site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरो पीडितलाई लागेन फूल र बत्तीको झिलिमिली
Tiktok banner adTiktok banner ad

धुलिखेल (काभ्रेपलाञ्चोक) । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमंगको पर्वका रूपमा लिने गरिन्छ । समाजमा सबैसँगको सद्भाव र मनोरञ्जनको पर्वका रूपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रूपमा मनाइरहेका छन् ।

काभ्रेपलाञ्चोकका अधिकांश परिवारले भने यस वर्षको तिहारलाई हर्षका रूपमा मनाउन पाएका छैनन् । गत असोजको १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबार सबै बगाएपछि यहाँका अधिकांशको घरआँगनमा फूल र बत्तीको झिलिमिली नभई मनभरि पीडा मात्र छाएको छ । 

मनभरि पीडा बोकेर तिहार मनाउन नसकिएको पनौती नगरपालिका–१२ माथिल्लो रोशी बजारकी भवानी केसीको अनुभव छ । यसअघि घर नजिकै रहेको खोल्सामा कलकल बगिरहेको खोल्साको पानी अनि वरिपरि हरियाली वातावरणमा सुन्दर रहेको बस्तीमा एक्कासि गएको बाढीपहिरोले घरखेत सबै बगाएपछि बगर बीचमा ढलिरहेको घर देख्दा पीडाले मनमा सताइरहेको उनको भनाइ छ ।

घरआँगनमा तिहारको लागि रोपेको सयपत्री फूलको बगैँचासहित घर अहिले बाढीले खण्डहर बनाएको बगरमा परिणत भएको छ । “यहाँ बस्ने ठाउँ छैन, खेती गरेको धान बगाएर थोरै बाँकी थियो, त्यही जोगाउन भनेर आएकी हुँ,” भवानीले भनिन्, “अहिले बनेपामा कोठा लिएर बस्दै आएका छौँ ।”

राजेन्द्र श्रेष्ठले भित्र्याइसकेको धान र मकै सबै बगाएपछि कोठा लिएर बस्नुपरेको बताए । “बस्ने बाँस, खाने गाँस र पिउने पानी छैन,” उनले भने, “दसैँ पनि अर्काको घरमा बितायौँ, तिहार पनि त्यसै हुने भयो ।”

वडा कार्यालयले पीडितको विवरण संकलन गरेर लगेको भन्दै उनले यथाशीघ्र बासस्थानको व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

घरगोठ दुवै बगाएपछि पनौतीमा डेरा गरी बस्दै आएकी पनौती–१२ पचारेका सुमिना श्रेष्ठले वडा र नगरबाट केही राहत पाइएको बताउँदै उक्त राहत चाडपर्व मनाउन पर्याप्त नभएको उल्लेख गरिन् । बाढीले भएको जग्गाजमिन सबै बगाएको भन्दै राज्यले जग्गाको नाप, नक्सा छुट्याएर दिएमा आफ्नै टहरा बनाएर बस्ने उनले बताइन् ।

शिरखोलका अमरबहादुर केसीको बाढीले बगाएर घर र शौचालयको भाग थोरै मात्रै बाँकी रहेको देखाउँदै पाक्दै गरेको धान भित्र्याउन नपाउँदै करिब नौ मुरी धान फल्ने खेतसहित बगाएको बताए ।

रोशी बजारका शंकर तामाङ भने खर्च जुटाएर बाढीले बगाएको घर निर्माण गर्न खोलाबाट ढुंगा ओसार्ने काममा व्यस्त छन् । ढुंगा माटोले बनेको आफ्नो दुई तले घर खोलाले बगाएर बगर बनाएपछि अहिले उनी घर निर्माणमा व्यस्त छन् । घर नै नभएपछि चाडपर्व खुसीले मनाउने अवस्था नरहेको उनले बताए ।

“घर बनाउन पैसा छैन, छजनाको परिवारको जीविकोपार्जन गर्नु छ । दूध बेचेर आम्दानी गर्ने भैँसी बाढीले बगायो । अहिले ज्यालामजदुरी गरी अरूको घरमा बस्न बाध्य छौँ,” तामाङले भने ।

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले सुरक्षितरूपमा बसोबासको व्यवस्थापन गर्न आवश्यक रहेकाले त्यसका लागि संघीय सरकारले सहयोग नगरी सम्भव नभएका आवश्यक सहयोगका लागि पहल गरिरहेको बताए । 

जिल्लाको विकट डाँडापारिस्थित वाग्मती खोलाको बाढीले सबै बगाएपछि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्तीका बासिन्दा बगाएको बस्तीमाथि त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । 

अस्थायी बासस्थान निर्माणका लागि क्षतिको विवरण आवश्यक पर्ने भएकाले प्रहरी विवरण संकलन गरिरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । क्षतिको सम्पूर्ण विवरण संकलन भएपछि राहत र पुनर्स्थापना प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

रोशी गाउँपालिकाको नार्के र कालढुंगामा पनि रोशी खोलामा गएको बाढीले बस्ती बगाएपछि यहाँका नागरिकलाई पनि चाडपर्वको रौनकले छाएको छैन, कसैलाई पनि ‘फूल र बत्तिको झिलिमिली’ लागेको छैन । जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले घर बगाएर विचल्लीमा परेका परिवारले सुरक्षित बासस्थानको अभावमा खुसीले चाडपर्व मनाउन पाएका छैनन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro