site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
गान्धीवादी नेता महेन्द्रनारायण निधिको मूल्यांकन हुनै सकेन 

पत्रकारिता र लेखनका क्षेत्रमा आधा शताब्दीभन्दा बढी समयदेखि निरन्तर सक्रिय छन्, किशोर नेपाल । पछिल्लो समय उनी पत्रकारिताभन्दा पनि पुस्तक लेखनमा क्रियाशील छन् । केही समयअघि उनले ‘नेपालका निधि’ पुस्तक पाठकमाझ ल्याएका छन् । पुस्तकमा उनले नेपालका गान्धीवादी सन्तनेता महेन्द्रनारायण निधिको जीवनका आयामलाई प्रस्तुत गरेका छन् । सोही पुस्तकमाथि केन्द्रित रहेर अग्रज पत्रकार नेपालसँग बाह्रखरीका राजेश खनालले गरेको किताब वार्ताको सम्पादित अंश ः

‘नेपालका निधि’का निम्ति महेन्द्रनारायण निधि नै किन छान्नुभयो ?
मैले देखेको मधेसका नेताहरूमा प्रतिभाशाली नेता हुनुहुन्थ्यो, महेन्द्रनारायण निधि । उहाँ पहिले पिताजीको व्यापार, व्यवसायमा संलग्न हुनुहुन्थ्यो । पछि बीपी कोइराला र राममनोहर लोहियासँगको संगतले उहाँ राजनीतिमा आउनुभयो । निधिजी २००७ सालमा जनकपुर क्षेत्रको क्रान्तिका कमान्डर हुनुहुन्थ्यो । महोत्तरी–सर्लाही पनि त्यसमै थियो । अझै मधेस त्यतिखेर कोसीदेखि वाग्मतीसम्मका क्षेत्रमा उहाँहरूको कमान्डमा थियो ।

रुद्रप्रसाद गिरी र महेन्द्रनारायण निधि बढी सक्रिय हुनुहुन्थ्यो, त्यो क्रान्तिमा । त्यतिखेर महोत्तरी कब्जामा लिएपछि रुद्रप्रसाद गिरी क्रान्तिकालीन सरकारका अध्यक्ष हुनुभयो भने महेन्द्रनारायण निधि प्रधानमन्त्री । त्यसपछि निधिजीको राजनीति नेपाली कांग्रेसबाट अगाडि बढ्यो । उप्रान्त उहाँले संगठन विस्तारका क्षेत्रमा धेरै काम गर्नुभयो । वास्तवमा निधिजीमा पूर्वाग्रही सोच थिएन । उहाँ कुनै पनि राजनीतिक दलप्रति पूर्वाग्रही हुनुहुन्थेन ।

Dabur Nepal
NIC Asia

पञ्चायतकालमा मैले उहाँसँगै जेलमा बस्ने मौका पाएँ । करिब छसात महिना उहाँसँगै जलेश्वर जेलमा थिएँ । यो २०२६ सालतिरको कुरो हो । त्यस बेलादेखि नै मैले उहाँको जीवनलाई नजिकबाट नियाल्ने मौका पाएँ ।

तपाईं कसरी जेल पर्नुभयो ?
म पनि प्रजातान्त्रिक आन्दोलनको एउटा ‘एक्टिभिस्ट’ थिए नि ! म पहिलोपल्ट काठमाडौंमा समातिएँ, प्रदीप (गिरि) दाइसँगको चिनापर्ची र सम्पर्कपछि । त्यसपछि म नेपाली कांग्रेसको एक्टिभिटीमा लागेँ । त्यतिखेर नेपाल विद्यार्थी संघको स्थापना भइसकेको थिएन । पछि मलाई नुवाकोट जेलमा सारियो । त्यति बेला बाटोघाटो थिएन । गुन्टा पनि आफँैले बोकेर जानुपर्थ्यो । नुवाकोटमा तीन महिना बसेँ । त्यहाँ म बिरामी परेँ, र पछि काठमाडौं फर्किएँ ।

काठमाडौंमा विद्यार्थी आन्दोलनको तयारी हुँदै थियो । फेरि, मलाई नै ताकियो । म अलि केटाकेटी पनि र बढी सक्रिय पनि । त्यसै बेला मलाई शंकर घिमिरेलगायत साथीहरूले भन्नुभयो, ‘तँ जेल जाने होइन, जनकपुर जा ! विद्यार्थी संघको गठनको तयारी हुँदै छ, त्यहाँ गएर साथीभाइलाई सघाउनू र आफ्नो इनपुट पनि दिनू ।’ त्यसपछि म ट्रकमा चढेर जनकपुर गएँ ।

ट्रकमा ? बस त थियो क्यारे !
त्यति बेला हाम्रो बस चढेर हिँड्ने औकात नै कहाँ थियो र ! म यहाँबाट रक्सोल गएँ र त्यहाँबाट जनकपुर । जनकपुरमा म सरोजप्रसाद कोइरालाको घरमा बसेँ । सरोज दाइ गजबका नेता । उहाँले मलाई के भन्नुभयो भने– तिमी (महेन्द्रनारायण) निधिजीलाई भेट ।

म निधिजीलाई भेट्न गएँ । मिल्स एरियामा उहाँको घर थियो । भेटपछि म उहाँदेखि प्रभावित भएँ । आश्चर्य, उहाँ पनि मदेखि प्रभावित हुनुभएछ !

निधिजी प्रखर लेखक पनि हुनुहुन्थ्यो । उहाँ लेखहरू लेखिरहनुहुन्थ्यो । उहाँमा दृष्टिकोण थियो, चिन्तन प्रणाली थियो । बीपी कोइराला र राममनोहर लोहियासँग संगत गरेको मानिसमा त्यो क्षमता हुनु स्वाभाविक हो ।

त्यसैबखत उहाँले ‘हिमाल एसिया’मा एउटा लेख लेख्नुभयो । त्यो पत्रिका पटनाबाट निस्किन्थ्यो । त्यसै लेखलाई लिएर उहाँलाई राजकाज मुद्दा लाग्यो । मलाई भने निधिजीको त्यो लेखलाई सर्वत्र फैलाउनुपर्छ भन्ने लाग्यो । तिनताक फोटोकपी मेसिन थिएन । मैले आफ्नै हिसाबले लिथो प्रिन्ट गरेर देशभरि नै पुर्‍याएँ । त्यो लेखको यति माग भयो कि पछि मैले जयनगर पुगेर लेख रिकम्पोज गरेर छापेर फेरि बाँडेँ ।

मेरो काम लेख सर्कुलेट गर्ने भएको थियो । त्यसैक्रममा म पनि समातिएँ । अनि, मलाई पनि निधिजीसँगै जलेश्वर जेलमा राखियो । त्यहाँको जनाना जेलमा दुईजना मात्रै महिला कैदी थिए । तिनलाई अन्तै सारेर हामी दुईलाई त्यहाँ राखिएको थियो । त्यसै बेलादेखि मैले निधिजीको अनुशासित जीवन, चिन्तन शैली, दृष्टिकोणलाई नियाल्न थालेँ । ममा उहाँको ठूलो छाप पर्‍यो । पछि मैले उहाँलाई बुझ्दै जाँदा, विश्लेषण गर्दा एउटा यस्तो नेता देखेँ, जो आफ्नो देशको स्वतन्त्रताका लागि कहिल्यै हिन्दुस्तान पसेन ।

उहाँ निर्वासनमा जानु भएन ?
उहाँ निर्वासनमा जानुभयो, एक वर्षजति । तर, निर्वासनमा रहे पनि उहाँ निष्क्रिय भएर बस्नुभयो । जयनगरतिरको एउटा कुनै गाउँमा बस्नुभएको थियो । त्यसपछि उहाँ जनकपुर फर्केर आउनुभयो । उहाँ सुरुदेखि नै गान्धीवादी विचारबाट प्रेरित हुनुहुन्थ्यो । त्यसको पूरा अवलम्बन गर्नुभयो उहाँले ।

जनकपुर फर्किएर कांग्रेस राजनीति गर्न थाल्नुभयो र संगठनमा लाग्नुभयो । उहाँको सरोजप्रसाद कोइरालासँग कुराकानी भइरहन्थ्यो । उहाँहरू दुवै हतियारको क्रान्तिबाट देशमा प्रजातन्त्र ल्याउन सकिँदैन भन्ने मान्यता राख्नुहुन्थ्यो । किसुनजी (कृष्णप्रसाद भट्टराई) पनि त्यही विचार राख्नुहुन्थ्यो । त्यसैबखत किसुनजी जनकपुर आउनुभयो । म उहाँसँग पनि नजिक थिएँ ।

उहाँहरू तीनैजना सत्याग्रहको आन्दोलनबाटै प्रजातन्त्र ल्याउनुपर्छ भनेर लाग्नुभएको थियो । अर्को कुरो के भने, उहाँहरू तीनैजना भारतका नेताहरूकोमा धाउने, यो गर्ने त्यो गर्ने प्रवृत्तिको हुनुहुन्थेन । किसुनजी त सन्त नै हो, अर्को सन्त महेन्द्रनारायण निधि हो ।

सन्तनेता निधिलाई किताबमा ल्याउनुपर्छ भन्ने सोच कतिखेर आयो ? 
जेलमा रहँदा नै उहाँमाथि केन्द्रित एउटादुइटा लेख लेख्छु भन्ने लागेको थियो मलाई । लेख्न सुरु गरिसकेको थिएँ । जनकपुरमै ‘जनआकांक्षा’ साप्ताहिक प्रकाशित हुन्थ्यो । त्यो माधव आचार्यले निकाल्नुहुन्थ्यो । त्यो पत्रिकालाई भीमबहादुर तामाङ, म र अरू केही साथीहरू मिलेर चलाउँथ्यौँ ।

तपाईं भारतीय साप्ताहिक पत्रिका ‘दिनमान’मा पनि लेख्नुहुन्थ्यो, होइन ?
मैले ‘दिनमान’मा २०२८ सालदेखि लेख्न थालेको हुँ । ‘दिनमान’ बन्द नहुन्जेलसम्म त्यसमा लेखेँ । यता जलेश्वर जेलमा रहेका निधिजी र मलाई त्यहाँबाट काठमाडौंको जेलमा सारियो । मलाई एक वर्ष कैद र तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने निधिजीलाई पाँच हजार जरिवाना र खै कति वर्ष हो, कैद तोकिएको थियो । निधिजीले कैदमा छसात महिना बिताइसक्नुभएको थियो । पछि उमेरका कारण निधिजीको कैद सर्वोच्च अदालतले मिनाहा गर्दै जरिवाना तिरेर निस्कने वातावरण बनाइदियो । त्यो बेला पाँच हजार रुपैयाँ उठाउन पनि कठिन थियो र चितवनका साथीहरूले चन्दा उठाएर त्यो पैसा तिरे र निधिजी छुट्नुभयो ।

निधिजीको व्यक्तित्व नै अचम्मको थियो । मेरो उहाँसँगको सम्बन्ध गम्भीर थियो । मर्यादाको झिनो पर्दा थियो त्यो सम्बन्धमा, जसलाई मैले सधैँ मेन्टेन गरेँ । उहाँ पनि मलाई माया गर्नुहुन्थ्यो । उहाँले मलाई ‘तिमी सक्रिय राजनीतिमा नलाग’ भनिरहनुहुन्थ्यो । बडो प्रेरणादायी व्यक्ति हुनुहुन्थ्यो निधिजी ।

२०४७ सालमा जतिखेर गिरिजाप्रसाद कोइरालाले किसुनजीलाई हराएर आफू कांग्रेसको नेता बन्नुभयो, त्यतिखेर धेरैले निधिजीलाई उकासे, ‘तपाईं सिनियर हुनुहुन्छ, तपाईं अगाडि बढ्नुपर्छ । तपाईं प्रधानमन्त्री हुनुपर्छ ।’ तर, निधिजीले भन्नुभयो, ‘म पार्टीको निर्णयभन्दा बाहिर गएर केही गर्दिनँ ।’

कांग्रेसप्रतिको निष्ठा उहाँमा गजबको थियो । उहाँले कहिल्यै पार्टी निर्णयविरुद्ध कसैसँग केही सम्झौता गर्नु भएन । त्यस्तो मानिस पाउन साह्रै गाह्रो छ । वास्तवमा उहाँ आदर्श पुरुष नै हुनुहुन्थ्यो ।

त्यतिखेर मौलाएको अन्तरघातको राजनीतिबाट महेन्द्रनारायण निधिले आफूलाई चटक्क पन्छाएर अलग्गै राख्नुभयो । अनि, मलाई त्यसै बेलादेखि लाग्यो– निधिजीको विषयमा किताब लेख्नुपर्छ ।

नेपालीको मानसिकता कस्तो छ भने मधेसचाहिँ भारतबाटै प्रभावित हो । अहिले पनि त्यस्तो नै भनिन्छ । यो नेपालको स्वशासित भूमिभन्दा पनि भारतपरस्त भूमि हो भन्ने मानसिकता छ । त्यो मानसिकतालाई निधिजीले तोड्नुभयो । निधिजी कहिले पनि औषधि उपचारका लागि बाहेक दिल्ली, पटना जानु भएन ।

वास्तवमा निधिजीको मूल्यांकन हुन सकेको नै छैन । यो समाजमा मूल्यांकन पनि हुन सक्दैन । हामी मधेसमा विकास भएन भन्छौँ, तर आजसम्म मधेसबाट एकजना पनि प्रधानमन्त्री हुन सकेको छैन । यदि, महेन्द्रनारायण निधिलाई त्यसबखत प्रधानमन्त्री बनाएको भए आज मधेस–पहाडको विभेद पनि रहँदैनथ्यो । त्यस बेला नेपाली कांग्रेसले पनि गल्ती गर्‍यो । कांग्रेसले के भन्ने, गिरिजाबाबुले गर्नुभयो ।

निधिजी पदलोलुप हुनुहुन्थेन । राजा महेन्द्रले दुईतीनपल्ट बोलाउँदा पनि मैले तिमीसँग किन भेट्ने भनेर पन्छाइदिनुभयो । त्यो हिम्मत त्यस बेला हुनु आफैँमा ठूलो कुरो हो ।

हेर्दा साधुसन्तजस्तो देखिनु भए पनि दृढ इच्छाशक्ति थियो निधिजीमा । उहाँ सिद्धान्तनिष्ठ पनि उत्तिकै हुनुहुन्थ्यो । बीपी, गणेशमान र किसुनजीझैँ सिद्धान्तनिष्ठ नेताको लहरमा उहाँलाई राख्नुपर्छ कांग्रेसले । तर, उहाँको तस्बिर पनि पोस्टरमा राख्छ कि राख्दैन कांगे्रेसले मलाई थाहा छैन ।

खैर, यसरी मैले उहाँलाई शब्दमा उतार्ने काम थालेँ । यो किताबलाई मैले पाँचपल्ट पुनर्लेखन गरेँ । मिलाउँदै मिलाउँदै जाँदा कतिपय अवस्थामा विभिन्न मानिससँग अन्तर्वार्ता गर्दै त्यसमा थप्दै पनि गएँ । यस काममा मलाई भाइ सञ्जीवन महर्जनले खुबै सघाए ।

निष्ठावान् राजनीतिज्ञको जीवनी कागजमा उतार्न सजिलो त पक्कै थिएन होला !
एकदम कठिन काम हो यो । निधिजीको यो किताब लेख्नुको मूल उद्देश्य के हो भने, हाम्रो राजनीतिक समाज यति भ्रष्ट हुँदै गएको छ, त्यस स्थितिमा यो किताबले केही सकारात्मक दृष्टिकोण दिन सक्ला कि भनेर हो । मैले मधेसमा निधिजीजस्तो सुपात्र पाइनँ ।

खासमा नेपाली राष्ट्रवादसँग मधेसलाई जोड्ने प्रयास नै भएन । ०४७ सालमा निधिजीलाई प्रधानमन्त्री बनाइदिएको भए मधेसबाट एउटा प्रधानमन्त्री आयो भन्ने हुन्थ्यो । सबैका लागि यो गौरवको कुरा पनि हुन्थ्यो । तर, मधेसको गौरव पहाडिया राजनीतिक समाजले कहिले बुझ्नै सकेन ।

आजकल किताब किन्ने फेसन भएको छ, तर मानिस किताब पढ्दैनन् । पढ्ने हो भने यस किताबभित्र केही सन्देश छ ।

हाम्रो देशको दरिद्रता, विपन्नताका कारण पनि हो, हामीले सही मानिसलाई सही ठाउँमा राख्नै सकेनौँ । ०४७ सालपछि महान् क्रान्तिकारी हुनुहुन्थ्यो, गिरिजाप्रसाद कोइराला । त्यसमा कुनै शंका भएन । विराटनगर आन्दोलनदेखि ०६२ को सहमतिसम्म उहाँले राम्रो काम गर्नुभएको छ । त्यसमा मेरो कुनै आपत्ति छैन । राम्रो काम गर्दागर्दै पनि उहाँ सिंगो पुस्तकको विषय बन्न सक्नु हुन्न । किनभने, ०४७ सालपछिको उहाँको जीवनलाई केलाएर हेरियो भने सत्ताको बचावट, एकलाई भिडाउने अर्कोलाई जोगाउने काममा मात्रै उहाँको जिन्दगी सकिएको देखिन्छ ।

निधिजीको एउटा प्रसंग छ – महेन्द्रनारायण निधिले मर्स्याङ्दी आयोजनामा जाँदा त्यस वरपरको गाउँका मानिसले बिजुली पाएनन् भन्ने सुन्नुपर्‍यो । निधिजीले ‘जुन ठाउँको पानीले बिजुली उत्पादन हुन्छ, त्यही ठाउँका मानिसले बिजुली पाउँदैनन् भने त्यस्तो बिजुली के काम !’ भन्नुभयो र ठाडो आदेश गरेर स्थानीय गाउँलाई बिजुली वितरण गरेर आउनुभयो । १२/१४ महिना जलस्रोतमन्त्री हुँदाको अवधिमा उहाँले जे जति गर्नुभयो, त्यस्तो त्यस हिम्मतका साथ अरू कसैले काम गर्न सकेका छैनन् ।

आजकल पठन संस्कृति किन कमजोर हुँदै गएको होला ?
सबैभन्दा ठूलो कुरो हाम्रो शिक्षा नै अधोगतिमा छ । हाम्रो शिक्षामा ‘भ्यालु सिस्टम’ नै छैन । आईए, बीए पास गर्ने, चाकरी गर्ने, कि त वैदेशिक रोजगारमा जाने कि जागिर मात्रै खाने प्रवृत्ति छ ।

त्यसमाथि अब फेसबुक र ट्विटरको भेलले मानिसको पढ्ने बानीलाई सिध्याएको छ । त्यसले क्षति गर्दै गएको छ । मेरो सोच के हो भने किताब लेखूँ, कसै न कसैले त पढ्लान् नि ! चारजनाले पढ्दा आठजनामा म्यासेज जान्छ । समाजलाई म्यासेज दिनु त पर्‍यो नि !

मलाई श्रद्धा लाग्ने नेता हुनुहुन्छ, महेन्द्रनारायण निधि । त्यसैले उहाँका बारेमा लेखेको हुँ । म किसुनजीको बारेमा पनि लेख्छु । गणेशमानजी (गणेशमान सिंह)को बारेमा मैले आधाजति लेखिसकेको छु ।

जहाँसम्म यो किताबको कुरो छ, मलाई निधिजीबारेमा लेख्न किन पनि मन लाग्यो भने, आज मधेसको जुन हालत छ, आज त्यो नेपालमा छ कि मधेस बेग्लै प्रदेश हो कि, त्यो विहार वा उत्तर प्रदेशको हो कि ! मानिसमा संशय छ, मधेसको मानिसमा किन संशय गर्ने ? जहाँ ६० प्रतिशतभन्दा बढी नेपाली आश्रित छन्, जहाँका मानिस वैदेशिक रोजगारीमा जाँदा घरमा पैसा पठाउँछन्, अन्तकाले पठाउँछन् ? पठाउँदैनन्, तिनले उतै सेटल गर्छन् । उतै बस्ने काम गर्छन् र बुढा बाबुआमालाई ४०/५० डलर पठाइदिन्छन्, बस् ।

पहाडको समस्या र मधेसको समस्या अलगअलग होइन । मधेसले पहाडलाई कहिले पनि भिन्न भनेर सोच्दैन । तर, पहाडमा मधेसी जानेबित्तिकै अनेक भन्छन्, शब्द प्रयोग गर्छन् । यो राणाकालीन मानसिकता हो र त्यसैले थिचेको छ नेपालीलाई । यस सन्दर्भमा निधिजीको यो किताबले अलिकति मात्रै पनि चेतना दिन्छ कि !

कांग्रेसमा यसरी किताबमा ल्याउनुपर्ने व्यक्ति कोको हुनुहोला ?
किसुनजीको जीवनलाई बुझ्न, केलाउन एकदम कठिन छ । धेरै कठिन छ । मैले आजीवन श्रद्धापूर्वक दुई व्यक्तिसँग संगत गरेँ, किसुनजी र प्रदीप गिरि । प्रदीप गिरिको जोडा अर्को बौद्धिक राजनीतिज्ञ देखिनँ । अरूले प्रदीप गिरिलाई बुझेकै छैनन् । प्रदीप गिरिका बारेमा पनि केही गर्छु । मसँग केही सामग्री छन् ।

सरोज कोइरालाका बारेमा पनि यस्तो पुस्तक आउनुपर्ने होइन ?
सरोज दाइका बारेमा सामग्रीहरू नै समेट्न सकिनँ । मसँग भएकाले पुग्दैन । एउटा कुरो भन्नैपर्छ, पार्टीले पनि सरोज दाइको मूल्यांकन गरेन । अतीतलाई वर्तमानसँग जोड्ने काम साह्रै गाह्रो काम हो । कांग्रेसका नेताको मात्रै होइन, पुष्पलालको जीवनी खोइ ? मनमोहन अधिकारीको जीवनी खोइ ? मैले धेरै कम्युनिस्ट साथीहरूलाई लेख्न भनेँ । राजनीतिक विचारप्रतिको तिनको निष्ठा, उनीहरूले गरेको संघर्ष कहीँ न कहीँ रेकर्ड त हुनुपर्‍यो नि ! तर, कम्युनिस्ट पार्टीसँग पनि यो सोच छैन, कांग्रेस पार्टीसँग पनि छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
9 KFC9 KFC
9 Citizen Bank9 Citizen Bank
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro