site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैन : निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानमा व्यवस्था भएअनुसार प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताएका छन् ।

शनिबार जनकपुर युथ क्लबको वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा उनले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारलाई प्रहरी, कर्मचारी, प्रशासनलगायत अधिकार प्रत्यायोजन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए ।

Argakhachi Cement Island Ad

नेता निधिले अधिकारका निम्ति फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराए । “संविधानमा प्रदेशको आफ्नै प्रहरी प्रशासन हुन्छ भनिएको छ, हामीले नौ वर्ष बितिसक्दा पनि अझै प्रदेश सरकार अधिकारसम्पन्न हुन सकेका छैनन्,” उनले भने, “जनतानजिकको शासकीय अभ्यास गर्ने प्रदेश संरचनालाई अधिकारसम्पन्न बनाउन सकेनौँ भने संघीयताको के अर्थ ? चाँडोभन्दा चाँडो प्रदेशले पाउने अधिकार प्रत्यायोजन गर्न सरकारसँग मेरो आग्रह छ । संघीयताको अनुभूतिका लागि संघीय सरकारले यथाशीघ्र कानुन बनाएर प्रदेशलाई मजबुत बनाउनुपर्छ । यसका लागि मैले पार्टीभित्र पनि आवाज उठाइरहेको छु ।”

पूर्वउपसभापति निधिले प्रदेशलाई अधिकार सुम्पिन ढिलाइ भए फेरि आन्दोलन हुन सक्ने चेतावनी दिए । त्यसको नेतृत्व कांग्रेसले गर्ने अवस्था आउन सक्ने उनले बताए । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्