site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
के हुँदै छ एमसीसी परियोजना ? २९७ किमि प्रसारणलाइन बन्छ त समयमै ?

काठमाडौं । बहुचर्चित एमसीसी (मिलिनियम च्यालेज कम्प्याक्ट) सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाको बहुमतद्वारा अनुमोदन भयो, ०७८ फागुन १५ गते । पाँच वर्षभित्र उच्च क्षमताका ४०० केभी प्रसारणलाइन र ७७ किलोमिटर सडक बनाउने सम्झौता संसद्ले पास गर्‍यो ।

उक्त सम्झौतामा पाँच वर्षभित्रै परियोजना सकाउनुपर्ने सर्त स्वीकार गरिएको छ । सम्झौता पारित भएसँगै पूर्वतयारी समेत नसकी ०८० भदौ १३ गते आयोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स) सुरु भयो ।

प्रारम्भमै राजनीतिक विरोधको मारमा परेको परियोजना अनुमोदन त भयो, तर सम्झौताअनुरूप कामले गति नलिँदा ‘असफल’मा दर्ज हुने त होइन ? आशंका यथावत् छ ।

Dabur Nepal
NIC Asia

आयोजनाको मुख्य पाटो रहेको ३१५ किलोमिटर प्रसारणलाइनमा न्यु बुटवल–गोरखपुर १८ किलोमिटर प्रसारणलाइन निर्माण सम्झौता भएको छ । आयोजनाले १८ किलोमिटर प्रसारणलाइनको १२३.६० लाख अमेरिकी डलरमा सम्झौता गरेको छ । नेपालतर्फको २९७ किलोमिटर प्रसारणलाइनतर्फको ठेक्का लाग्न सकेको छैन ।

सुरुमा ७७ किलोमिटर सडक स्तरोन्नति गर्ने भनियो । तर, त्यसलार्ई घटाउँदै ४० किलोमिटरमा झारिएको छ । यसको पनि ठेक्का लाग्न सकेको छैन ।

आयोजनाको पाँच वर्षको दिनगन्ती सुरु भएको एक वर्ष सकिँदा पनि प्रसारणलाइन निर्माणमा ठेक्का लाग्न सकेको छैन । यसले बाँकी चार वर्षमा काम सकिनेमा आशंका पैदा भएको छ । सबैभन्दा धेरै समय लाग्ने प्रसारणलाइनकै काम सुरु नहुँदा आयोजना समयमै सकिनेमा आशंका पैदा भएको हो ।

एक वर्षको समीक्षा गर्दै एमसीए नेपालले आयोजनाका काम तीव्र रूपमा अघि बढाइएको जिकिर गरेको छ । तर, आयोजनाको प्रमुख कामको नै ठेक्का लागेको छैन ।

नेपालमा जलविद्युत्मा मुख्य चुनौतीको सवाल बनेको छ, प्रसारणलाइन निर्माण गर्नु । प्रसारणलाइन निर्माण समयमै हुन नसक्दा नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका धेरै आयोजनाको बिजुली खेर गएको छ । अझै एमसीसीको गाइडलाइनानुसार काम गर्दा नेपालमा प्रसारणलाइन निर्माण झनै सुस्त हुने विज्ञ बताउँछन् ।

प्राधिकरणले १० वर्षअघि सुरु गरेको प्रसारणलाइन निर्माण अझै सकिएको छैन । यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण पूरा हुँदा पनि प्रसारणलाइन नभएकै कारण बिजुली उत्पादन सम्भव भएको छैन । ६ वर्ष लगाएर आइतबार (कात्तिक १८) मात्र २८ किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न भएको छ ।

त्रिशूली–रसुवा हब जम्मा २८ किलोमिटर लामो छ । तर, ०७४ पुसदेखि थालिएको २८ किलोमिटर प्रसारणलाइन निर्माण आइतबार सकिएको प्राधिकरणले जनाएको छ ।

एमसीसीको २९७ किलोमिटर लामो प्रसारणलाइन निर्माण अबको करिब चार वर्षमा सकाउनुपर्छ । तर, हालसम्म बोलपत्र समेत आह्वान नगरिएको अवस्था छ । बोलपत्र प्रक्रिया टुंगिन अझै छ/सात महिना लाग्ने विज्ञ बताउँछन् । 

आयोजनाको मुख्य काम नै सुरु नगरी एक वर्ष बिताइएको छ । बाँकी चार वर्षमा २९७ किलोमिटर प्रसारणलाइन, सडक मर्मतलगायत काम गर्न नसकेमा अमेरिकाले पैसा नदिने उल्लेख छ । त्यसपछि म्याद थप नगरिए सबै पैसा नेपाल सरकारले हाल्नुपर्ने हुन्छ ।

एमसीए नेपालले गत वर्ष आह्वान गरेको बोलपत्रमा प्रसारणलाइनको लागत निकै उच्च भएपछि ठेक्का रद्द गरेको थियो । यसअघिका बोलपत्रमा परियोजना सकेसम्म वन क्षेत्रबाहिर बनाउने, वन बचाउन पहुँचमार्ग नबनाउने, कम जग्गा अधिग्रहण गरी ठूला टावर निर्माण गर्नेजस्ता कार्यले लागत उच्च भएको थियो । 

सुरुमा ‘न्यारो बेस डिजाइन’का कारण एमसीसी परियोजना समस्यामा पर्दा एक वर्षको प्रगति निकै सुस्त छ । गत वर्ष एमसीसी परियोजनाको प्रसारणलाइन निर्माणको प्रस्ताव गरेका पाँच भारतीय कम्पनीले लागतको ६० प्रतिशत बढी रकम उल्लेख गरेका थिए ।

एमसीएले नेपालले २९७ किलोमिटरका निम्ति तीन खण्डमा बोलपत्र आह्वान गरेको थियो । पहिलो लट ११७ किलोमिटर, दोस्रो ९० किलोमिटर र तेस्रोका लागि ९० किलोमिटर छुट्ट्याएको थियो ।

पहिलो लटअन्र्तगत ११७ किलोमिटरका निम्ति कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले २३ करोड ३१ लाख ६९ हजार ७४२ अमेरिकी डलर, ट्रान्सरेल लाइटिङले १३ करोड १५ लाख एक हजार २९८ डलर र लर्सेन एन्ड टर्बो लिमिटेडले लट–१ का निम्ति २१ करोड ८८ लाख ८५ हजार ७७२ डलरको प्रस्ताव पेस गरेका थिए ।

दोस्रो लटअन्तर्गत ९० किलोमिटरका निम्ति कल्पतरु पावरले १४ करोड ७८ लाख ७३ हजार ४०७ डलर, केईसी इन्टरनेसनल लिमिटेडले १६ करोड ३९ लाख ३६ हजार ३७७ डलर र टाटा प्रोजेक्ट लिमिटेडले १० करोड ५४ लाख २५ हजार १३ डलरको प्रस्ताव पेस गरेका थिए ।

यस्तै, तेस्रो लटअन्र्तगतको ९० किलोमिटर लामो प्रसारणलाइनका निम्ति केईसी इन्टरनेसनल लिमिटेडले १९ करोड ९७ लाख ९७ हजार ४३४ डलर, टाटा प्रोजेक्ट लिमिटेडले ११ करोड ४५ लाख ८५ हजार ५८६ डलर र लर्सेन एन्ड टर्बो लिमिटेडले २१ करोड १८ लाख ३९ हजार ८२७ डलरको प्रस्ताव पेस गरेका थिए ।

यसरी प्रत्येक लटमा उच्च लागत परेपछि सम्पूर्ण ठेक्का नै रद्द गरिएको थियो । त्यसको एक वर्ष बित्दा समेत आयोजनाको ठेक्का सम्झौता हुन सकेको छैन ।

एसीसीको डिजाइनमा रहेको टावर निर्माणस्थलसम्म पहुँचमार्ग नबनाई वन कटानीलाई सकेसम्म कम गर्न र ढुवानी गर्न भरिया, हेलिकोप्टर तथा जनावरको प्रयोग गर्नेजस्ता डिजाइन बनाउँदा लागत उच्च हुन गएको थियो ।

एमसीसी परियोजनाको कुल लागत ६९ करोड ७० लाख अमेरिकी डलर रहेको छ । जसमा अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर रहेनछ । प्रसारणलाइनको लागत उच्च हुने भएपछि ७७ किलोमिटर भनिएको सडक आयोजनालाई ४० किलोमिटरमा झारिएको थियो । प्रसारणलाइनतर्फ ३१५ किलोमिटरका निम्ति २२ करोड ६ लाख अमेरिकी डलर छुट्ट्याइएको छ ।

पहिलो प्याकेजको ११७ किमिकै लागत कुल लागतभन्दा ‘बिडिङ’ भएको थियो । प्राधिकरण तथा राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले प्रतिकिमि आठ करोडको हाराहारीमा प्रसारणलाइन निर्माण गरिहेका छन् । एमसीएले ३१५ किमिका निम्ति प्रतिकिमि सात लाख डलरको हाराहारीमा खर्च छुट्ट्याएको छ ।

एमसीसी नेपालको गौरवको आयोजना भएको र यसमा सरकारले पूर्ण समन्वय गरेर भए पनि समयमै सकाउनुपर्ने पूर्वसचिव दिनेशकुमार घिमिरे बताउँछन् । “आयोजनाले एक वर्ष बिताएको छ, यसलाई जुनसुकै हालतमा पनि सक्नुपर्छ । यसका लागि सरकारले पूर्ण सहयोग गर्नुपर्छ,” उनले भने, “हाम्रो यसअघिका कमजोरी हेरेर सबैले सहयोग गर्दै आयोजना समयमै सक्नुपर्छ ।”

एमसीसीले दिएको जानकारीअनुसार, आयोजनाको तीन सबस्टेसनअन्तर्गत नयाँ बुटवल, रातमाटे र नयाँ दमौलीको ठेक्का लागेको छ । नयाँ बुटवलका निम्ति तीन करोड ५५ लाख १० हजार डलर, रातमाटे, नुवाकोटका लागि पाँच करोड १६ लाख डलर र नयाँ दमौली, तनहुँका निम्ति तीन करोड ८८ लाख ९० हजार डलरमा निर्माणको ठेक्का दिइएको एमसीए नेपालले जनाएको छ ।

एक वर्षको समीक्षामा आयोजनाको कामलाई तीव्र रूपमा अघि बढाइएको र १० जिल्लामा ८५६ टावर निर्माणका निम्ति जग्गा प्राप्ति भएको एमसीए नेपालले जनाएको छ ।

दुईवर्षे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रममार्फत २७० जनालाई तालिम दिइएको छ । धादिङ, मकवानपुर र नवलपरासी पश्चिम गरी तीन जिल्लामा जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । नौ जिल्लामा पहिलो चरणको रुख गणना कार्य सम्पन्न भइसकेको एमसीए नेपालको दाबी छ ।

सडक मर्मतसम्भार आयोजनातर्फ धानखोलादेखि लमहीसम्म फुल डेथ्प रिक्लेमेसन (एफडीआर) प्रविधि प्रयोग गर्न ४० किलोमिटर लामो सडकखण्ड स्वीकृत भएको र यसै वर्ष बोलपत्र आह्वान गरिने एमसीए नेपालको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १५:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro