ।
योसँगै अर्को मुख्य समस्या अडिसन लिने र दिने ट्रेन्ड विकास नहुनु भएको अभिनेता प्रदीप बताउँछन् । “हाम्रोमा अडिसन लिने र दिने चलन नै विकास भएको छैन । यदि, अडिसन दिने र लिने प्रचलन बस्यो भने मिसकास्ट हुँदैन,” उनी भन्छन्, “तर, यहाँ अडिसन त करिअरका लागि संघर्ष गरिरहेको व्यक्तिले पो दिने हो त भन्ने मानसिकता कलाकारको छ । मेकरले पनि स्थापित भइसकेको कलाकारलाई अडिसन देऊ भन्दा उसले ह्युमिलेट गरेको फिल गर्ने हो भनेर भन्न नसक्ने अवस्था छ ।”
स्थापित भइसकेको कलाकारले अडिसन दिनै हुन्न र मेकरले पनि लिनु हुन्न भन्ने मानसकिता गलत भएको उनको धारणा छ । अडिसन लिएर उसको लुक्स क्यारेक्टरमा म्याच हुन्छ कि हुँदैन हेरेर मात्र कास्ट गर्ने अथवा नगर्ने निर्णय गर्नुपर्नेमा उनी जोड दिन्छन् । यसका निम्ति दुवै पक्ष ‘लिवरल’ हुनुपर्ने उनी बताउँछन् ।
तर, नेपालमा ‘एस’ वा ‘नो’मा काम हुने गरेको उनको टिप्पणी छ । मेकर र कलाकार खुला रूपमा बसेर के सही र के गलत, के गर्दा राम्रो हुन्छ भनेर काम नहुँदा कतिपय सन्दर्भमा मिसकास्ट हुने गरेको उनी बताउँछन् ।
आफ्नो प्रोजेक्टमा भन्दा पनि कलाकारको फेस भ्यालुमा विश्वास गर्ने प्रवृत्ति रहेको प्रदीपको बुझाइ छ । आफ्नो प्रोजेक्ट र फेसभन्दा पनि कथामा विश्वास गर्ने हो भने मिसकास्टको समस्या धेरै हदसम्म न्यूनीकरण हुने उनको विश्वास छ ।
“म आफैँले पनि प्रकाशमा काम गर्नुभन्दा अगाडि म प्रकाशमा फिट हुन्नँ होला भनेर भनेको थिएँ । तर, मेकरले होइन, तिमी सुट हुन्छौ भन्नुभएको थियो,” प्रदीप भन्छन्, “आफूले शंका गर्दा पनि मेकरले हुन्छ भनेपछि त्यसो भए तपाईंकै रिस्क है त भनेर काम गर्नुपर्ने अवस्था छ ।”
नायिका वर्षा शिवाकोटी पनि हाल नेपाली चलचित्र उद्योगमा मिसकास्ट भइरहेको बताउँछिन् । हरेक एक्टरमा आ–आफ्नो विशेषता र क्षमता हुने तर त्यसबाहिर गएर निर्देशकले कसरी काम लिन्छ त्यसमा भरपर्ने उनको भनाइ छ । दयाहाङ राई, सौगात मल्ल, विपीन कार्कीलगायत कलाकारलाई व्यापारिक आँखाबाट मात्र हेर्ने गरिएको र यसैले समस्या सिर्जना गरेको उनको बुझाइ छ ।
“कुन कलाकारले कति काम गर्न सक्छ र उसलाई कति सुहाउँछ त्यसले ठूलो अर्थ राख्छ,” वर्षा भन्छिन्, “म आफैँलाई एकदमै गरिब युवतीको रोल सुहाउँदैन । मैले जबरजस्ती पुस गरेर त्यो पात्रलाई न्याय गर्दैन । यसमा निर्देशक कन्भिन्स हुनुहुन्छ भने त्यहाँ राम्रो काम देखिँदैन ।” यो समस्या नेपाली चलचित्रमा देखिरहेको उनी सुनाउँछिन् ।
कतिपय कलाकारले ‘आउट अफ ट्रयाक’ गएर काम गर्ने रहर गर्दा र निर्देशकले ऊबाट काम निकाल्न नसक्दा सिनेमा चुकिरहेको उनको निष्कर्ष छ । “यो निर्देशकले आफ्नो चलचित्रमा देख्नुपर्ने चिज हो । कति क्यारेक्टर मिसकास्ट भइरहेको छ,” वर्षा अगाडि थप्छिन्, “एक्सन गर्ने कलाकार चाहिएको छ भने हरेक दृष्टिकोणबाट ऊ त्यसमा फिट हुनुपर्छ, भएन भने त्यो चलचित्र बिग्रिन्छ ।”
‘१२ गाउँ’का निम्ति समीर भट्ट सही कास्ट भएको वर्षाको विश्लेषण छ । “सायद समीरजीले कमेडी फिल्मबाट डेब्यु गरेको भए यो तहको तारिफ मिल्दैन थियो होला,” उनी भन्छिन्, “उहाँले आफूलाई जसरी तयारी गर्नुभएको थियो, त्यही जानरामा काम गर्नुभयो र राम्रो भयो ।”
निर्माता र निर्देशकले व्यापारिक आँखाले मात्र कलाकारलाई हेर्नु नै समस्या भएको उनको जिकिर छ । विजय बराल ‘पूर्ण बहादुरको सारङ्गी’मा परफेक्ट सुट भएकै कारण राम्रो भएको उनी बताउँछिन् ।
“पूर्ण बहादुरको साङ्गीमा पूर्णबहादुरको क्यारेक्टरमा अहिले हामी अरू क्यारेक्टर सोच्न पनि सक्दैनौँ । तर, अब उहाँले भटाभट पाँचवटा सिनेमा साइन गर्नुभयो भने सबै यस्तै सुट हुन्छ भन्ने छैन,” उनी भन्छिन्, “अब कास्टिङ गर्ने तरिकामा पनि विकास हुनुपर्यो ।”
रिस्क कम गर्ने सोचमा झन् धेरै जोखिम थपिएको वर्षाको भनाइ छ । एउटै कलाकारका चलचित्र निरन्तर आइरहने भएकाले एक्टरले केही नयाँ गर्न खोजे पनि दर्शकलाई मोनोटोनस हुने गरेको उनको बुझाइ छ ।
दर्शक रिफ्रेसमेन्ट हुनका लागि हलमा जाने र फरकफरक टेस्ट र परिवर्तन खोज्ने भएकाले मिसकास्ट भइरहेको छ कि छैन भन्नेमा विचार गरिनुपर्नेमा उनी जोड दिन्छिन् ।
“दर्शकलाई कन्भिन्सिङ क्यारेक्टर चाहिरहेको छ, तर कति चलचित्रमा जबरजस्ती काम गराइरहेको देखिन्छ,” वर्षा अगाडि थप्छिन्, “केही महिनाअगाडि रिलिज भएको चलचित्र रावायण क्यारेक्टरको लुक्सले नै चलेन । यो चलचित्रको मुख्य समस्या नै मिसकास्ट हो भन्ने लाग्छ ।”
कमर्सियल रूपमा सफल हुने सोचमा रहँदा झन् ठूलो समस्या भइरहेको तथ्यलाई भुल्न नहुने उनी बताउँछिन् ।
नेपाली चलचित्र उद्योगमा कास्टिङ गरेर कलाकार छनोट गर्ने प्रचलन सुरु नभएको होइन । तर, यो हरेक चलचित्रमा लागु भएको छैन । केही चलचित्रले कास्टिङ डिरेक्टर भनेर क्रेडिटलाइनमै नाम राखेका हुन्छन् । तर, ती कास्टिङ डिरेक्टर कति स्वतन्त्र भएर काम गरिरहेका छन् भन्ने मुख्य प्रश्न हो ।
“क्रेडिटलाइनमा कास्टिङ डिरेक्टरको नाम राखेर मात्रै हुँदैन, त्यो डिरेक्टर कलाकार कास्ट गर्न निर्देशक र निर्माताबाट कति स्वतन्त्र छ भन्ने मुख्य कुरा हो,” एक निर्देशक भन्छन्, “मुख्य भूमिकामा को कलाकार लिने अधिकांश चलचित्रमा फाइनान्सरले निर्णय गर्छन् । फाइनान्सर हाबी भएन भने मुख्य कलाकार निर्देशकले कसको कति स्टारडम छ भनेर लिने हो ।”
कास्टिङ डिरेक्टरले सानातिना रोल र पासिङ कलाकार मात्र छनोट गर्ने अवस्था रहेको ती निर्देशक सुनाउँछन् । निर्देशकले डिल गर्न नभ्याउने कलाकारलाई मात्र कास्टिङ डिरेक्टरले छनोट गर्ने अवस्था रहेको ती निर्देशकको भनाइ छ ।