site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक रोजगारीमा जानेसँगै असुलिन्छ अधिक हवाई भाडा

काठमाडौं । पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्दको बहाना पारेर उच्च बनाएको हवाई भाडामा केही कमी आएको छ । यात्रु घटेसँगै हवाई भाडामा कमी आएको हो । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले कात्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण गरिरहेको छ । 

‘ट्याक्सी वे’ निर्माणका कारण १० घण्टा विमानस्थल बन्द हुँदा क्यानले ३० प्रतिशत उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जान ‘सर्कुलर’ गरेको थियो । 

गौतमबुद्धमा नेपाल एयरलायन्ससहित पाँच विमान कम्पनीले उडान गरेपनि अन्य गएका छैनन् । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि हवाई कम्पनी गएका छैनन् । 

Dabur Nepal
NIC Asia

मुख्य विमानस्थल १० घण्टा बन्द भएको बाहना पारेर अन्तर्राष्ट्रिय विमान कम्पनीले बढाएको भाडादरमा सामान्य कमी भएको नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्सकी वरिष्ठ उपाध्यक्ष जिस्वान तुलाधर श्रेष्ठ बताउँछिन् । 

“भाडादरमा सामान्य कमी आएको हो । करिब ५ प्रतिशत भाडादर घटेको छ,” उनले भनिन् ।  

काठमाडौंबाट दिल्ली जाने टिकटको मूल्य ५० हजारको हाराहारीमा आइपुगेको छ । अघिल्लो साता उक्त गन्तव्यमा पुग्न ६० हजारको हाराहारीमा खर्च गर्नुपर्ने अवस्था थियो । दिल्लीको भाडादरमा कमी आएर ५० हजारको हाराहारीमा झरेको छ । 

यस्तै अन्य अन्तर्राष्ट्रिय गन्तव्यको भाडादरमा पनि ५ देखि ८ हजारसम्म कमी आएको उपाध्यक्ष श्रेष्ठ बताउँछिन् । “सरकारले कम्पनीलाई चेतावनी दिएपछि केही घटेको हो । तर, नेपालबाट वैदेशिक रोजगारीमा जाने, विद्यार्थी वर्गले तिर्नुपर्ने भाडामा भने उस्तै छ,” उनले भनिन् । 

वैदेशिक रोजगार व्यवसायी संघका मेघनाथ भुर्तेल भने रोजगारीमा जानेहरुले अझै उच्च भाडा तिर्नुपरेको बताउँछन् । “पहिला ४० हजारमा पाइने टिकटको मूल्य एक लाख छ, पाँच हजार घट्दैमा त्यसलाई घट्यो भन्न मिल्छ र ?,” उनले भने, “अन्यको घटेको होला तर, रोजगारीको लागि विदेश जानेहरुको भाडादरमा कमी आएको छैन ।”

ट्राभल एजेन्सीहरुले मिलेमतोमा भाडादर बढाएको भनी सरकारले अघिल्लो महिना (टु बी अनाउन्स्ड–टीबीए) खारेज गरेको थियो । तर, सरकारको उक्त कदमले पनि भाडादर घट्न सकेको थिएन ।

क्यानले मुख्य सिजनमा विमानस्थल बन्द गरेको र त्यसले भाडादर छुनै नसक्ने भएको भन्दै चौतर्फी दबाब र आलोचनापछि भाडादर नियन्त्रणको लागि अग्रिम टिकट खरिद टीबीए खारेज गरेको थियो । “टीबीए खारेजीभन्दा पनि पर्यटकहरुको कमी तथा भाडादर उच्च भएको भन्दै कर्पोरेट क्षेत्रले अन्तर्राष्ट्रिय कार्यक्रम बन्द गरेका कारण पनि यसमा केही कमी आएको हो,” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भनिन्, “भाडादर सामान्य हुन अझै एक महिना लाग्ला । डिसेम्बरको अन्तिमपछि यसमा कमी आउन सक्छ ।” 

‘फेयर रेट’मा कुनै टिकट पाउन त त्रिभुवन विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आएपछि मात्रै सम्भव हुने उनको भनाइ छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भारतका लागि २५ सय र अन्य गन्तव्यका लागि ५ हजारसम्म छुट दिएको छ । यस्तै निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट बिक्री नगर्ने निणर्य गरेको प्रवक्ता रमेश पौडेलले बताए । 

सरकारले उच्चदरमा बिक्री भइरहेको भाडादरलाई कडाई गरेपछि त्यसले पनि केही हदसम्म टिकटको मूल्य घटेको क्यानका प्रवक्ता हंशराज पाण्डेको भनाइ छ । यद्यपि भैरहवाको टिकटमा अझै पनि उच्च रहेको बताए । “भैरहवाको भाडादर सरकारको सहुलियतका कारण अझै सस्तो हुनुपर्ने हो, त्यो भएको छैन,” उनले भने । 

सरकारले पोखरा र भैरहवा विमानस्थलमा उडान गर्न विभिन्न सहुलियतसहित कार्ययोजना ल्याएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले दुई वर्षदेखि अलपत्र भएका भैरहवा र पोखरा विमानस्थल सञ्चालनको २७ बुँदे कार्ययोजना ल्याएको थियो । तर, अन्य मन्त्रालयले प्रभावकारी रुपमा सहयोग नगरेको मन्त्री बद्रीप्रसाद पाण्डेले बताउँदै आएका छन् । 

तुरुन्त लागू गर्नेदेखि चार वर्षसम्म सुधार गर्न सकिने कार्ययोजना ल्याएका थिए । तर, अन्य मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मले चासो दिएका छैनन् । 

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हवाई टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाई सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत छ । 

साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरेको थियो । 

मन्त्रालयले बनाएको कार्ययोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) बाट करिब ८० मिटर दूरीमा रहेको सिनामंगल हवाई इन्धन डिपो सक्दो छिटो स्थानान्तरणदेखि टिकटमा लाग्ने भ्याट लगायतका कार्ययोजना छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्डअनुसार धावनमार्गबाट १७२.५ मिटर टाढा ‘ट्याक्सी–वे’ र त्यसबाट पनि कम्तीमा ९० मिटर टाढा इन्धन भण्डारण हुनुपर्ने मान्यता छ । तर, विमानस्थलमा धावनमार्गबाट ८० मिटरभित्रै सिनामंगल डिपोमा राखिएका ६ वटा भर्टिकल ट्यांक र ८ वटा अन्डरग्रान्ड ट्यांकमा ७६ लाख ४० हजार लिटर हवाई इन्धन मौज्दात रहने गर्छ ।

नागरिक उड्ड्यन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको कार्य गर्ने गरी अलग अलग संस्थाको रुपमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पुगे पनि पास हुन सकेको छैन । अन्य मन्त्रालयले सहयोग नगर्दा पनि भैरहवा र पोखरा विमानस्थलमा उडान निम्ति अन्तर्राष्ट्रिय विमान कम्पनी जान चाहेका छैनन् ।

दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा घाटामा छन् । भैरहवाबाट सातामा २४ उडान भएपनि पोखरामा कुनै पनि अन्तर्राष्ट्रिय विमान कम्पनीले उडान गरेका छैनन् ।

महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ । भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका लागि २२ अर्ब रुपैयाँ सुरुवाती लागत भएपनि समय र लागत बढेर ६१ अर्ब खर्च थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकोे ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेको छ । पोखरा विमानस्थलका लागि सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।

गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोषबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी ४ अर्ब ९१ करोड लिएको थियो ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न सरकारको प्याकेज समेत ल्याएर त्रिभुवन विमानस्थल पनि राति १० घण्टा बन्द गर्ने तयारीमा छ । विमानस्थल प्रशासनले आगामी कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने योजना छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro