काठमाडौं । कुनै बेला बैंकको ब्याजदर एकल विन्दुमा झार्नुपर्ने मागसहित उद्योगी–व्यवसायीले आन्दोलन नै गरेका थिए । बैंकले कर्जामा लिने ब्याज बढी भएको गुनासो बोकेर उनीहरू माइतीघर मण्डलामा धर्ना दिनसमेत पुगे । उनीहरूको भनाइ थियो– चर्को ब्याजदरले व्यवसाय गर्न असहज भयो ।
०७९ सालमा होटल संघ नेपाल (हान)ले ब्याजदरको सम्बन्धमा विज्ञप्ति नै जारी गरेको थियो । बैंकहरूले ब्याजदर एकल विन्दुमा नझारे धेरै होटेल व्यवसाय बन्द हुने हानको निष्कर्ष थियो ।
अहिले बैंक तथा वित्तीय संस्थाले निरन्तररूपमा ब्याजदर घटाइरहेका छन् । भदौसम्म आइपुग्दा प्राय बैंक तथा वित्तीय संस्थाको ब्याजदर एकल विन्दुमा नै झरेको छ । तर पनि कर्जा लगानी उत्साहजनकरूपमा बढ्न सकेको छैन । बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा १.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
निरन्तर ब्याजदर घट्दा पनि निजी क्षेत्रमा प्रवाह हुने कर्जामा उत्साह नदेखिनु अर्थतन्त्रमा चरम मन्दीको संकेत भएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । विदेशी विनिमय सञ्चिति राज्यको ढुकुटीमा थुप्रिएर मात्र अर्थतन्त्रमा सुधार नहुने उनको भनाइ छ ।
“विदेशी विनिमय सञ्चिति बढ्ने आधारहरूमा वस्तु निर्यात, रेमिट्यान्स, पर्यटन, एफडीआई हुन्,” उनले बाह्रखरीसित भने, “अहिलेको विदेशी विनिमय सञ्चिति बढ्नुको प्रमुख आधार रेमिट्यान्स हो । रेमिट्यान्सबाट बढेको विदेशी विनिमय सञ्चिति नेपालको परिप्रेक्ष्यमा दिगो हैन ।”
राष्ट्र बैंकका अनुसार, पछिल्लो दुई महिनामा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसबाहेक वस्तु तथा सेवा निर्यात, विदेशी लगानी, पर्यटक आयबाट पनि विदेशी विनिमय भित्रिएको छ । सबैभन्दा बढी रेमिट्यान्सबाट विदेशी विनिमय सञ्चित भएको छ ।
रेमिट्यान्सबाट भित्रिएको विदेशी विनिमय सञ्चितिलाई उत्पादनशील क्षेत्रसँग जोडेर रोजगारी सिर्जना गर्न सके अर्थतन्त्रमा प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने थापाको भनाइ छ । यसका साथै नेपालमा उत्पादित वस्तुको निर्यात बढाएर, विदेशी लगानी भित्र्याएर र विदेशी पर्यटक भित्र्याएर नेपालमा रोजगारी सिर्जना गर्न सके आन्तरिक अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने थापा बताउँछन् ।
निजी क्षेत्रमा गएको लगानी, घट्दो बैंकको ब्याजदर तथा महँगीमा नदेखिएको दबाबका कारण पनि अहिले अर्थतन्त्रमा मन्दी छाएको स्पष्ट संकेत देखिएको थापाको भनाइ छ । निरन्तर बैंकको ब्याजदर घट्दा निजी क्षेत्र उत्साहित भएर लगानी नगर्नुले पनि नेपालको अर्थतन्त्र चरम मन्दीमा रहेको संकेत गर्ने उनी बताउँछन् ।
“प्रत्येक महिना बैंकको ब्याजदर घट्दै गएको छ, निजी क्षेत्रमा जाने कर्जा बढ्न सकेको छैन । मुद्रास्फीतिमा दबाब छैन,” उनले भने, “सरकारले लगानीको वातावरण बनाउन नसक्नुको परिणाम पनि हो यो । निक्षेप बढेपछि बैंकहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्थ्यो ।”
भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको भदौ महिनामा ९.१९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
अहिले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक देखिएका छन् । विदेशी विनिमय सञ्चिति, चालु खाता, शोधनान्तर स्थितिलाई हेर्दा नेपालको अर्थतन्त्रका बाह्य सूचक सकारात्मक देखिन्छन् । तर, विदेशी विनिमय सञ्चिति बढेर मात्र अर्थतन्त्रमा सुधार नहुने थापा बताउँछन् ।
चालु आर्थिक वर्षको भदौ मसान्तसम्म विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५२ अर्ब पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिति १६ अर्ब चार करोड पुगेको छ । साउन र भदौ महिनाको आयातलाई आधार मान्दा अहिलेको विदेशी विनिमय सञ्चितिले १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी वस्तु मात्र आयात गर्दा १६.८ महिना धान्ने देखिन्छ ।
यसरी विदेशी विनिमय सञ्चिति बढ्नु सकारात्मक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन् । विदेशी विनिमय सञ्चितिलाई उत्पादनसँग जोडेर रोजगारी सिर्जना गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको पनि भनाइ छ । विदेश गएका नेपालीले पठाएको पैसाले उनीहरूको परिवारले उद्यमशील काम गरिरहेको र आन्तरिक अर्थतन्त्रमा योगदान पुर्याइरहेको उनको भनाइ छ ।
यदि कसैले उद्यमशील काम नगरी पैसा बैंकमा राख्न ल्याए बैंकमा निक्षेप बढ्ने र ब्याजदर सस्तो हुने पनि उनी बताउँछन् । यसरी ब्याजदर सस्तो हुँदा उद्योगी व्यवसायीले उद्योगधन्दा खोल्न प्राप्त गर्ने कर्जाको ब्याज सस्तो हुन जाने उनको भनाइ छ ।
विदेशी विनिमय सञ्चिति बढाउन विदेशी लगानीकर्तालाई नेपालमा लगानी बढाउन प्रोत्साहन तथा घुम्न र पढ्न आउने वातावरण बनाउनुपर्ने उनी बताउँछन् ।
भदौ मसान्तसम्म चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ भने शोधनान्तर स्थिति एक अर्ब एक अर्ब ७७ करोड रुपैयाँले बचतमा छ । यसले विदेशबाट आयात गर्ने वस्तुको खपत देशमा कम भएको पनि संकेत गर्छ ।
साउन र भदौमा दुई खर्ब ६२ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात गरिएको छ । तर, दुई महिनामा वस्तु निर्यात ५.१ प्रतिशतले घटेर २५ अर्ब नौ करोड रुपैयाँको भएको छ ।