site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
२५ वर्षदेखि प्रतिबन्धको रहस्यमा ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा...’ (भिडियोवार्ता)

काठमाडौं । नेपाल–भारतबीच सीमा विवाद कहिल्यै नसुल्झिएको समस्या हो । नेपालले आफ्नो भूमि समेटेर नक्सा जारी गर्दा पनि विवाद हुन्छ । भारतले नेपाली भूमि आफ्नो नक्सामा समेट्दा त विवाद हुने नै भयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या त सदाबहार नै भयो । जबजब सीमाको कुरा उठाइन्छ, कालापानी, लिपुलेक र लिम्पियाधुरा छुट्दैनन् । उच्चस्तरीय राजनीतिक भ्रमणमा सीमा विवाद टुंग्याउन सुझाव आउँछ । तर, हालसम्म सीमा विवाद टुंगिएको छैन ।

नेपाल–भारत सीमा विवाद हाल जस्तो छ, २५ वर्षअगाडि पनि उस्तै थियो । विधान श्रेष्ठ गायनमा चल्तीको नाम, बाक्लै संख्यामा गीत गाइरहेका थिए । गीत स्रोतादर्शकले मन पराइरहेका थिए ।

Dabur Nepal
NIC Asia

भूषण दाहाल सञ्चारकर्मी, म्युजिक भिडियो निर्देशन पनि गर्न थालेका थिए । उनले एक दिन विधानलाई भने, ‘सीमा विवाद नेपालमा कहिल्यै नसुझिने समस्या भयो । यसबारे गीत बनाएर गाउन सक्यो भने गजबको चर्चा हुन्छ ।’ 

विधानलाई गीतको कमी थिएन । चर्चाको भोक थिएन । सायद त्यसैले बिर्सिए ।

केही समयपछि विधानले सम्झिए, भूषणको सुझाव । गीतकार विजय श्रेष्ठलाई भूषणले सुझाएको विषय सुनाए । (विजय विधानका बुवा हुन् ।) विजयलाई सायद भूषणको आइडिया मन पर्‍यो । गिटार समाए । गिटारका तारमा औँलाहरू खेलाउन थाले । आधा घण्टामा जन्मियो, ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा...।’

गीतको शब्द र संगीत त तयार भयो, तर यसलाई रेकर्ड गर्ने कि नगर्ने दोमन भयो विधानलाई । 

किन ? 

दिव्यदृष्टि च्यानल खोल्ने तयारी थियो । त्यसमा बजाउन नयाँनयाँ भिडियो चाहिएको थियो । ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा... रेकर्ड गरेर भिडियो बनाए पनि विवाद हुनसक्छ । प्रतिबन्ध लाग्नसक्छ,’ विधानलाई भूषणले भने ।

bidhan-shrestha4-1733814670.jpg
विधानको गीतको भिडियोबाटै भूषणले म्युजिक भिडियो निर्देशनको करिअर सुरु गरेका थिए । प्रतिबन्धको सम्भावनाले विधानलाई पनि अलमल्यायो ।

पछि भूषणले नै विधानलाई भने, गीत रेकर्ड गर्नुस् । भिडियो बनाऔँ । जे हुन्छ, हेर्दै जाऊँला ।

०५६ सालमा गीत रेकर्ड भयो । एक वर्षपछि भिडियो बनाइयो । बजारमा आउनेबित्तिकै गीतले चर्चा पायो । विधानको सांगीतिक करिअर नै उचालियो ।

गीतको चर्चाले पहाड उक्लिएको थियो । रेडियो र टेलिभिजनबाट गीत तारन्तार बजिरहेको थियो । भेट्ने र चिन्नेहरू ‘क्या गीत गायौ’ भनिरहेका थिए । संगीतप्रेमीदेखि बाहिर पनि गीतको चर्चा पुगेको थियो । 

विडम्बना ! 

कस्तो विडम्बना ? 

एकाएक गीत बज्न छोड्यो । किन ? विधान नै बेखबर थिए । अघिल्लो दिनसम्म राम्रो गीत भन्दै बजाएका मिडियाले किन बजाउन छोडे ? विधान आफैँ छक्क परे ।

उनले विभिन्न मिडियामा गएर ‘किन मेरो गीत नबजाएको ?’ भनेर सोधे । तर, कसैले ठोष जवाफ दिएन । 

किन ? त्यो पनि निरुत्तर नै रह्यो ।

सीमा विवादको कुरा थियो । भारतलाई चित्त नबुझेर उसले त दबाब दिएन ? “मलाई व्यक्तिगत रूपमा यसबारे कसैले केही भनेन । त्यसैले भारतले दबाब दियो भन्ने निष्कर्षमा पनि पुग्न सकिनँ,” विधान करिब २५ वर्षअगाडि फर्किए, “तर, आफ्नो गीतसंगीत बिनाकारण अघोषित प्रतिबन्ध लग्दा मन दुख्दो रहेछ ।”

करिब पाँच वर्षपछि ०६२ सालदेखि भने फेरि एकाएक यो गीत मिडियाबाट बज्न थाल्यो । 

विजयले लेखेको गीत राष्ट्रिय भावनाले ओतप्रोत थियो । विधानले उतिधेरै यो गीतको मर्म बुझेनन् । उनले भने– नगाऊँ होला । विजयले दबाब दिएरै भने– यो गीत राम्रो छ, तिमी आफैँले गाउनुपर्छ ।

“म २०/२१ वर्षको थिएँ । वास्तवमा त्यो बेला मलाई कालापानीको विवाद पनि थाहा थिएन । गीतले के भन्न खोजेको हो, त्यो पनि थाहा थिएन,” विधान नोस्टाल्जिक हुन्छन्, “तर, बुवाले गाउनैपर्छ भनेपछि गाएँ । पछि पो यो गीतको महत्त्वबारे थाहा पाएँ । अन्ततः यही गीत कालजयी भयो ।”

bidhan-shrestha3-1733814552.jpg
विधानले ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा... ’ जुन समय गाए, त्यो बेला अक्सर युवापुस्ताले राष्ट्रिय गीत कमै गाउँथ्यो । राष्ट्रिय गीत उमेर पाकेपछि, कपाल सेतो भएपछि मात्र गाउने हो भन्ने सोच थियो । तर, उनले ‘माछी मार्न जाऊँ न दाजै कालापानीमा...’ गाए । ‘ज्ञानबहादुर छोरो...’ र ‘खुकुरी...’ गाए । 

“गिटार र ड्रममा राष्ट्रिय गीत गाउँदा त गज्जबको सुनिँदो रहेछ भन्ने भयो,” विधान भन्छन्, “त्यसपछि पपगीत गाउनेले पनि हरेक एल्बममा एउटा राष्ट्रिय गीत समावेश गर्ने ट्रेन्ड नै चल्यो ।” उमेर पाकेपछि मात्र राष्ट्रिय गीत गाउने हो भन्ने मनोविज्ञान तोडिएको उनी मिठो अनुभव सुनाउँछन् । 

० ० ०

विधानले पप, लोक, राष्ट्रिय सबै गीत गाए । उनको लगाव कस्तो गीतसंगीतमा छ ? “म सानैदेखि सबै खालका गीत मन पराउथेँ । गाउँदा पनि सबै खालका गीत गाउनुपर्छ भन्थेँ,” उनको जवाफ छ ।

विधानको घर इनरुवा (सुनसरी), मामाघर धरान । मामाहरू गिटार बजाउँदै लोकगीत गाउँथे । उनलाई मन पर्थ्यो । हेवी मेटलमा राष्ट्रिय गीत गाउँदा पनि राम्रो लाग्यो । त्यसैले सबै खाले गीत उनको रोजाइमा परे ।

उनी आफ्ना गीतमा एउटै लाइनमा भिन्न टेक्निक प्रयोग गर्छन् । सुन्नलाई राम्रो, सायद गाउनलाई कठिन किन ? यो उनको रोजाइ पनि हो ।

bidhan-shrestha5-1733814774.jpg
“मैले संगीतको क्लास लिएकाले पनि सेमिक्लासिकल गीत गाउन कठिन हुँदैन । अमर गुरुङले तीन वर्ष त सरगम मात्रै गाउन लगाउनुभएको हो,” विधान भन्छन्, “त्यसैले सुन्दा अप्ठ्यारो होलाजस्तो लागे पनि मलाई गाउन कठिन हुँदैन ।”

पछिल्लो समय गीतसंगीत व्यावसायिक भए पनि गुणस्तर खस्किएको भन्न विधान हिचकिचाउँदैनन् । साधना कम गर्ने प्रचलन हाबी भएको उनको निष्कर्ष छ ।

गायकगायिकाको गलाले भन्दा पनि प्रविधिले मिहिनेत गर्दा संगीतको क्वालिटी खस्किएको उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro