site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन् २०१९ यता १२ महिनै देखिइरहेको छ डेंगी, किन बढ्दै छ ? 
SkywellSkywell

काठमाडौं । यस वर्ष काठमाडौंबासीको डेंगीमय दसैँ बनेको छ । दसैँका बेला अधिकांश घरमा एक न एकजना सदस्यलाई डेंगी संक्रमण भएको स्थानीय बताउँछन् । 

डेंगीको हब बन्यो काठमाडौं 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ को जनवरीयता ७ अक्टोबरसम्म देशभर १७ हजार ६०२ जना डेंगी संक्रमित भएका छन् । यो अवधिमा संक्रमणका कारण आठजनाको मृत्यु भइसकेको छ ।

तीमध्ये काठमाडौंमा मात्रै दुई हजार ५६७ जना संक्रमित भएका हुन् । काठमाडौंमा अक्टोबर पहिलो साता ५०० जना संक्रमित भएका छन् । सेप्टेम्बरमा काठमाडौंमा एक हजार ५१८ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । 

KFC Island Ad
NIC Asia

टेकु अस्पताल पुग्नेमध्ये ६० प्रतिशतमा डेंगी 
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा डेंगीका बिरामीको चाप बढेको छ । अस्पतालमा सोमबार परीक्षण गरिएका ८२ जनामध्ये ६० प्रतिशतमा डेंगी पुष्टि भएको अस्पतालका निर्देशक डा. युवनिधी बसौलाले जानकारी दिए । 

उनका अनुसार सोमबार मात्रै इमर्जेन्सीमा ५६ जना डेंगीका बिरामीको उपचार गरिएको थियो । “ओपीडीमा पनि डेंगीका बिरामी आइरहेका छन्, वार्डमा २२ मध्ये १३ जना डेंगीकै बिरामी छन्,” डा. बसौलाले बाह्रखरीसित भने । 

अक्टोबर अन्तिमसम्मै जोखिम
गत वर्षहरूमा पनि जुलाईदेखि सेप्टेम्बरसम्म संक्रमण उच्च भई अक्टोबरपछि ओरालो लागेको ईडीसीडीको तथ्यांक छ । सन् २०२३ मा अगष्टमा सबैभन्दा धेरै १४ हजार ५३२ जना संक्रमित भएका थिए । 

त्यसपछि क्रमश: संक्रमण घट्दै गई सेप्टेम्बरमा १३ हजार ५४७, अक्टोबरमा १२ हजार ४८८, नोभेम्बरमा २१२२ को संख्यामा झरेको थियो ।

सन् २०२२ मा पनि सेप्टेम्बरमा नै सबैभन्दा धेरै संक्रमित देखिएको तथ्यांक छ । ईडीसीडीका अनुसार सो वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ पुगेको थियो । अगष्टमा यो संख्या तीन हजार ७०८ मा सीमित थियो । सोवर्ष अक्टोबरमा १७ हजार ८८९ जना संक्रमित भई नोभेम्बरमा पाँच हजारभन्दा कम भएको थियो । 

हालसम्मको रेकर्डले अगष्ट र सेप्टेम्बर नै सबैभन्दा धेरै डेंगी संक्रमित भएको देखाएको छ । यी दुई महिनामा लामखुट्टेको वृद्धि विकास बढी हुने, भएकाले पनि अन्य महिनाको तुलनामा संक्रमण बढ्ने गरेको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् ।

डेंगी संक्रमितको संख्या अगष्ट सेप्टेम्बरमा उच्च भए पनि संक्रमणको जोखिम भने अक्टोबर अन्तिमसम्म नै रहने ईडीसीडीले जनाएको छ । डा. दाहालका अनुसार मनसुनको सुरुआतमा त्यसअघिदेखि नै जम्मा भएर बसेका लामखुट्टेका अण्डा प्रजनन् हुने भएकाले त्यो मौसममा संक्रमण बढी देखिन्छ । 

सन् २०१९ यता १२ महिनै देखिइरहेको छ डेंगी 
नेपालमा पहिलोपटक सन् २००४ मा एकजनामा डेंगी केस पुष्टि भएकोे थियो । त्यसयता २००६ मा ३२, २००७ मा २७, २००८ मा १०, २००९ मा ३०, २०१० मा ९१७, २०११ मा ७९, २०१२ मा १८३, २०१३ मा ६८६, २०१४ मा ३५६, २०१५ मा १३ जना संक्रमित भए । 

सन् २०१६ देखि भने संक्रमितको संख्या हजारमा देखिन थाल्यो । सन् २०१६ मा एक हजार ५२७, २०१७ मा दुई हजार १११, २०१८ मा ८११, २०१९ मा १७ हजार ९९२, २०२० मा ५३०, २०२१ मा ५४० र २०२२ मा ५४ हजार ७८४ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ । सन् २०२२ मा पछिल्लो १८ वर्षयताकै सबैभन्दा धेरै संक्रमित भई ८८ जनाको डेंगीका कारण मृत्यु भएको थियो । 

सन् २०२३ मा ५२ हजार ७९० जना संक्रमित भई २० जनाको मृत्यु भएको थियो । नेपालमा सन् २०१९ यता कुनै पनि वर्ष डेंगी केस शून्य नभएको ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । 

“मनसुन र पोष्ट मनसुनमा धेरै केस देखिए पनि कुनै महिना केस शून्य भने भएको छैन, फाट्टफुट्ट केस बाह्रै महिना देखिएको छ सन् २०१९ यता,” उनले भने ।

किन बढ्दै छ बाह्रै महिना डेंगीको जोखिम ? 
सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगी भाइरस फैलाउने  ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिका पोथी लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल हुन्छ । 

पोष्ट मनसुनसम्म नै काठमाडौंसहित केही जिल्लामा लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त तापक्रम र ह्युमिडिटी भएकाले डेंगीको प्रकोप बढेको उनी बताउँछन् ।

यस्तै, लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । उनका अनुसार कुनै पनि पहाडी वा हिमाली जिल्लाको तापक्रम मात्रै लगातार १०० दिनसम्म १५ डिग्री सेन्टिगे्रटभन्दा बढी भएमा त्यहाँ लामखुट्टेका लागि प्रजनन्मैत्री वातावरण बन्दछ ।

डेंगी सार्ने लामख्ट्टेको अण्डा महिनौँसम्म पानीमा तैरिइरहने र अनुकूल तापक्रम पाए प्रजनन् हुनसक्ने तथ्य विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । यी विविध कारणले लामखुट्टेजन्य रोग विशेषगरी डेंगीको जोखिम बाह्रै महिना बढ्दै गएको विज्ञहरूको तर्क छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro