site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
इन्स्पेक्टर जोडिएको ‘हनी ट्रयाप’ घटना हेर्ने जिम्मा सीआईबीलाई 

काठमाडौं । ललितपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारी ३० लाख रुपैयाँ असुल गर्ने गिरोहमाथिको बृहत्तर अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिइएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनानुसार, हनी ट्रयापको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले बुधबार उक्त प्रतिवेदन सीआईबीलाई बुझाएको हो ।

हनी ट्रयापको घटना अनुसन्धान गर्न एक टोली बनाइएको र काम थालिसकेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

गएको असोज ६ गते सुनसरीको इटहरीका ताज स्लाम र दर्शन पोखरेलले युवतीको प्रयोग गरी एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गर्ने योजना बनाएका थिए । योजना अनुसार, उनीहरू युवतीसहित इटहरीबाट ललितपुरको भैँसेपाटी आएका थिए ।

ती व्यवसायीबाट रकम असुल गर्न उनीहरूले प्रहरी प्रभाग भैँसेपाटीकी तत्कालीन प्रमुख एवं इन्स्पेक्टर विनुकुमारी शाहीलाई समेत प्रभावमा पारेका थिए । ललितपुर प्रहरीले उक्त सूचना पाएपछि असोज ९ गते ताज र युवती सुष्मा विकलाई नियन्त्रणमा लिएको थियो । दर्शन पोखरेल भने फरार भएका थिए ।

ललितपुर प्रहरीले पछि अनुसन्धानका क्रममा थप एक युवती भीमाकुमारी थापा र प्रहरी निरीक्षक शाहीका सवारीचालक महेन्द्र हमाललाई समेत नियन्त्रणमा लिएको थियो । निरीक्षक शाहीमाथि समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई पक्राउ गर्न प्रहरीले ललितपुर जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

तर, शाहीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । उनी प्रहरीकै केही अधिकारीको संरक्षणमा रहेको आशंका गरिएको छ ।

पक्राउ परेका ताज, थापा, प्रहरी सहायक हवल्दार हमाल र विकलाई समेत ललितपुर प्रहरीले सीआईबीलाई बुझाएको छ ।

यो समूहले इटहरीदेखि काठमाडौंसम्मका व्यवसायीलाई हनी ट्रयापमा पारेको आशंका गरिएको छ । एक वर्षअघिको दरबारमार्गको बलात्कार घटनामा पनि हाल पक्राउ परेका ताजकै भूमिका शंकास्पद देखिएको छ । त्यसबाहेक दोलखाका अर्का एक व्यवसायी समेत जोडिएका छन् । उनीहरूसँग एसपी कमल थापाको ‘कनेक्सन’ देखिएपछि उनी पनि छानबिनको दायरामा तानिएका छन् ।

सीआईबीले दरबारमार्गको बलात्कार घटनाबारे समेत अनुसन्धान थालेको छ । व्यवसायीलाई हनी ट्रयापमा पार्न युवतीलाई अनेक माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने र रकम नदिए बलात्कारको उजुरी हाल्न लगाउने गरेको ललितपुर प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

सीआईबीले गम्भीर प्रकृतिको घटना अनुसन्धान गर्दै आएको छ । सीआईबीले हनी ट्रयापबारेको घटना अनुसन्धान गर्न लागेको यो पहिलोपल्ट हो ।

ललितपुर प्रहरीका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले संगठित अपराध र अरू जिल्लामा समेत उनीहरूले हनी ट्रयापमा पारेर रकम असुल गरेको देखिएपछि सीआईबीलाई जिम्मा लगाइएको बताए ।

उनले भने, “यो संगठित गिरोह हो । उनीहरूको संलग्नता ललितपुर जिल्लाबाहेक पनि देखिन्छ । केही प्रहरी अधिकारीको भूमिका पनि शंकास्पद छ । त्यो अनुसन्धान सीआईबीबाट गर्दा अझ राम्रो हुन्छ ।”

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro