काठमाडौं । पेरुका कप्तान पाउलो गुइरेरोले रेफ्रीले लियोनल मेसी र अर्जेन्टिनालाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।
फिफा विश्वकप छनोट २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बुधबार पेरुविरुद्ध १–० को जित निकालेको थियो । अर्जेन्टिनासँगको हारपछि पेरुका कप्तान गुइरेरो रेफ्रीको निर्णयप्रति आक्रोशित बनेका हुन् ।
“अर्जेन्टिनासँग खेल्न केही कठिन हुन्छ । उनीहरूलाई छुँदा पनि रेफ्रीले फाउल दिन्छन् । हामीलाई केही हुँदा भने रेफ्रीले कुनै निर्णय दिँदैनन् । हामीमाथि फाउल हुँदा पनि रेफ्री मौन रहन्थे । मेसीलाई एक औँलाले मात्र छोए पनि फाउल दिइहाल्थे । यसले हामीलाई कठिन बनाएको हो,” खेलपछि ४० वर्षीय गुइरेरोले भने ।
पेरुविरुद्धको जितसँगै विश्वकपनजिक पुगेको अर्जेन्टिनाले अब आउँदो मार्चमा उरुग्वे र ब्राजिलसँग खेल्ने तालिका छ । छनोट तालिकाको शीर्ष स्थानमा आसीन अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । समान खेलबाट सात अंकको पेरु तालिकाको पुछारमा छ ।