site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वमन्त्री अधिकारीको बयान– आफ्नै मन्त्रालयको नक्कली कार्ड टोकियो पुगेपछि देखेँ
लीलावल्लभ अधिकारी ।

काठमाडौं । मानव तस्करीको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । कोसी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी जोडिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ओखलढुंगाका गुडी राई र नवीन राई छन् । उनीहरूलाई सोमबार (हिजो) साँझ बागबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरूले निवर्तमान मन्त्री अधिकारीको हस्ताक्षरित उक्त मन्त्रालयको नक्कली कार्ड बनाएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । अधिकारीलाई गएको आइतबार मोरङको विराटनगरबाट पक्राउ गरी सोही दिन काठमाडौं ल्याइएको छ ।

Dabur Nepal
NIC Asia

अधिकारीसँगै जोडिएका अरू ६ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरूको बयानका आधारमा अधिकारी र थप दुईजना पक्राउ परेका हुन् ।

यही कात्तिक १३ गते संघीय र प्रदेश सरकारको अनुमतिबेगर अधिकारी जापानको टोकियोमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै टोकियो विमानस्थल पुगेका थिए । उनीसँगै त्यही कार्यक्रममा सहभागी हुन भन्दै रसुवाको कालिका गाउँपालिका–५ घर भई काठमाडौंको मनमैजुमा बस्दै आएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ घर भई काठमाडौंको बूढानीलकण्ठमा बस्दै आएका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई समेत टोकियो विमानस्थल पुगेका थिए ।

टोकियो विमानस्थल कार्यालयले भने त्यहाँ प्रवेश नदिई नेपाल ‘डिपोर्ट’ गरेसँगै मानव तस्करीको धन्दा खुलेको हो । उक्त प्रकरणमा जोडिएका तीनजना फरार छन् ।

अधिकारीनिकट योगराज भनिने गोपाल गौतममार्फत राईद्वयले मन्त्रालयको नक्कली परिचयपत्र बनाएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । नक्कली परिचयपत्रमा मन्त्रीको हस्ताक्षर छैन । उनको हस्ताक्षर किर्ते गरेको पाइएको छ ।

राईद्वयको प्रेसमार्फत नक्कली परिचयपत्र बनाइएको खुलेको छ । प्रेसबाट किर्ते कागजात बनाउने धन्दामा उदयपुरका दिवाकर भट्टराई र उनकै भाइ कृष्णको संलग्नता खुलेको छ ।

प्रहरीका अनुसार, अमेरिकामा बस्दै आएका दिवाकर दसैँ मनाउन काठमाडौं आएका थिए । उनी जापानमा हुने उक्त कार्यक्रमबारे जानकार थिए । उनले नक्कली कागजात बनाउने काम गरेको खुलेको प्रहरीले जनाएको छ ।

दिवाकर हाल अमेरिका उडिसकेका छन् । उनका भाइ कृष्णको भने प्रहरीले खोजी गरिरहेको छ ।

भट्टराई दाजुभाइसँग सम्पर्कमा रहेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेश पाण्डेले हाल फरार रहेका गौमतमार्फत तीन युवालाई जापान पठाउने योजना बनाएको प्रहरीले जनाएको छ ।

पाण्डेसहित युवा खोज्ने नुवाकोटको विदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र दोलखाको जिरी नगरपालिका–९ का ३० वर्षीय वीरबहादुर सुनुवार पक्राउ परिसकेका छन् ।

हालसम्म प्रहरीले निवर्तमान मन्त्री अधिकारीसहित नौजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

अधिकारीको बयान– म फसेँ
हिरासतमा राखेर अधिकारीमाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पहिलोपटक दुई दिनको म्याद पाएको छ । प्रारम्भिक बयानमा अधिकारीले आफू फसेको बताएका छन् ।

उनले प्रहरी अधिकारीसँग भनेका छन्, “मसँगै जापानको कार्यक्रमका लागि जाने युवाहरू हङकङ विमानस्थलमा चिनेको हुँ । पहिला चिनजान नै छैन । साथी गोपाल (गोपाल गौतम)ले तपाईंसँगै केही युवाहरू पनि जापान जाँदै भन्नेबाहेक मलाई अरू जानकारी नै थिएन । टोकियो विमानस्थल पुगेपछि आफ्नै मन्त्रालयको कार्ड देखेपछि आफैँ छक्क परेँ ।”

उनीहरूको नक्कली कार्डबारे आफैँले प्रहरीको विशेष ब्युरोका डीआईजी राजन अधिकारी र कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङलाई जापानबाट नै जानकारी गराएको अधिकारीले बताएका छन् ।

अधिकारीले नचिनेको दाबी गरे पनि जापान गएका मध्येका कञ्चन देवकोटासँग उनको एउटै कोठा ‘बुक’ भएको फेला परेको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro