site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम 

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ ।

तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  

ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरू निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरू राख्ने सिभिल संरचनाहरूको निर्माण सम्पन्न गरी जडान भइरहेको छ । 

नियन्त्रण कक्ष, जीआईएसका उपकरणहरू रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि उपकरणहरूको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको प्राधिकरणले जनाएको छ ।   

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे ।  

कार्यकारी निर्देशक घिसिङले भने, “४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोसी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती ४०० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ । हिउँदयामका खिम्तीतर्फबाट काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप विद्युत् पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ ।” 

खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४०० केभी सबस्टेसन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माणाधीन छन् । तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोध लगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौं प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताए ।

खिम्ती–बाह्रबिसे प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये ११७ वटा जग हालिएको छ । ११५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी एक वटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro