टाउको दुखाइ आमस्वास्थ्य समस्याजस्तै बनेको पाइन्छ । कतिपय व्यक्तिमा यसको ठोस कारण वा कुनै रोग भए पनि धेरैलाई बिनाकारण टाउको दुखेको महसुस भइरहेको हुन्छ । के सबै खाले टाउको दुखाइ उस्तै हुन्, कस्तो अवस्थामा यो समस्या जटिल बन्न सक्छ ? अनि, कस्तो खाले टाउको दुखाइमा चिकित्सककहाँ पुग्ने ? यिनै विषयमा नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रदीप पाण्डेसँग बाह्रखरीकर्मी अस्मिता रिजालले गरेको कुराकानीको सम्पादित अंश :
सामान्यतः टाउको दुखाइ कस्ता कारणसँग जोडिएको हुन्छ ?
सामान्यतः टाउको दुखाइलाई दुई तरिकाले बुझ्न सकिन्छ, अर्ग्यानिक र फंग्सनल । कुनै कारणवश टाउको दुख्नु – जस्तै, ब्रेनमा समस्या, ज्वरो, पिनास, आँखा कमजोर आदि । यी कारण शरीरका विभिन्न अंगसँग जोडिएका छन्, अर्थात् अर्ग्यानिक कज हुन् । यिनको प्रस्ट कारण र समाधान हुन्छ ।
अर्को फंग्सनल भयो, जसमा शरीरका अन्य अंग ठिकठाक भए पनि एक प्रकारको टाउको दुखाइ भइरहन्छ । बिरामीलाई यसको कारणबारे थाहा हुँदैन । यसअन्तर्गत माइग्रेन हेडेक र टेन्सन हेडेक सबैभन्दा धेरै हुने समस्या हुन् ।
इन्टरनेसनल हेडेक सोसाइटीका अनुसार, यसप्रकारको टाउको दुखाइमा ७० प्रतिशत टेन्सन हेडेक हुन्छ भने १८ प्रतिशत माइग्रेन हेडेक हो । बाँकी २ प्रतिशत अन्य विविध छन् ।
टाउको दुखाइका ७० प्रतिशत कारण मानसिक स्वास्थ्यसँग जोडिएको हुन्छ । मानसिक स्वास्थ्यसँग सम्बन्धित टाउको दुखाइमा तनाव, डिप्रेसनले, बारम्बार नकारात्मक विचार आउनु, मनमा बढी विचार खेल्नु, रिस उठ्नुजस्ता कारण हुन्छन् ।
ब्रेनमा क्षमताभन्दा बढी विचार चलेमा, नकारात्मक विचार पटक–पटक आएमा ब्रेनले सोच्ने गति छिटो हुन गई यसले टाउको दुखाइ निम्त्याउँछ ।
तनावले टाउको दुखेको वा अरू कुनै रोगका कारण भन्ने कसरी छुट्ट्याउने ?
मनमा कुरा खेलाउने, धेरै सोच्ने व्यक्तिमा ब्रेनको गति अति तीव्र हुन्छ । जसका कारण टाउको भारी हुने, गह्रुँगो हुने, केहीले थिचेजस्तो, फुलेजस्तो, ठूलो भएको, पोलेको जस्तो, केही हिँडेको जस्तो हुन्छ ।
किनकि, यो अवस्थामा विचारले धेरै ठाउँ लिन खोज्छ र ब्रेनमा हुने प्रक्रियाका कारण शरीरले विभिन्न अवस्था महसुस गर्छ । यसमा सबैभन्दा धेरै नकारात्मक सोचको भूमिका हुन्छ ।
यही ठाउँमा सकारात्मक सोच स्थिर, शान्त किसिमको हुन्छ, ब्रेनको स्पीड र ठाउँ दुवै सीमित रहन्छ र सकारात्मक सोचमा टाउको दुखाइ हुँदैन ।
अरू कस्तो अवस्थामा टाउको दुख्छ ?
मानसिक स्वास्थ्यसँग जोडिएर टाउको दुखाइको अर्को अवस्था हुन्छ, सोम्याटोफर्म । यसमा हाम्रो चेतन (कन्सियस) र अवचेतन (अनकन्सियस) मन जोडिएको हुन्छ । यदि, तनावहरू चेतन मनमा आए त्यसले आत्तिने, डर लाग्ने, निराश हुनेलगायत प्रतिक्रिया पैदा गर्छ ।
तर, चेतन मनले थाहै नपाई वा महसुस नगरी अवचेतन मनमा गएर बसे ती तनावहरू दबिएर बस्छन् । यसरी दबिएका तनावहरूको असर शरीरका विभिन्न अंगको माध्यमबाट महसुस हुन्छ ।
अवचेतन मनमा बसेका तनावहरू पूरै शरीरमा जान्छ र शरीरमा लक्षण देखिन्छन् । यो अवस्थामा टाउको दुख्ने, घाँटीमा केही अड्किएको जस्तो हुने, शरीर झमझमाउने, पिसाब पोल्ने, मुटुको समस्याजस्ता शारीरिक लक्षण देखिन्छन् ।
शारीरिक परीक्षणमा सबै ठिकठाक भए पनि यस्ता लक्षण देखिनु भनेको नै तनाव हो । त्यसैले रोग नियन्त्रणको एक प्रमुख उपाय तनाव व्यवस्थापन पनि हो । यदि, शारीरिक परीक्षणमा सबै सामान्य भए पनि यस्ता लक्षण देखिए मानसिक रोग विशेषज्ञकहाँ पुग्नुपर्छ ।
टाउको दुखाइको अर्को कारण पर्याप्त निद्रा नपुग्नु पनि हो । दैनिक ६ देखि ८ घण्टा राम्रोसँग नसुत्ने व्यक्तिको दिमागले आराम पाउँदैन, तनाव निस्कँदैन र टाउको दुख्छ ।
मानसिक स्वास्थ्यसँग जोडिएको अर्को एउटा अवस्था हुन्छ, इम्पल्स कन्ट्रोल डिसअर्डर । सानो–सानो कुरामा धेरै कराउने, चर्को स्वरमा बोल्ने, बोल्दाबोल्दै आक्रामक क्रियाकलाप गर्ने, रिसाहा प्रवृत्तिका व्यक्तिलाई तत्कालै टाउको दुख्ने हुन्छ । विवाद धेरै गर्ने व्यक्तिमा पनि नकारात्मक ऊर्जा प्रवाह भई टाउको दुखाइ हुनसक्छ ।
माइग्रेनको टाउको दुखाइ र अरूका लक्षणमा के फरक छ ?
माइग्रेनका अधिकांश बिरामीलाई एक साइड मात्रै टाउको दुख्छ । आँखामा पनि त्यसको असर देखिन्छ । कसैलाई बान्ता हुन्छ । अति धेरै दुख्छ । यस्ता बिरामीलाई प्रकाश, आवाज, खाना, गन्धलगायतले पनि टाउको दुख्छ । माइग्रेनको दुखाइ सामान्यतः ४ देखि ७२ घण्टासम्म दुख्न सक्छ ।
टेन्सन हेडेकमा हल्का दुख्छ । कारण प्रस्ट हुन्छ, औषधि खाएर निको हुनसक्छ । यसरी लक्षणका आधारमा माइग्रेन र टेन्सन हेडेक छुट्ट्याउन सकिन्छ ।
नेपालमा मानसिक स्वास्थ्यसँग जोडिएर हुने टाउको दुखाइको अवस्था कस्तो पाउनुहुन्छ ?
पछिल्लो समय टिनएजका बालबालिका र जागिरे व्यक्तिमा विभिन्न खाले तनावजन्य टाउको दुखाइ भएको पाइन्छ । धेरै घण्टासम्म डिउटी गर्ने व्यक्तिमा तनावजन्य टाउको दुखाइ बढी देखिएको छ ।
वर्कप्लेस टक्सिक इन्भारमेन्ट अर्थात् कार्यस्थलको वातावरण र कामको बोझले पनि विभिन्न मानसिक समस्या निम्त्याएको पाइएको छ । यस्ता व्यक्तिमा एन्जाइटी टेन्सन हेडेक बढी हुन्छ । कार्यस्थलको लोडलाई धान्न नसक्दा कतिपय अप्रिय घटनासम्म भएका छन् ।
अर्को महत्त्वपूर्ण कुरा, माथि उल्लेख गरिएजस्ता शारीरिक लक्षणका आधारमा मानसिक समस्या छ भनी स्वीकार गर्ने प्रवृत्ति कम छ नेपाली समाजमा ।
यसमा म र मेरो भन्ने बुझाइले भूमिका खेलेको पाइन्छ । म र मेरोको बीचमा अन्तर छ । शारीरिक समस्या वा कारण मेरो हो भनिन्छ । तर, मानसिक समस्या देखिए म यस्तो भएँ भनी स्वीकार्न धेरैलाई गाह्रो हुन्छ ।
मानसिक कारण अर्थात् म भन्ने अस्तित्व व्यक्तिको घमण्डसँग जोडिएको छ । आफ्नो मन कमजोर भएको स्वीकार नगर्ने, कमजोर मानसिकता भएकालाई मात्रै मानसिक समस्या हन्छ भन्ने बुझाइले धेरैले रोग लुकाएर बसेको पाइन्छ ।
विशेष गरी पहुँचवाला, समाजमा चिनिएका तथा पद–प्रतिष्ठामा भएका व्यक्तिमा यस्तो समस्या बढी देखिन्छ । उनीहरूमा म यस्तो हुनै सक्दिनँ वा म आफैँले आफैँलाई सम्झाउनुपर्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ, जसका कारण परामर्शमा पुग्दैनन् – परिणामस्वरूप आत्महत्यासम्मका अप्रिय घटनाहरू भएका छन् ।
मानसिक स्वास्थ्यबारे अझै पनि नेपाली समाजमा खुल्नु र यस्ता सामाजिक घटनाबारे चर्चा गर्नु आवश्यक छ ।
कार्यस्थललाई कसरी तनावमुक्त र सहज बनाउने ?
सामान्यतः विकसित मुलुकहरूमा ६ देखि ८ घण्टाभन्दा बढी डिउटी आवर हुँदैन । यही डिउटी आवर भएका मुलुक नै खुसी राष्ट्रको सूचकांकमा अगाडि छन् । मानसिक स्वास्थ्य समस्या पनि कम छ ।
कतिपय अवस्थामा व्यक्तिको कामप्रतिको मोह, क्षमता आदिले पनि खुसी र सन्तुष्टि निर्धारण गर्ला । तर, सबैलाई एउटै वर्गमा राखेर कामको अधिक लोड दिनु उचित हुँदैन । व्यक्ति तोकिएको अवधिसम्म काम गर्न सहज छ कि छैन, उसको क्षमता कति हो, मानसिक अवस्था कस्तो छ भन्ने रोजगारदाताले विचार गर्न आवश्यक हुन्छ ।
व्यक्तिलाई १२ घण्टा डिउटी गराउनुभन्दा ८ घण्टामा दिएको कामको गुणस्तर राम्रो हुन्छ । यो रिसर्चले पुष्टि गरेको तथ्य हो । थोरै समयमा उत्पादकत्व बढी हुन्छ । निश्चित समयमा ब्रेन थाक्छ र कामको गुणस्तरमा ह्रास आउँछ ।
डिउटी गरिरहने व्यक्तिले पनि काममा प्रेम कति छ, लगाव कति छ विचार गर्नुपर्छ । पैसाको लागि मात्रै काम गर्नेभन्दा भित्रैदेखि इच्छा राखेर काम गरे त्यो तनावमुक्त हुनसक्छ । यसबाहेक कार्यस्थलको वातावरण र आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ ।
कस्तो अवस्थाको टाउको दुखाइमा तत्काल चिकित्सकको परामर्श लिने ?
सिकिस्त टाउको दुखाइ, बान्ता हुने, आँखामा असर परेको जस्ता समस्या लगातार भए त्यसको कारण पहिचान गरिहाल्नुपर्छ ।
यदि, टाउको दुखाइ लगातार छ, दैनिकीमा प्रभाव पारिरहेको छ, दुई हप्ताभन्दा बढी दुख्छ भने पनि परामर्श लिनुपर्छ । यसबाहेक चोट लागेको निको भएपछि पनि दुखिरहन्छ भने तत्काल चिकित्सककहाँ पुग्नुपर्छ ।