site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अबु मोहम्मद अल–जुलानी : सिरियाली सहरहरू कब्जा गर्ने विद्रोही समूहको नेता को हुन् ?

काठमाडौं । सिरियाको मुख्य सहर एलेप्पो इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले कब्जा गरेको छ । एचटीएसको नेतृत्वमा रहेका अरू चरमपन्थीले हमा सहर पनि कब्जा गरेका छन् ।

एचटीएस प्रमुख अबु मोहम्मद अल–जुलानीले मानवअधिकार उल्लंघनको आरोपको सामना गरिरहेका छन् । हालैका वर्षहरूमा उनले आफ्नो उदारवादी अनुहार संसारमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । तर, अमेरिकाले उनलाई पक्रनेलाई एक करोड डलर पुरस्कारको प्रस्ताव गरेको छ ।

अबु मोहम्मद अल–जुलानी को हुन् ?
अबु मोहम्मद अल–जुलानी उपनाम हो । उनको वास्तविक नाम र उमेर विवादित छ ।

Dabur Nepal
NIC Asia

अमेरिकी सञ्चारमाध्यम पीबीएसले सन् २०२१ फेब्रुअरीमा अल–जुलानीसँग अन्तर्वार्ता लिएको थियो । त्यति बेला जुलानीले आफ्नो जन्मजात नाम अहमद अल–शारा रहेको र सिरियाली भएको बताएका थिए । उनको परिवार गोलान क्षेत्रबाट आएको थियो ।

उनले आफ्नो जन्म साउदी अरेबियाको राजधानी रियादमा भएको बताएका थिए, जहाँ उनका बुवा काम गर्थे । तर, उनी सिरियाको राजधानी दमास्कसमा हुर्के ।

यस्ता पनि रिपोर्ट छन् कि उनको जन्म पूर्वी सिरियाको देइर एज–जोरमा भएको थियो । त्यहाँ पनि अफवाहहरू छन् कि उनले इस्लामिक चरमपन्थी हुनुअघि चिकित्साशास्त्रको अध्ययन गरे ।

संयुक्त राष्ट्रसंघ र युरोपेली संघको रिपोर्टअनुसार, उनको जन्म सन् १९७५ र १९७९ को बीचमा भएको थियो । उनको जन्म सन् १९७९ मा भएको इन्टरपोलले जनाएको छ । जबकि, अस–सफिरको रिपोर्टमा उनको जन्ममिति १९८१ उल्लेख छ ।

a2-1733592118.jpg
अल–जुलानी इस्लामिक समूहको नेता कसरी बने ?
सन् २००३ मा अमेरिकी र गठबन्धन सेनाले इराकमा गरेको आक्रमणपछि अल–जुलानी त्यहाँ रहेको जिहादी समूह अलकायदामा सामेल भएको विश्वास गरिन्छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटाएको थियो । तर, विभिन्न चरमपन्थी समूहको प्रतिरोधको सामना गर्‍यो ।

सन् २०१० मा अमेरिकी सेनाले इराकमा अल–जुलानीलाई गिरफ्तार गरी कुवेतनजिकै रहेको जेल शिविर बुकामा बन्दी बनाएको थियो । त्यहाँ उनले इस्लामिक स्टेट (आईएस) समूह बनाएका जिहादीहरूलाई भेटेको हुन सक्ने अनुमान गरिएको छ । त्यहाँ उनले अबु बकर अल–बग्दादीलाई पनि भेटेका हुन सक्छन्, जो पछि इराकमा आईएसका नेता बनेका थिए ।

सन् २०११ मा सिरियामा राष्ट्रपति बसर अल–असदविरुद्ध सशस्त्र द्वन्द्व सुरु हुँदा अल–बग्दादीले समूहको शाखा खोल्नका लागि उनलाई त्यहाँ पठाउने व्यवस्था गरेको अल–जुलानीले मिडियालाई बताएका थिए ।

अल–जुलानी त्यसपछि नुस्रा फ्रन्ट (वा जबात अल–नुसरा)को कमान्डर बने, इस्लामिक राज्यसँग गोप्य सम्बन्ध भएको त्यो सशस्त्र समूह हो । यसले युद्धको मैदानमा धेरै सफलता हासिल गर्‍यो ।

२०१३ मा अल–जुलानीले नुस्रा फ्रन्टसँगको सम्बन्ध आईएसबाट तोडेर यसलाई अलकायदाको नियन्त्रणमा ल्याए । तर, २०१६ मा उनले एक सन्देशमा अलकायदाबाट अलग भएको घोषणा गरेका थिए ।

२०१७ मा अल–जुलानीले भनेका थिए कि उनका लडाकुहरू अरू सिरियाली विद्रोही समूहमा विलय भए र हयात तहरीर अल–शाम (एचटीएस) गठन गरियो । अल–जुलानीले यो सम्पूर्ण समूहलाई ‘कमान्ड’ गर्छन् ।

a3-1733592137.jpg
अल–जुलानी कस्ता नेता हुन् ?
अल–जुलानीको नेतृत्वमा एचटीएस उत्तरपश्चिमी सिरियाको इदलिब र वरपरका क्षेत्रमा सक्रिय विद्रोही समूह बन्यो ।

युद्धअघि उक्त सहरको जनसंख्या २७ लाख थियो । कतिपय अनुमानका अनुसार, विस्थापितको आगमनले सहरको जनसंख्या एक समय ४० लाख पुगेको थियो ।

यो समूहले इदलिब प्रान्तमा ‘साल्भेसन गर्भमेन्ट’ नियन्त्रण गर्छ । यसले स्वास्थ्य, शिक्षा र आन्तरिक सुरक्षामा स्थानीय प्रशासनजस्तै काम गर्छ ।

२०२१ मा अल–जुलानीले पीबीएसलाई भनेका थिए कि उनले अलकायदाको विश्वव्यापी जिहादको रणनीतिलाई पछ्याएनन् । उनले आफ्नो मुख्य उद्देश्य सिरियाली राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउनु रहेको बताएका थिए । अमेरिका र पश्चिमा राष्ट्रको पनि यही उद्देश्य रहेको उनको जिकिर थियो ।

उनले भनेका थिए, “यो क्षेत्रले युरोप र अमेरिकाको सुरक्षाका निम्ति खतरा पैदा गर्दैन । यो क्षेत्र विदेशी जिहाद गर्ने मञ्च होइन ।”

२०२० मा एचटीएसले इदलिबमा अलकायदाका आधारहरू बन्द गर्‍यो, हतियार जफत गर्‍यो र यसका केही नेताहरूलाई जेल हाल्यो । यसले इदलिबमा इस्लामिक स्टेटको गतिविधिलाई पनि रोकेको छ ।

एचटीएसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा इस्लामिक कानुन लागु गरेको छ । तर, यो अरू जिहादी समूहको तुलनामा कम कडा छ ।

यसले इसाई र गैरमुस्लिमसँग सार्वजनिक रूपमा अन्तरक्रिया गर्छ । आफ्नो ‘अधिक’ उदारवादी छविका कारण यो जिहादी समूहहरूबाट आलोचनाको निसानामा छ ।

मानवअधिकारवादी संगठनहरूले भने एचटीएसलाई जनताको विरोध प्रदर्शन दबाएको र मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन् । अल–जुलानीले यी आरोपहरू अस्वीकार गरेका छन् ।

एचटीएसलाई पश्चिम र मध्य पूर्वका सरकारहरू र संयुक्त राष्ट्र सुरक्षा परिषद्ले चरमपन्थी संगठनका रूपमा वर्गीकृत गरेको छ । किनभने, अल–जुलानीको विगत अलकायदासँग जोडिएको छ । अमेरिकी सरकारले उनलाई गिरफ्तार गराउने सूचना दिनेलाई १० मिलियन डलर पुरस्कार तोकेको छ । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  २२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro