site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

इजरायली सुरक्षा फौजले आइतवार दक्षिणी लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम शान्ति सेना ९युनिफिल०को शिविरमा गरेको अतिक्रमणको विश्वभर निन्दा भएको छ । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनलगायतले इजरायली अतिक्रमणको निन्दा गर्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

हालै इरान समर्थित कट्टरपन्थी छापामार संगठन हिजबुल्लाले आक्रमण गरेपछि इजरायलले लेबनानस्थित हिजबुल्लाको ठेगानाहरूमा प्रत्याक्रमण सुरु गरेको थियो । गत अक्टोबर ७ मा प्यालेस्टाइनी छापामार संगठन हमासले इजरायलमा गरेको आक्रमणपछि सुरु भएको युद्धमा हिजबुल्लाह सामेल भएपछि स्थिति झन् बिग्रेको देखिन्छ ।

लेबनानमा शान्ति स्थापनाका लागि सन् १९७८ मा युनिफिलको स्थापना गरिएको थियो । बिस्तारै युनिफिल शान्ति स्थापनाका अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने कार्यमा पनि संलग्न हुन थाल्यो । अहिले लेबनानको जनजीवन सहज र सुरक्षित बनाउन युनिफिलको योगदान महत्त्वपूर्ण रहेको छ ।

KFC Island Ad
NIC Asia

पछिल्लो समय विशेषगरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  सत्ताको लगाम समातेपछि   इजरायल अपेक्षाकृत आक्रामक हुँदै गएको छ । अर्कातिर, इरानजस्तो मुलुकले पनि इजरायल विरोधी छापामार संगठनहरूलाई हरप्रकारको सहयोग दिँदै आएका छन् । यी दुवै पक्षको क्रियाकलापका कारण मध्यपूर्व पुनः अशान्त हुनपुगेको छ ।

हिजबुल्लाको पछिल्लो आक्रमणपछि इजरायलले लेबनानमा हवाईका साथै स्थल मार्गबाट पनि आक्रमण गरिरहेको छ । त्यही क्रममा शान्ति सेनाको चौकीमा आक्रमण गरेको हो । हिजबुल्ला छापामारहरूले युनिफिलका सैनिकलाई ‘मानव ढाल’ बनाएको आरोप लगाउँदै शान्ति सेना हटाउन इजरायलले माग गरेको छ । 

युनिफिललाई हिजबुल्लाले ‘मानव ढाल’ बनाएकै भए पनि इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको परिसरमा आक्रमण गर्नु हुँदैनथ्यो । इजरायलको यस आक्रामक क्रियाकलाप रोकिएन भने विश्व शान्ति नै खलबलिने देखेर नै संयुक्त राष्ट्रसंघ र युरोपियन युनियनलगायतका संस्थाहरूले आक्रमण रोक्न आग्रह गरेको हुनुपर्छ ।  

युनिफिलमा सैनिक पठाउने नेपाललगायतका ३३ मुलुकहरूले पनि आक्रमणको निन्दा गर्दै युद्धरत पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुनको मर्यादा राख्न शान्ति सैनिकहरूको सुरक्षाको प्रत्याभूति गर्न आह्वान गरेका छन् ।  उनीहरूले जारी गरेको वक्तव्यमा शान्ति सैनिकलाई उनीहरूको कर्तव्य पूरा गर्नमा कुनै बाधा नपार्न पनि आग्रह गरिएको छ ।

हिजबुल्लाको अर्घेल्याइँको समर्थन नगर्ने कतिपय अरब मुलुकमा इजरायलको सुरुको कारबाहीप्रति मौन समर्थनसमेत देखिएको थियो । तर,युनिफिलमाथिको आक्रमणले भने इजरायली कारबाहीप्रतिको समर्थन घटाएको छ । यसैगरी,   हिजबुल्लाविरुद्धको इजरायली कारबाहीको नैतिक वैधतामा पनि प्रश्न उठेको छ । लेबनानमा तैनाथ शान्ति सेनाबाट हटाउन होइन इजरायलको आक्रामक क्रियाकलाप रोक्न र हिजबुल्ला वा हमासजस्ता चरमपन्थी संगठनहरूलाई निशस्त्र बनाउन शान्ति सेनालाई  अझ सशक्त बनाउनुपर्छ ।  

युनिफिलका चौकीमा आक्रमण गरेकोमा इजरायलको निन्दा गरेर अन्तर्राष्ट्रिय समुदाय शान्तिका पक्षमा उभिएको छ । यसमा नेपाल पनि अन्तर्राष्ट्रिय समुदायसँगै उभिनु स्वाभाविकै हो । अमेरिकालगायत शक्तिशाली राष्ट्रहरूले स्पष्ट शब्दमा इजरायललाई  तत्काल युद्धविराम गर्न दबाब दिउन् र भनुन् - शान्ति सैनिकमाथिको आक्रमण कुनै पनि बहानामा स्वीकार्य हुनसक्दैन !


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १४:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro