site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतले शेख हसिनालाई राजनीतिक शरण दिन लागेको हो ?

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना यतिखेर भारतमा छिन् । विद्यार्थी आन्दोलनले सिर्जित विद्रोहका कारण सत्ता गुमाएर हसिना भारत आइपुगेको करिब साढे दुई महिना भयो ।

भारत आए यता हसिना सार्वजनिकरूपमा देखा परेकी छैनन् । तर, पछिल्लो समय समाजिक सञ्जालमा उनका केही तस्बिर सार्वजनिक भएका छन् । उनले फोनमा गरेको भनिएको कुराकानीको अडियो पनि लिक भएको छ । तर, ती तस्बिर र अडियोको सत्यता पुष्टि हुन सकेको छैन ।

हसिनासँगै बंगलादेशबाट आएकी उनकी बहिनी शेख रिहाना र हसिना कहाँ छन्, के गर्दै छन् भनेर भारतले औपचारिकरूपमा जानकारी गराएको छैन । १७ अक्टोबरमा भारत सरकारले हसिना भारतमै रहेको बताएको थियो ।

उनी राजनीतिक शरण खोज्दै खाडी मुलुक जाने सम्भावना नभएको भारतले नै बताएको छ । यसबाहेक पहिले अनुमान गरिए जसरी अमेरिका, बेलायत वा युरोपमा शरण माग्ने सम्भावना पनि छैन ।

दिल्लीको साउथ ब्लकका एक अधिकारका अनुसार, भारत सरकार विस्तारै हसिनालाई लामो समयसम्म भारतमै रहने अनुमति दिने विषयमा आफूलाई तयार गर्दै छ ।

त्यसो भए के भारतले तिब्बती धर्मगुरु दलाई लामा र अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजीबुल्लाहलाई जस्तै हसिनालाई पनि राजनीतिक शरण दिन लागेको हो ?

भारतको दृष्टिमा हसिना विशेष परिस्थितिमा बाध्य भएर आएकी पाहुना हुन् । बंगलादेशमा हुन सक्ने सुरक्षा खतराका कारण हसिना भारत आएको भारत सरकारले बुझेको छ । यस दृष्टिले भारतले उनलाई लामो समयसम्म राख्न सक्छ । तर, अहिले नै हसिनालाई राजनीतिक शरण दिने भारतको कुनै योजना छैन । हसिनाले पनि राजनीतिक शरणका लागि भारत सरकारसँग अनुरोध गरेकी छैनन् ।

तर, यदि भविष्यमा हसिनाले राजनीतिक शरणका लागि भारतसँग अनुरोध गरेमा भारतका तमाम राजनीतिक दल यस विषयमा सहमत हुने कुरा भारत सरकारले बुझेको छ । हसिनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्र होइन, कांग्रेसका नेताहरूसँग पनि निकटको सम्बन्ध छ ।

तर, अहिले भारत सरकार हसिनालाई राजनीतिक शरणार्थीका रूपमा नभई पाहुनाका रूपमा राख्न खोजिरहेको छ । बीबीसी हिन्दीका अनुसार, भारत सरकारले हसिनालाई ट्राभल डकुमेन्ट उपलब्ध गराएको छ । यस डकुमेन्टका आधारमा हसिना आवश्यक परेको समयमा अर्को देश जान सक्छिन् । बंगलादेश सरकारले हसिनाको राहदानी रद्द गरिसकेको छ, त्यसैले भारतले यस्तो डकुमेन्ट उपलब्ध गराएको हो ।

अगस्ट ५ मा भारतको हिन्डन एयरबेस पुगेकी हसिना अहिले कहाँ बसिरहेकी छिन् भन्ने यकिन जानकारी छैन । उनी विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक रहेकी आफ्नी छोरी साइमा वाजिदको घरमा हुन सक्ने अनुमान पनि गरिन्छ । अर्को खबर अनुसार, हसिना उत्तर प्रदेशको मेरठ वा हरियाणाको मानेसरमा अर्धसैनिक बलको सेफ हाउसमा हुन सक्छिन् ।

हसिना अमेरिकामा रहेका आफ्ना छोरा र दिल्लिमा रहेकी विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक छोरीसँग निरन्तर सम्पर्कमा छिन् ।

भारतका लागि हसिना नबोलाएकी पाहुना भए पनि उनको सम्मान र सत्कारमा भारतले कमी गरेको छैन । भारतसँग निटक मानिने हसिनालाई भारतले आफ्नो मित्रताका सम्मानका लागि पनि राष्ट्रिय अतिथिका रूपमा राखेको छ ।

यस अगाडि सन् १९७५ मा हसिनाका बुबा शेख मुजीबको हत्या हुँदा पनि उनी सपरिवार भारतमा शरण लिन आएकी थिइन् । दिल्लीको ‘थिङ्क ट्याङ्क आईडीएसएकी सिनियर फेलो’ स्मृति पटनायक सम्झिन्छिन, "प्राविधिकरूपमा त्यतिखेर पनि हसिनालाई राजनीतिक शरण दिइएको थिएन ।" त्यतिखेर पहिचान गोप्य राखेर हसिनालाई राष्ट्रिय अतिथिका रूपमा राखिएको थियो । यस घटनाको करिब आधा शताब्दीपछि पनि भारत सरकारले उस्तै नीति अख्तियार गर्ने संकेत देखाएको छ ।

१९७५ देखि १९८१ सम्म जसरी हसिना र उनका परिवारको पहिचान लुकाएर गोप्य राख्न सम्भव थियो, आजको समयमा त्यस्तो गर्न सम्भव छैन । तर, भारतको दृष्टिमा हसिनालाई अतिथिका रूपमा भारतमा रहन दिनु नै कूटनीतिक समस्याको सर्वस्वीकार्य समाधान हो ।

त्यसो त जविरुद्ध बंगलादेशमा प्रदर्शन भयो । उनैलाई भारतले पाहुना बनाएर राख्दा भारत बंगलादेशसम्बन्धी चिसिने आकलन पनि उत्तिकै छन् । ‘हाई प्रोफाइल’ नेतालाई शरण दिनुपर्ने अवस्थामा संसद्‌मा यसको घोषणा गर्नुपर्छ । राजनीतिक दलहरूसँग पनि यस विषयमा सल्लाह गर्नुपर्छ । तर, यो बाध्यकारी नियम होइन ।

यता बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनलले १७ अक्टोबरमा हसिनालाई फरार घोषित गरेर पक्राउ पुर्जी जारी गरेको छ । बंगलादेश सरकारले पनि अदालतको यो निर्देशन लागु गर्न यथाशीघ्र कदम उठाउने बताइरहेको छ । एक महिनाभित्र पक्राउ पुर्जी तामेल गर्नुपर्ने स्थितिमा बंगलादेश सरकारले हसिना बंगलादेशलाई फिर्ता गर्न पत्र पठाउन सक्छ ।

तर, भारतले हसिनालाई फिर्ता पठाउनुपर्ने बंगलादेशको माग सहजै स्वीकार गर्ने छैन । बंगलादेशका लागि भारतीय राजदूत रहिसकेकी रिवा गांगुली दास भन्छिन्, "उनलाई अतिथिका रूपमा वा राजनीतिक शरण दिएर राखिएको छ भन्ने भन्ने कुरा ठूलो होइन । उनलाई उचित सम्मानसहित राखिएको छ कि छैन भन्ने ठूलो कुरा हो ।"

उनका अनुसार, हसिना भारतमा राजनीतिक शरण लिएर वा अतिथिका रूपमा बसून्, यसले केही फरक पर्दैन । उनी भन्छिन्, "अंग्रेजीमा एउटा भनाइ छ, ‘अ रोज इज रोज’ अर्थात् गुुलाफको जुनसुकै नाम लिए पनि गुलाफ नै हो । ठिक त्यसैगरी भारत शरण लिऊन् वा अतिथि होऊन् हसिना त भारतका लागि हसिना नै रहन्छिन् ।"

बीबीसी हिन्दीको सहयोगमा ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro