site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
ठूला दलका नेताहरू चुप लागेमा अलोकतान्त्रिक शक्तिको उदय हुन सक्छ !

नयाँ पुस्ताले पञ्चायतकालमा अचानक चुनाव जितेका नानीमैया दाहाल, पुहातु चौधरी, चन्द्रबहादुर बुढालगायतका पात्रहरूको नाम सायदै सुनेका होलान् । यी सबै नामहरू दलबिहीन निरंकुश पञ्चायती व्यवस्था परिवर्तन निम्ति जनताको आक्रोशका प्रतीक थिए, आजका बालेन, हर्क, रवि लामिछानेजस्तै ।  

पञ्चायती व्यवस्था त निरङ्कुश थियो, जनआक्रोश स्वाभाविक पनि हो । तर आफैँले संघर्ष गरी ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति किन असन्तुष्ट छन् त नागरिक ?

भ्रष्टाचारीलाई संरक्षण दियो, नातागोता च्याप्यो । एक वर्षमा सकिनुपर्ने विकास योजना दश वर्षसम्म पनि सकिएनन् । युवाहरूले रोजगारी पाएनन्, विदेश पलाएन हुन बाध्य भए । आफू अनुकूल संविधानको व्याख्या गर्ने प्रवृत्ति कारण पनि नेताहरूप्रति जनता आक्रोशित भएका हुन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुनै बेलाका आफ्नै नायकहरूप्रति आमजनता किन आक्रोशित छन् ? यो गम्भीर विषय हो र यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बेला आइसकेको छ ? २०४६ सालअघि प्रजातन्त्र पुनस्र्थापनका लागि लडेकाहरूलाई तत्कालीन प्रधानमन्त्री मरीचमान सिंह र शासकीय वृत्तका पात्रहरूले मुठ्ठीभरका आन्दोलनकारी संज्ञा दिँदै दमन नगरेका होइनन् । हाल पनि दलीय नेताहरूले मेरो वा हाम्रो दलको नेताको विरोध भएको छैन भनी चुप लागेर बस्ने अवस्था छैन । आमजनताको भावना सम्वोधन हुन नितान्त जरुरी भइसक्यो । यस्ता कार्यमा प्रतिगमनकारी शक्तिले चलखेल गर्नु स्वाभाविक हो ।

केही प्रतिगमनकारी शक्तिबाहेक, यो आक्रोश व्यवस्थाप्रति नभई दलका नेताहरूप्रति हो । भुटानी शरणार्थी, गिरिबन्धु, बालुवाटार जग्गालगायतका काण्डहरू छँदैथिए, त्यसमा सहकारी ठगीले जनआक्रोश नै थपेको छ । यी काण्डका खलनायकहरू कानुनी रूपमा सबैले सफाइ पाउलान्, तर राजनीतिक र जनताको नजरमा सफाइ पाउन निकै कठिन पर्छ ।

Royal Enfield Island Ad

सहकारी पीडितको पीडाको प्रमुख जड भनेकै सरकारका नियमनकारी निकाय पंगु भएका कारण हो । सर्वसाधारणले मकै पोलेर, भारी बोकेर, मजदुरी गरी खाई नखाई जम्मा गरेको रकम भविष्यमा सन्तानको शिक्षा, दीक्षा र औषधि उपचारका लागि हो । आफूले जम्मा गरेको पुँजी समयमा नपाउँदा शारीरिक रूपमा नै देहत्याग गर्नुपरेको त छँदै छ । जिउँदो हुनेले समेत भोकै मर्नु परेको छ । बालबालिकाहरूको शिक्षा, दीक्षाको कुरा त परै जाओस् ।

सहकारीमा रकम जम्मा गर्ने अर्काथरी भने उपल्लो दर्जाका हुन् । जसले आफ्नो कालो धन सेतो बनाउन सहकारीको सेयर किनेर रकम जम्मा गरेका छन् । सहकारी पीडित समस्या समाधानका लागि राज्य नै पूर्ण रूपमा जिम्मेवार हो । यसको समाधान उसैले खोज्नुपर्छ । 

प्रत्यक्ष वा परोक्ष रूपमा पैसा अपचलन गर्नेलाई उन्मुक्ति दिइनु हुँदैन । तिनीहरूलाई फौजदारी हुन्छ कि संगठित अपराधमा मुद्दा चलाउँदै पैसा नतिरेसम्म आजीवन कारबाहीको व्यवस्था गरियो भने ६ महिनाभित्र यो प्रकरणको समाधान हुन्छ ।

हाल सहकारी ठगमा चर्चामा रहेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पनि एक हुन् । जनताको मकै पोलेर बेचेको पैसाबाट उनले लाखौँ तलब खाएको कुरा अझ घाम जस्तै छर्लङ्ग छ । आफूलाई विकल्प होइन वैकल्पिक पार्टी भनेर विशेषगरी विदेशमा बस्ने नेपालीको आँखामा छारो हाल्न सफल भएका छन् उनी ।

इलामको उपनिर्वाचनमा पाएको मतबाट अब त्यो पार्टीको हैसियत प्रस्ट त भयो भने स्थानीय तहको उपनिर्वाचनमा पछि हट्न खोज्नुबाट उक्त पार्टीको महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदन सार्थक भएन र ? नागरिकतामा दोषी, पासपोर्टमा दोषी, सहकारीको त कुरै नगरौँ ? के अब जनताले साथ देलान् कानुनतः समस्याको जड खोज्नुको सट्टा प्रतिकार गर्छु भन्नु र चितवनका जनताले अवहेलना गरेबाट यस्ता ठगहरूका दिन गन्ती सुरु भएको होइन र ?
जनताको असन्तुष्टिको आगोमा घ्यु थप्नेचाहिँ माओवादी हुन् । शान्ति प्रक्रियामा आएपछि देशमा केही गर्लान् भनी जनताले वि.सं. २०६४ को संविधानसभामा करिब बहुमत दिएकै हुन् । तर सरकारमा पुग्नासाथ नै नातागोतालाई प्राथमिकतामा मात्र होइन सुरा सुन्दरी, सुनमा रमाउन थालेपछि उनीहरूको मुकुन्डो उत्रियो । त्यस पश्चात् हरेक निर्वाचन कसै न कसैको ढाड चढेर आफ्नो अस्तित्व जोगाई राख्न सफल उक्त पार्टी सरकारको नेतृत्वबाट बाहिरिएका नेताहरू बरबराउन थालेका छन् ।

यथार्थमा टाउकोले पुच्छर हल्लाउनुपर्नेमा पुच्छरले टाउको हल्लाउन छाडेपश्चात्, बङ्गलादेश बनाइदिन्छु भन्न समेत पछि परेनन् । सरकारको संविधान संशोधनको प्रमुख मुद्दालाई जनतामा भ्रम फैलाउनका खातिर संविधान संशोधन प्राप्त उपलब्धिलाई प्रतिगमनतर्फ फर्कन लागेको भन्दै भ्रम छर्ने कार्य गर्दै छन् । आफ्ना कार्यकर्ताहरूले उक्त कुरा पत्याउलान्, तर आम सर्वसाधारणले कुनै हालतमा पनि पत्याउने छैनन् । 

यी सबै विकृति चिर्न र यी विकृतलाई निम्त्याउने राजनीतिक अस्थिरता रोक्न बनेको हो, हालको सरकार ।

सरकारमा रहेका दुई ठूला पार्टीको सिद्धान्तमा आकाश र जमिनको भिन्नता छ । तर दुई ठुला दलले अङ्गीकार गरेको प्रमुख लक्ष्य र उद्देश्य भनेको २०४६ सालको परिवर्तन २०६२÷०६३ को आन्दोलनले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, बहुलवादमा आधारित लोकतन्त्र र स्थायी सरकार प्रदानका खातिर हो र हुनुपर्छ । यी तमाम कुरालाई मनन गर्दै २०७२ को संविधानको मर्ममाथि कुठाराघात नगरी जनताका चाहना अनुरूप स्थायी सरकार हुने र राजनीतिक व्यवस्था बढी खर्चिलो नहुनेतर्फ अङ्गीकार गर्दै संविधान संशोधन प्रमुख हो ।

२०७२ को संविधानका प्रावधानले केलाउने हो भने कुनै एक पार्टीको बहुमतको सरकार बन्न निकै कठिन छ । तसर्थ, राजनीतिक स्थायित्व नहुनुको प्रमुख कारण संविधानले अङ्गीकार गरेको चुनावी पद्धति नै हो । 

यदि यही पद्धति नै अवलम्बन गरी राख्ने हो भने प्रतिपक्षविहीन सरकारको परिकल्पना गर्नुपर्ने हुन्छ । जसमा मतका आधारमा कार्यकारी प्रमुख र सोही अनुरूप मन्त्रीहरू विभाजन गर्नुपर्ने हुन्छ । जसरी मतका आधारमा समानुपातिक प्रतिनिधिसभा सदस्य चुनिन्छन्, त्यसैगरी पार्टीगत रूपमा मन्त्रीहरू चुन्ने कार्य गरिनुपर्ने हुन्छ । 

अर्को प्रत्यक्ष जनताबाट निर्वाचित श्रीलङ्काको जस्तो कार्यकारी सरकार । जहाँ सांसदले नीति निर्माण गर्छन् र सरकारमा प्रतिनिधित्व गर्दैनन् । अर्को उपाय पूर्ण रूपमा समानुपातिक निर्वाचनको अन्त्य, राष्ट्रियसभाको अन्त्य, त्यसैगरी प्रदेशमा समेत सङ्घका जस्तै चुनावी प्रक्रिया अवलम्बन गर्ने, गभर्नर हटाउने । राष्ट्र, राष्ट्रियता र अन्तर्राष्ट्रिय विषयबाहेक सम्पूर्ण अधिकार प्रदेश र स्थानीय तहमा दिएर विकेन्द्रीकरण गर्ने । यी सबैमा बहस हुनुपर्छ र अस्थिरताका अन्त्यका लागि संविधान संशोधन हुनुपर्छ ।

यो सरकारलाई असफल हुने छुट छैन । सरकार असफल हुँदा मुलुक झन् अस्थिरतातर्फ धकेलिन्छ । आमजनताका आक्रोश व्यवस्थापन गर्न सरकार निर्ममताका साथ प्रस्तुत हुनुपर्ने हुन्छ । यतिबेला पनि ठूला दलका नेताहरू चुप लागेर बस्ने हो भने जो कसैले नेतृत्व गरेको अलोकतान्त्रिक शक्ति उदय हुन बेर लाग्दैन र इतिहास बोकेका पार्टी सेलाउने छन्, राजनीतिक अस्थिरता झन् बढ्ने छ ।

लेखक नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य हुन् 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro