site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विवाहमा गरिने सात वाचा

विवाहको मौसम चल्दै छ । हुनेवाला पतिपत्नीका मनमा अनेकौँ सपनाहरू सजिनु स्वाभाविकै हो । विवाह हुनुको अर्थ व्यक्तिगत स्वतन्त्रता आधा हुनु हो भने जिम्मेवारी दोब्बर थपिनु हो । यो तथ्य सप्तपदि (सात फेरा)का क्रममा वरबधूले एकापसमा गर्ने प्रतिज्ञाहरूबाट प्रस्ट हुन्छ ।

हिन्दु विवाह संस्कारमा गरिने विभिन्न क्रियाकलाप (कर्मकाण्ड)को उद्देश्य सम्बन्धित केटाकेटीलाई प्रकृति, देवता तथा समाज साक्षी राखेर ‘पूर्ण नागरिक भएको’ घोषणा गर्नु हो । केटाकेटी आफैँ कर्मकाण्डमा सहभागी भएर धर्म, समाज र आस्थाको सम्मान गर्दै परम्परालाई स्वीकार गर्छन् ।

स्वाभाविक रूपमा विवाह भएको केही दिन वा महिना यौनप्रति बढी अभिरुचि हुन्छ । धार्मिक, सामाजिक तथा सांस्कृतिक स्वीकृतिपछिको यौनक्रियामा समाजको आपत्ति रहन्न । यद्यपि, यौनजन्य क्रियाकलाप जतिसुकै आकर्षक र रमाइलो भए पनि त्यसको सीमा हुन्छ, आरम्भ गरेपछि टुंगिन्छ ।

विवाहमा पुरोहितले यज्ञकुण्डको सातपटक परिक्रमा गर्न लगाउँदा वरबधूले त्यसको पालन गर्छन् । अग्निको परिक्रमा गर्दै गर्दा पतिपत्नीले एकापसमा ‘वाचा–बन्धन’ गर्छन् ।

जीवनको कुनै घडीमा पतिपत्नीबीच असमझदारी भयो भने दुवैले सँगै मिलेर होस् वा एक्लाएक्लै – आफूले यज्ञको आगो, चन्द्रमा, विश्ववसु गन्धर्व, विष्णु, धर्म र समाजलाई साक्षी राखेर एकार्काप्रति गरेका प्रतिज्ञाहरूलाई सम्झनुपर्छ । सप्तपदिका रूपमा प्रसिद्ध ती प्रतिज्ञाहरू यसप्रकार छन्–  
१. हामीले एकार्कालाई जस्तोसुकै सुखदुःखको अवस्थामा पनि पालनपोषण गर्नेछौँ ।  
२. हामी एकापसमा मिलेर उद्योग गर्दै शक्तिको विकास गर्नेछौँ ।
३. हामी दुवै मिलेर धनसम्पत्ति कमाउने र त्यसको रक्षा गर्नेछौँ । 
४. हामी दुवैले एकापसमा सुखदुःख साझा गर्नेछौँ ।
५. हामी दुवै मिलेर सन्तान जन्माउने र तिनको पालनपोषण गर्नेछौँ । 
६. हामीले कुनै पनि हालतमा एकार्कालाई सहयोग गर्न छोड्ने छैनौँ ।
७. हामी दुवै मिलेर गृहस्थरूपी जिम्मेवारी वहन गर्नेछौँ ।

उपर्युक्त वचनको अन्त्यमा दुवैले आठौँ परिक्रमा गर्दै ‘यी सात पाइलाबाट हामी दुईबीच अनन्त मित्रता गाँसिएको छ, हामी साथी भएका छौँ, हामीले आफ्नो मित्रतालाई झन् बलियो र प्रगाढ बनाउने कर्म गरौँ, हामी आफ्नो मित्रताबाट विमुख हुन नपरोस् र हाम्रो मित्रतामा एकार्काको कारण समस्या नपरोस्’ भन्ने वाचा गर्छन् ।

यी वचनहरूको सार विवाहित पतिपत्नीबीचमा अधिकतम सहृदयी सम्बन्ध, समानताको सम्बन्ध, प्रेमको सम्बन्ध, विश्वासको सम्बन्ध र समान अधिकारको सम्बन्ध रहने हुनाले यसप्रति दुवै सधैँ सचेत रहनुपर्छ भन्ने हो ।

नवविवाहित दम्पतीलाई परिवारका सदस्यहरूले प्रेमपूर्वक एकापसमा दिएका वचन पालन गर्दै गृहस्थ जीवनको यात्रा गर्न सचेत गराउनुपर्छ भने दम्पती आफैँले पनि आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर एकार्काको शारीरिक, मानसिक तथा यौन सुख एवं पूर्णताको लागि प्रयत्नशील रहनुपर्छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्