site stats
बाह्रखरी :: Baahrakhari
देश
नागरिकका गुनासो सुन्न स्वास्थ्य मन्त्रालयको ‘हेलो हेल्थ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि हेलो हेल्थ स्थापना गरिएको हो ।

“नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौँ,” मन्त्री पौडेलले भने, “तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।”

Argakhachi Cement Island Ad

अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल र हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सकिनेछ ।

यस्तै, भाइबर र ह्वाट्सएपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

इमेलमार्फत हेलो हेल्थ एट एमओएचपी डट जीओभी डट एनपीमा गुनासा पठाउन सकिनेछ । 

मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा यही मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेलो हेल्थ एकाइका निम्ति आवश्यक तयारी गरेर सेवा थालेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा यसअघि रहेको हटलाइन नम्बरमा अरू माध्यम समेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्