site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली जडान हुने

काठमाडौं । भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली जडान हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्ने भएकाे हाे । विश्वका धेरै देशका विमानस्थलहरूमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भ–उपग्रहमा आधारित हुन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपकरणमा आधारित उडान अवतरण प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आईएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेसन–अथोराइजेसन रिक्वायार्ड) भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आगामी माघ १० बाट आरएनपी–एआर प्रणाली प्रभावकारी हुने भन्दै सूचना प्रकाशित गरेको जानकारी दिए ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक अधिकारीले आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलमा न्युनतम ८०० मिटरको भिजिबिलिटीमा पनि जहाजहरू सहज रूपमा उडान अवतरण हुनसक्ने बताए । भूउपग्रहमा आधारित हुने यो प्रणालीले भिजिबिलिटीको कारणले उडान र अवतरणमा आइरहने अवरोध हटाउने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटिमा काम गर्छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ८०० मिटरको भिजिबिलिटिमा काम गर्ने महानिर्देशक अधिकारीले बताए ।

यस्तै, रात्रिको समयमा बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब राति १ घण्टा ढिलो र बिहान १ घण्टाअगाडि खुल्ने भएको छ । धावनमार्गसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन भन्दै गएको कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरिएको छ ।

आगामी माघ १९ गतेबाट लागु हुनेगरी राति ११ बजेदेखि बिहान ७ बजेसम्म ८ घण्टामात्रै विमानस्थल बन्द गरिने पनि महानिर्देशक अधिकारीले जानकारी दिए । बन्द गरिने समय घटे पनि काठमाडौंबाट भैरहवा सारिएको अन्तर्राष्ट्रिय उडान यथावत राखिएको स्पष्ट पारे ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्