site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विमानस्थल १० घण्टा बन्द : बिलौना सुन्दैनन् महानिर्देशक, मर्का देख्दैन सरकार  

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीको ‘हठ’का कारण नेपाली हवाइ र पर्यटन दुवै क्षेत्र धरासयी हुने जोखिम बढेको छ ।  देशको मुख्य विमानस्थलल १० घण्टा बन्द गर्नाले पर्यटकहरू धमाधम टिकट रद्द गर्दैछन् । नेपालबाट अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न टिकट मूल्य दोब्बर÷तेब्बरसम्म पुगेको छ ।

नेपाल आउन होटल बुकिङ गरेका पर्यटकहरूले टिकट नपाएकै कारण यात्रा रद्द गर्न थालेका व्यवसायीहरू बताउँछन् ।  कोभिड–१९ पछि भर्खरै तग्रिन लागेको पर्यटन क्षेत्रलाई अधिकारीकौ ‘हठ’ कारण पुन धरासयी हुने अवस्थामा पुग्न लागेको व्यवसायीहरूको आरोप छ ।

क्यानकाअनुसार आज कात्तिक २३ गतेबाट चैत १८ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुनेछ । बेलुकी १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द गर्ने निर्णय गरेपछि यसले अन्तर्राष्ट्रिय उडानहरूको ‘सेड्युल’ अस्तव्यस्त भएका छन् ।

विज्ञहरूका अनुसार, १० घण्टालाई केही कम गरेर पनि विमानस्थलको ‘ट्याक्सी वे’ विस्तार गर्न सकिन्छ । तर, महानिर्देशक अधिकारीकै ‘हठ’का कारण विमानस्थल १० घण्टा नै बन्द गर्ने निर्णयमा सरकार पुगेको छ । 

यसमा संस्कृति पर्यटन तथा नागरिक उड््ड्यन मन्त्री बद्री पाण्डे मौन देखिएका छन् ।  महानिर्देशक अधिकारीको योजनामा मन्त्री पाण्डेले कुनै हस्तक्षेप गर्न सकेका छैनन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन (आइकाओ)को मापदण्ड अनुसार ‘ट्याक्सी वे’ १४० मिटरको हुनुपर्नेछ ।  अल्फा, ब्राभो, चार्ली, डेल्टा, इको गरी पाँचवटा छन् ।  निर्माण हुने ट्याक्सी वे १४० मिटर टाढा हुने भएका कारण १० घण्टा विमानस्थल बन्द गर्नुनपर्ने सांसद राजेन्द्र बजगाई बताउँछन् ।

“आइकाओले भने अनुसार १४० मिटर ट्याक्सी वे बनाउनुपर्ने बाध्यकारी परिस्थिति हो । ट्याक्सी १४० मिटर टाढा बन्छ नि । त्यसको प्लान्ट पनि गैरीगाउँमा छ,” उनले भने, “प्लान्ट पनि टाढा छ । जहाजहरू आइरहेको बेला यदि डिस्टर्ब हुने हो भने एकछिन बन्द गर्न सक्छ । त्यसरी बन्दै गर्नुपर्ने छैन । यसअघि ‘रनवे’ नै प्वाल पर्दा ८ घण्टाभन्दा बढी बन्द गरेको छैन ।”

भैरहवा र पोखरा विमानस्थल चलाउनकै लागि सरकारले मुख्य विमानस्थल बन्द गर्न लागेको दाबी बजगाईको छ । 

“भैरहवा र पोखरा चल्नुपर्छ त्यो ठीक छ । भैरहवा जा भनेको छ । गोरखपुरमा भारतीय सेनाको एयर फोर्स छ । त्यसले गर्दा विमान तल उडाउन सक्दैन । घुमाएर ल्यान्डिङ गर्नुपर्छ,” उनले भने, “अर्को कुरा भैरहवामा विमानभित्रको फोहार सफा गर्ने समानसम्म छैन । खानेकुराका लागि स्काइ सेफ छैन । अन्तर्राष्ट्रिय विमान कम्पनीले सफा खाना लोड गर्न सक्छ त त्यहाँ ?” 

विमानस्थलको पूर्ण सुविधा समेत नभइ सरकारले अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई भैरहवा र पोखरा पठाउन थालेको बजगाईको आरोप छ ।  महानिर्देशक अधिकारीले मन्त्री बद्री पाण्डे र सचिव गणेशप्रसाद पाण्डेलाई आफूले चाहे जसरी प्रयोग गरिरहेको बजगाईको आरोप छ । 

“क्यानका डीजीको मन्त्री पाण्डे र सचिव पाण्डे कर्मचारी भएका छन् । यो नितान्त बद्री पाण्डेको अकर्मण्यताका कारण हो,” उनले भने । 

पूर्वपर्यटन मन्त्री समेत रहिसकेका नेकपा माओवादी (केन्द्र) का सांसद सुदन किराँती वैज्ञानिक तवरले चाँडोभन्दा चाँडो निर्माण सक्नुपर्ने बताउँछन् ।  स्तरोन्नतिलाई चाँडै सकेर नेपालको हवाई क्षेत्रलाई चलायमान गराउनुपर्नेमा उनको जोड छ । 

उता महाननिर्देशक अधिकारी भने गर्मी याममा काम गर्न नसकिने, त्यसैबेला मनसुन पनि हुने भएकाले यो समय मात्र विकल्प बताउँदै आएका छन् । 

“यो कुनै रणनीति पनि होइन, यो कुनै राजनीति पनि होइन । र, यो कसैलाई पेलेको पनि होइन । बनाउनैपर्ने भएकाले बनाउन लागिएको हो । यसपछि यसको क्षमता विस्तार हुन्छ । यसले एयरपोर्टको इफिसेन्सी बढी हुन्छ । यसले यो भन्दा बढी फ्लाइट गर्ने सम्भावना रहन्छ,” अधिकारीले न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा भनेका थिए, “त्यसैले हामीले भैरहवा पठाउन काठमाडौँ बन्द ग¥यो भन्ने विषय यो त्यति म्याचिङ विषय होइन । यो विषय त हामीले ७/८ महिनादेखि एयरलाइन्सहरूसँग छलफल गरेर हामीले नो डाउन गरेर नै ६ महिना हुन लागि सक्यो । यो हाम्रो अगाडिकै योजना हो ।”

हवाई टिकट पाउनै महाभारत 

सरकारले २३ गतेदेखि विमानस्थल बन्द गर्दा अन्तर्राष्ट्रिय उडानका टिकट पाउनै मुस्किल भएको छ । क्यानको १० घण्टा विमानस्थल बन्द गर्ने निर्णयसँगै दिल्लीलगायतका अन्तर्राष्ट्रिय गन्तव्यको टिकटको मूल्य आकासिएको हो । 
विदेश जाँदा वा नेपाल भित्रिँदा महँगो मूल्यको टिकट लिनैपर्ने परिस्थिति सिर्जना हुँदै छ । प्राधिकरणको ‘गलत अडान’ का कारण यो समस्या भए पनि सरकारसमेत रमिते बनेको छ ।

श्रमका लागि अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्ने श्रमिकहरूले निकै महँगो दरमा टिकट लिनुपर्ने बाध्यता छ ।  यसअघि साउदी, दुवईलगायतका देशमा ३५ देखि ४२ हजार रूपैयाँमा पाइने टिकटको मूल्य एक लाखमाथि पर्ने थालेको म्यानपावर व्यवसायीहरू बताउँछन् । 

नेपालबाट श्रम स्वीकृति लिएका कामदर भारतबाट तेस्रो मुलुकमा जान सक्दैनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका ५० प्रतिशत उडान प्रभावित भएपछि निकै महँगो मूल्यमा टिकट काट्नुपर्ने बाध्यता सरकारले बनाइदिएको छ । 

महँगो मूल्यमा पनि टिकट पाइँदैन । नेपालबाट जाने अधिकांश जहाजको टिकट पाउनु ‘भाग्यमानी’ हुनुपर्ने अवस्था छ । एक महिनासम्म नर्मल रेटमा कुनै जहाजको टिकट पाइँदैन । 

नेपालको प्रमुख पर्यटकीय सिजन कात्तिक–मंसिर हो । यतिबेला विश्वभरबाट विदेशी पर्यटक नेपाल आउने गर्छन् ।  नेपाल आउने तर्खरमा रहेका कतिपय पर्यटकले हवाइ भाडा र टिकट नपाएकै कारण आफ्नो भ्रमण रद्द गरेका पर्यटन व्यवसायीहरू बताउँछन् । 

सरकारले जबर्जस्ती अन्य दुई विमानस्थल सञ्चालन गर्न काठमाडौंको विमानस्थल १० घण्टा बन्द गर्न लागेको भन्दै केही सांसदहरूले चर्को विरोध गरिराखेका छन् ।  संसदीय समितिमा समेत यसको चर्को विरोध हुँदा पनि मर्मत समय घटाउन सरकारले कुनै चासो दिएको छैन । 

विमानस्थल बन्द भएकै कारण नेपालबाट मुख्यगरी खाडी लगायतका राष्ट्र जाने यात्रुहरू पीडित हुनेछन् ।

क्यानका प्रवक्ता हंसराज पाण्डे विन्टर सेड्युलसम्म पनि अवस्था उस्तै रहेमात्रै १० घण्टा बन्द गर्ने निर्णय पुनरवलोकन गर्ने बताउँछन् ।  “विन्टर सेड्युल आइसकेको छ । भैरहवा र पोखरा पनि नजाने र उडान कटौती हुने अवस्था आए त्यसपछि रिभ्यू हुन्छ,” उनी भन्छन् । 

विमानस्थल १० घण्टा बन्द गर्नाले पर्यटनमा असर पुग्ने भन्दै कतिपयले यसको समय फेरबदलको पनि माग गरिहरेका छन् । ८ घण्टामा पनि काम गर्न सकिने अवस्था रहेको र यसले उडान पनि प्रभावित नहुने र भन्दै समयतालिका फेरबदल गर्न माग गरेका छन् ।

मन्त्रालय भने विमानस्थलको काम जसरी पनि सक्नुपर्ने अवस्था रहेको र विकल्पमा भैरहवा र पोखरा विमानस्थल देखाउँछ ।  भैरहवा र पोखरा सञ्चालन गर्न मन्त्रालयले आर्कषक प्याकेज समेत ल्याएको भन्दै विमानस्थल स्तरोन्नति अनिवार्य रहेको मन्त्री बद्री पाण्डे बताउँछन् । स्तरोन्नतिपछि विमानस्थलको क्षमता बढ्ने बताउँछन् ।

मुख्य पर्यटकीय मौसममा विमानस्थल १० घण्टा बन्द गर्ने र यसको विकल्पको रुपमा भैरहवा र पोखरा विमानस्थल दिँदा विमान कम्पनीहरूले उडान नै नगर्ने हो कि भन्नेसमेत चिन्ता छ । 

तर, सरकार जसरी पनि विमानस्थल बन्द गरेर ३० प्रतिशत उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पठाउन चाहन्छ । हालसम्म जम्मा तीनवटा जहाजमात्रै भैरहवा गएका छन् ।

निर्माण सकिएको लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान नभएपछि गौतमबुद्ध तथा पोखरा विमानस्थलमा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले २७ वटा कार्ययोजना ल्याएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro