काठमाडौं । शनिबार घण्टाघरको घडीको सुईले साँझ ५ बजेको संकेत गर्दा घाम काठमाडौंको पश्चिम पहाडबाट ओरालो लागिसकेको थियो । अँध्यारोले अड्डा जमाउन सुरु गरिसकेको थियो ।
तर, जसै अँध्यारो छिप्पिने तरखरमा थियो कीर्तिपुर क्षेत्रमा भने चहलपहल सुरु हुँदै थियो । मानिसको भीड बढ्दै थियो । बल्खु नकट्दै सडकको एक छेउमा लहरै मोटरसाइकल र गाडी पार्किङ गरिएका थिए । मोटरसाइकल र गाडीको पार्किङ कीर्तिपुर प्रहरी कार्यालयसम्म पुगेको थियो ।
लेबोरेटोरी स्कुलको छेउमा मान्छेको खचाखच भीड थियो । भीडको अगाडि थियो, बक्सअफिस । बक्सअफिसमा लाइन बसेर गएका व्यक्तिको टिकट काट्न, क्यूआर स्क्यान गर्न, इनभिटेसन कन्फर्म गर्न, प्रि–टिकट चेक गर्न, टिकट र ब्यान्ड दिन १०/१२ जनालाई भ्याइनभ्याइ थियो ।
हातको घडीले ६ बजेको संकेत गर्दैगर्दा लेबोरेटोरी स्कुलको ग्राउन्डको गेट खुल्यो । हातमा बाँधेको ब्यान्ड हेरेर भित्र छिराउन एक दर्जनभन्दा धेरै सुरक्षाकर्मीलाई हम्मेहम्मे परिरहेको थियो । ठूलो संख्यामा नेपाल पुलिस सँगै थियो ।
लेबोरेटोरी स्कुलको ग्राउन्डमा स्टेज थियो । ओपन स्टेज थरीथरीका लाइट र कलरले भव्य देखिन्थ्यो । मञ्चमा थिए, नेवारी पहिरनका कलाकार र बजिरहेको थियो, धिमे । जसले नेवारी समुदायको संस्कृति जाज्वल्यमान बनाइरहेको थियो ।
कुटुम्ब ब्यान्डले विभिन्न बाजासहित हजारौँको भीडको ध्यान आफूतर्फ खिचिरहेको थियो । कुटुम्बले पुराना लोकगीत नयाँ वाध्यवादनमा प्रस्तुत गर्यो । दर्शक कुटुम्बको शिल्पमा झुम्न थालिसकेका थिए ।
घडीको सुइँले साढे ७ बजेको संकेत गर्दैगर्दा मञ्चमा देखियो, कर्मा ब्यान्ड । मुख्य भोकलिष्ट सुरेन्द्रमान सिंह र ब्यान्डका अन्य सदस्यलाई दर्शकसँग साक्षात्कार गरायो स्टेजको कलरफूल लाइटले । अनि सुरु गरे सुरेन्द्रले आफ्नो सर्वकालीक हिट नम्बर ‘हुक्का मेरो डल्ले डल्ले...’ ।
यो गीत गाउँदा लेबोरेटोरी स्कुलको ग्राउन्डमा भरिएका दर्शकले सँगैसँगै गाएर कर्मालाई साथ दिएका थिए । सुरेन्द्रमान दशकपछि ठूलो ‘क्राउड’का अगाडि गीत गाउँदै थिए ।
त्यसपछि उनले गाए ‘मौनतामा...’ सुरेन्द्रका गीत हेवी रक छैनन् । तर, गाउने स्टाइल र संगीतले उनका गीत दर्शकमा लोकप्रिय छन् । त्यही लोकप्रियता लेबोरेटोरी स्कुलको ग्राउन्डमा पोखिरहेको थियो ।
अनि गाए सुरेन्द्रमानले ‘यदि...’ । यो गीतमा दर्शकको साथ दोब्बर मिल्यो । गीत सकियो । तर दर्शकको ‘वान्समोर’ सकिएन । त्यसपछि उनले फेरि गाए यही गीत ।
बीचबीचमा सुरेन्द्रमानले दर्शकसँग पातलिएको संगतलाई बाक्लो बनाउने प्रयास गरे । दर्शकसँग साक्षात्कार गरे । दर्शकलाई मञ्चबाट पोइन्टआउट गर्दै चिनेको सुनाए ।
त्यसपछि सुरेन्द्रमानले गाए, ‘को हौँ तिमी...’, ‘मेरो देश...’ । सुरेन्द्रमान दर्शकको माया पाइरहेकै बेला अमेरिका गए । केही समय उतै बसे । ‘मेरो देश...’का केही शब्दले उनको त्यही अतितलाई कोट्याइरहेको भान हुन्थ्यो । जे होस् यो गीतले दर्शकलाई थप उफारेको थियो । शीत पर्दै गएको रातमा दर्शकलाई नचाएको थियो ।
कर्माको अर्को सर्वकालीन हिट गीत हो, ‘सुपारी दाना...’ । यो गीत सुरेन्द्रमानले धेरै गाउनै परेन । उठाइदिए मात्रै पुग्थ्यो । दर्शक आफैँ गाइरहेका थिए ।
त्यसपछि सुरेन्द्रमानले गाए ‘मार्यो...’, ‘छैन मैले...’, ‘नयाँ सपना...’, ‘तारेमाम...’, ‘आँकुर माँकुर..’, ‘यानी माया...’ ।
यही बीचमा सुरेन्द्रमानले कुटुम्बसँगको सहकार्यमा आजै मात्रै युट्युबमा रिलिज भएको भन्दै गाएका थिए, नयाँ गीत ‘आँकुर माँकुर..’ ।
नयाँ गीत नै किन नहोस्, कहिल्यै नसुनेकै गीत किन नहोस्, दर्शकले गज्जबले साथ दिए । लाग्थ्यो, यो पुरानो लोकप्रिय गीत हो, जुन गायक स्वयंबाट प्रत्यक्ष सुन्न दर्शक व्यग्र प्रतिक्षामा थिए ।
पालो आयो ‘कहाँ होला...’को । यो गीत गाउँदा देखियो–दर्शक यही गीत सुन्न र सुरेन्द्रमानसँगै गाउन नै कीर्तिपुर पुगेका थिए ।
रातको ९ बजेको चिसो ठिहीमा सुरेन्द्रमानसँगै गाउँदा दर्शकमा चिसोको पर्वाह देखिएको थिएन । जसै सुरेन्द्रमानले यो गीत गाइसके, उनी बिदा माग्ने तरखरमा थिए ।
तर, दर्शकको वान्समोरका अगाडि उनको केही जोड चलेन । उनी फेरि ‘कहाँ होला...’ गाउन बाध्य भए । दोस्रोपटक पनि उसैगरी गाएपछि कर्माले कीर्तिपुरलाई हात हल्लायो । दर्शकसँग फेरि अर्को कुनै सहरमा भेट्ने बाचा गर्यो ।
र, दर्शक ९ बजिसकेको रातमा आ–आफ्नो सवारीसाधनतिर लागे ।
कन्सर्टका आयोजक तथा म्यानेजर आशिष पराजुलीका अनुसार कन्सर्टमा ११ हजार ८२२ दर्शक सहभागी थिए । दर्शकको यो उपस्थितिले अन्य सहरमा पनि कन्सर्ट आयोजना गर्न उत्साह थपेको उनले बताए ।