site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अघि बढ्यो स्वर्णिम वाग्ले र डीपी अर्यालसहित रास्वपा नेताविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालसहितका नेताहरूविरुद्धको अदालतको अवहेलना मुद्दा अघि बढेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित पार्न सांसदसमेत रहेका रास्वपाका नेताहरूले संगठित अभियान चलाइरहेको दाबीसहित दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो ।

Argakhachi Cement Island Ad

तर, भट्टराईले इजलासमा दिएको निवेदनमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले दरपिठ बदर गरेर मुद्दा दर्ताको प्रक्रिया अघि बढाउन आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा प्रहरीले लामिछानेलाई यही कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाका नेताहरूले लगातार आन्दोलन गरिरहेका छन् । राजनीतिक प्रतिशोध लिएको भन्दै उनीहरूले सरकारको विरोध गरिरहेका छन् । उनीहरूले हिरासतमा राख्न पटकपटक म्याद थपिएको विषयमा पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

अधिवक्ता भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध खडा गरेको भन्दै अवहेलना मुद्दा दायर गरेका थिए ।

इजलासबाट दरपिठको आदेश बदर भएसँगै अब उनीहरूविरुद्ध अवहेलना मुद्दाको प्रक्रिया अघि बढ्ने बाटो खुलेको छ । अब प्रशासनले मुद्दा दर्ता गरी प्रक्रिया मुद्दा अघि बढाउनुपर्ने छ ।

अधिवक्ता भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारी, वाग्मती प्रदेशका प्रदेश सभापति र सांसद गरी २० जनालाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १७:३५
प्रतिक्रिया दिनुहोस्